कांग्रेसको प्रतिवेदन- गठबन्धनबाट पाँचै दललाई फाइदा, माओवादीलाई धेरै लाभ (सूचीसहित) – Nepal Press

कांग्रेसको प्रतिवेदन- गठबन्धनबाट पाँचै दललाई फाइदा, माओवादीलाई धेरै लाभ (सूचीसहित)

काठमाडौं । स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनको चुनावी तालमेलबाट सबैभन्दा बढी लाभ नेकपा माओवादी केन्द्रले लिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले तयार गरेको प्रतिवेदन अनुसार गठबन्धनका ५ दलमध्ये माओवादी सबैभन्दा बढी लाभान्वित भएको देखिन्छ ।

५ दलीय गठबन्धनबीच ३ सय २४ स्थानीय तहमा चुनावी तालमेल भएको थियो । जसमध्ये ८१ स्थानीय तहको नेतृत्व माओवादीले पाएको थियो । तीमध्ये माओवादीले ८५ प्रतिशत अर्थात् ६९ स्थानीय तहको नेतृत्वमा जित हासिल गरेको छ । माओवादीले गठबन्धनबाट १ सय ४१ उपप्रमुख पदमा प्रतिस्पर्धा गर्दा ७९ मा जित हासिल गरेको छ ।

गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसले भने गठबन्धन भएका मध्ये ६१ प्रतिश स्थानीय तहमा मात्रै नेतृत्वमा सफलता पाएको छ । ३ सय २४ तहमा गठबन्धन हुँदा कांग्रेसले २ सय ९ तहमा नेतृत्वका लागि प्रतिस्पर्धा गरेको थियो । जसमध्ये १ सय २८ तहको नेतृत्वमा कांग्रेसले जित हासिल गर्‍यो । गठबन्धनबाट १ सय १५ उपप्रमुखमा प्रतिस्पर्धा गरेको कांग्रेसले ८५ स्थानमा जित हासिल गर्‍यो ।

नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट २७ पालिका प्रमुख र ४३ उपप्रमुखमा प्रतिस्पर्धा गरेको थियो । जसमध्ये १३ प्रमुख र १४ उपप्रमुखमा जित हासिल गरेको छ । गठबन्धनभित्र प्रमुख पदमा नेकपा एसले ४८.१४ प्रतिशत सफलता प्राप्त गरेको छ ।

गठबन्धनबाट जसपाले भने उल्लेख्य सफलता पाउन सकेन । उसले गठबन्धनबाट २ प्रमुख र ४ उपप्रमुखमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चालाई भने गठबन्धन लाभदायी नै भयो । प्रतिशतका आधारमा राष्ट्रिय जनमोर्चालाई सबैभन्दा लाभ भएको देखिन्छ । उसले गठबन्धनबाट प्रतिस्पर्धा गरेका ४ प्रमुखमा शतप्रतिशत सफलता पायो । उपप्रमुखमा ६ स्थानमा प्रतिस्पर्धा गर्दा ३ जना विजयी भए ।

कांग्रेसको प्रतिवेदनमा उल्लेखित गठबन्धन पाँच दलीयभित्रको हो । यसबाहेक कांग्रेस, माओवादी र जसपाले कतिपय स्थानीय तहमा अलग- अलग रूपमा एमाले र राप्रपासँग पनि तालमेल गरेका थिए । त्यो संख्या भने कम छ ।

कांग्रेसको प्रतिवेदन अनुसार माओवादीले जितेका १२१ पालिका प्रमुखमध्ये पाँच दलीय गठबन्धनबाट ६९ ठाउँमा जितेको छ । यो भनेको करिब ५७ प्रतिशत हो ।

गठबन्धनको सबैभन्दा कम लाभग्राही जनता समाजवादी पार्टी बनेको छ भने शतप्रतिशत लाभग्राही राष्ट्रिय जनमोर्चा बनेको छ । कांग्रेसको प्रतिवेदनले गठबन्धनबाट सबै दलले फाइदा लिएको देखाएको छ । गठबन्धन भएका ठाउँमा ८५ प्रतिशतभन्दा बढी सफलता मिलेको कांग्रेसको प्रतिवेदनमा उल्लेख छ ।

गठबन्धनबाट माओवादीले करीव ६० प्रतिशत जित्दा कांग्रेसले जितेका सिटमध्ये ४७ प्रतिशतमा गठबन्धनले जिताएको देखिएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले ७० प्रशितभन्दा बढी सिट गठबन्धनबाट जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर