पूर्णबहादुरको गृहजिल्लामा यसरी भत्कियो सत्तागठबन्धन – Nepal Press

पूर्णबहादुरको गृहजिल्लामा यसरी भत्कियो सत्तागठबन्धन

सुर्खेतका पालिकादेखि जिसस चुनावसम्मको अन्तरकुन्तर

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा आइपुग्दा सुर्खेतमा सत्तारुढ पाँचदलीय गठबन्धन पूर्णरूपमा भत्किएको छ । सुर्खेत नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला समेत हो ।

जिसस चुनावको आजको नतिजा अनुसार यहाँ एमाले-माओवादी गठबन्धनबाट प्रमुखमा गंगाराम सुनार र उपप्रमुखमा सचिनकुमार बडुवाल विजयी भइसकेका छन् ।

त्यस्तै महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल तथा अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसंख्यकमा सावित्रा टमटे समन्वय सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसले पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो । उसले प्रमुखमा दिलीपकुमार वाग्ले र महिला सदस्यहरुमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीको उम्मेदवारी दर्ता गरेको थियो ।

२०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसले एकलौटी नेतृत्व गरेको थियो । यसपटक एमालेले नेतृत्व पाएको छ । एमालेले प्रमुख र ५ सदस्य पाउँदा माओवादीले उपप्रमुख र २ सदस्य पाएको छ ।

सुर्खेतमा चौकुने गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनदेखि नै एमाले र माओवादीबीच वाम तालमेल भएको थियो ।

भर्खरै सकिएको स्थानीय चुनावमा कांग्रेसबाट अपेक्षित मत नआएको माओवादीले गुनासो गर्दै आएको थियो । कर्णाली प्रदेशका अधिकांश जिल्लाका पालिकामा गठबन्धन भएपनि सुर्खेतमा भने केही पालिकामा मात्र सत्तारुढ दलबीच तालमेल भयो ।

कांग्रेसले २०७४ सालमा ६ पालिका एक्लै जितेको भन्दै माओवादीलाई एउटाबाहेक दिन नसक्ने अडान कसेको थियो । कम्तीमा दुई पालिका प्रमुखमा माओवादीको दाबी थियो । भागबण्डाको क्रममा माओवादीलाई चौकुने मात्र दिइयो ।

सुर्खेतको चौकुने गाउँपालिका अध्यक्ष माओवादीले, उपाध्यक्ष कांग्रेसले लिएर चुनाव लडेका थिए । यहाँ गठबन्धनले जीत हात पारेको थियो । यस्तै, सिम्ता गाउँपालिकामा पनि वडा तहमै गठबन्धन गरिएको भएपनि यहाँ पालिकामा एमाले विजयी भयो ।

भेरीगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिकामा प्रमुख र उपप्रमुखमा मात्रै माओवादी र कांग्रेसले गठबन्धन गरेका थिए । गुर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र लेकबेँसी नगरपालिकामा एक्ला-एक्लै प्रतिस्पर्धा भएको थियो ।

चिङ्गाड गाउँपालिकामा गठबन्धन गर्ने सहमति गर्दै कम्तीमा ३ वडाध्यक्ष मागेर माओवादी केन्द्रले उपाध्यक्षबाट उम्मेदवारी फिर्ता लिएको थियो । कांग्रेसले अध्यक्ष, उपाध्यक्ष पनि नदिने र २ वडा मात्रै दिने अडानपछि यहाँ गठबन्धत तोडियो । यसमा एमालेले जीत हात पार्‍यो ।

भुइँको टिप्न खोज्दा पोल्टाको पोखियो

नेपाली कांग्रेसको संस्थापन समूहले शेखर समूहलाई टिकट वितरणमा विभेद गरेका कारण ‘भुइँको टिप्न खोज्दा पोल्टाको पोखियो’ भन्दै कांग्रेस वृत्तमै टिप्पणी सुरू भएको छ ।

२०७४ को चुनावमा यहाँ पार्टी जिल्ला सभापति शेखर समूहका कमलराज रेग्मी थिए । उनले टिकट मिलाएर दिएकै कारण अघिल्लो निर्वाचनमा कांग्रेसको सुखद नतिजा भएको तर एमाले विभाजित भएको अवस्थामा समेत समन्वय समिति गुमाउनुपरेको एक कार्यकर्ता बताउँछन् ।

‘हामीले ४० प्रतिशत भाग मागेका थियौं । उनीहरूले बेस्सरी पेले । तर पनि हामीले पार्टीलाई चुनाव जिताउन कुनै कसर बाँकी राखेनौं ’, निवर्तमान सभापति रेग्मीले नेपाल प्रेससँग भने, ‘टिकट वितरणमा पार्टीलाई नमिलाइ बाहिर गठबन्धन गर्दा समस्या भएको महसुस भएको छ ।’

कांग्रेस सुर्खेत सचिव देवकुमार सुवेदीले गठबन्धनप्रति आफूहरू इमान्दार भएकै कारण चार पदमा उम्मेदवारी नदिएको बताउँछन् ।

‘हामीसँग लिखित सहमतिसमेत माओवादीले गरेको थियो । प्रदेश, संघको निर्देशन अनुसार हामीले पाँच वटा पदमा मात्रै उम्मेदवारी दिएका हौं ’, सुवेदीले भने, ‘हामीले इमान्दारिता देखाएपनि गठबन्धनप्रति उहाँहरू इमानदार बन्न सक्नु भएन ।’

आगामी दिनमा सुर्खेतको गठबन्धनमा समस्या आउने चेतावनी दिँदै उनले भने, ‘यही गठबन्धन लामो समय टिक्छ जस्तो लाग्दैन । टिकेपनि विश्वासको वातावरणमा भने कमी आउँछ ।’

नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष कृष्ण जिसी ‘जितेन्द्र’ ले कांग्रेसले स्थानीय तहको निर्वाचनमा इमानदारिता नदेखाएका कारण एमालेसँग गठबन्धन गर्न पुग्नुपरेको बताए ।

‘उहाँहरूका उम्मेदवारले धेरै मत पाउने, उहाँहरू जित्ने तर हामीले हार्ने अवस्था आयो । हाम्रा साथीहरूले उहाँहरुबाट पर्याप्त मत नै पाउन सक्नु भएन । यसरी कसरी गठबन्धन गर्न सकिन्छ ?’ उनको गुनासो थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर