युद्ध लम्बिँदा पश्चिमा मुलुकको चासो घट्ने चिन्तामा युक्रेन
काठमाडौं । रुसले युक्रेनमाथि हमला सुरु गरेको तीन महिना पूरा भई चार महिनामा प्रवेश गरेकाे छ । युद्ध लम्बिँदा युक्रेनप्रति पश्चिमा मुलुकहरुको चासो घट्न सक्ने भन्दै युक्रेनी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । युद्ध सुरु भएदेखि नै अमेरिका र युरोपेली देशहरुले युक्रेनलाई विभिन्न सहयोग गर्दै आएका छन् । युरोपेली देशहरुले युक्रेनका युद्ध प्रभावित नागरिकहरुलाई शरण पनि दिइरहेका छन् ।
यस्तै रसियामा लगाइएका विभिन्न बाध्यात्मक प्रतिबन्धलाई दोस्रो विश्व युद्धपश्चात युरोपेली देशहरुमा देखिएको सबैभन्दा ठूलो एकताको रुपमा पनि व्याख्या गर्न थालिएको छ ।
यसैबीच युक्रेनी राष्टपति भ्लादिमिर जेलेन्स्कीले युद्ध लम्बिएसँगै पश्चिमा मुलुकहरुले युक्रेनले सम्झौता गर्नुपर्ने धारणा व्यक्त गरेको बताएका छन् । ‘युद्धले सबैको थकान बढाएको छ, उनीहरु आफ्नो फाइदाको लागि युद्ध रोकियोस् भन्ने चाहन्छन् र हामी हाम्रो फाइदाको लागि’, जेलन्स्कीलाई उद्धृत गर्दै सञ्चारमाध्यम एपीले लेखेको छ ।
हालैमात्र इटलीले युद्धविरामको लागि अघि सारेको प्रस्ताव खारेज भएको थियो भने फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले रुसले इतिहासकै सबैभन्दा ठूलो गल्ती गरे तापनि उसलाई मात्र अपमानित गर्नु जायज नहुने धारणा व्यक्त गरेका थिए । युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले उक्त अभिव्यक्तिले फ्रान्सको अपमान गरेको टिप्पणी गरेका थिए ।
यस्तै अमेरिकी पूर्वसचिव हेनरी किसिङ्गरले पनि हालैमात्र युक्रेनले क्षेत्रीय सहुलियतमा विचार गर्नुपर्छ भन्ने टिप्पणी गरेका थिए । यता युक्रेन भने रुसले हाल कब्जा गरेको पूर्वी र दक्षिणी युक्रेनका क्षेत्रहरुलाई उसको कब्जाबाट फिर्ता लिन चाहन्छ भने सन् २०१४ मा मस्कोले कब्जा गरेको क्राइमिया र विगत आठ वर्षदेखि क्रेमलिन समर्थित पृथकतावादीहरूको नियन्त्रणमा रहेको डोनबासका केही भागहरू फिर्ता लिने युक्रेनको मनसाय छ ।
जारी युद्धको कारण युक्रेनले मासिक ५ बिलियन डलर क्षति व्यहोर्नु परेको जनाइएकाे छ । अत्याधुनिक हतियार र सैन्य संयन्त्रविना युक्रेनले जारी युद्ध जित्ने सम्भावना पनि अत्यन्तै न्यून छ । यस्तो अवस्थामा युद्धमा पश्चिमी मुलुकको चासो घटेमा युक्रेनलाई थप क्षति हुने स्थितिले युक्रेनकाे चिन्ता बढाएकाे छ ।