मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुई पुरुषमध्ये एकजनाकाे सनाखत
गोरखा । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुई पुरुषमध्ये एकजनाकाे सनाखत भएकाे छ । नदी किनारबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्ये एकजना गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो ।
मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए । कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ ।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ । पहिरोका कारण सवारीसाधन बीचैमा राेकिँदा यात्रु अलपत्र परेका छन् ।