सुदूरपश्चिममा मल अभाव : सरकारको नारा एकातिर, पारा अर्कोतिर
कैलाली । कैलाली कैलारी गाउँपालिका ५ हसुलियाका घनश्याम चौधरीले अहिले सम्म मल र जल दुवै पाएका छैनन् । करिब २५ बिघा क्षेत्रफलमा खेती गर्दै आइरहेका उनी यस पटक कसरी उत्पादन गर्ने भन्नेमा चिन्तित छन् । अघिल्लो वर्ष केही सहकारी र केही भारतबाट मल ल्याएर रोपाइ गरेका उनलाई अहिले त्यो अवसर पनि मिलेको छैन ।
‘नेपाल सरकारले मल दिएको छैन, भारतबाट मल ल्याउँदा पनि सीमामा समस्या गर्छ’ उनले भने, ‘हामीलाई धेरै समस्या छ ।’
अघिल्लो वर्ष सम्म बर्दियामा पनि खेती गर्दै आइरहेका उनी यस पटक कैलालीमा मात्रै पनि खेती गर्न समस्या रहेको बताउँछन् । कृषि पुर्ख्यौली पेसा भए पनि अब आफ्ना सन्तानहरूलाई यो पेसा तर्फ लाग्न नदिने उनले पीडा पोखे ।
अघिल्लो वर्ष कैलालीमा यति कैलालीका अधिकांश क्षेत्रमा खेत रोपाइ सुरु भएको थियो । तर, अहिले यहाँ किसानले मन नपाउँदा रोपाइ सुरु गर्न पाएका छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी र कृषि सामग्री कम्पनी लिमिटेडमा आवश्यक मल नहुँदा किसान समस्यामा परेका हुन् ।
जेठ अन्तिम साता लाग्दा सम्म पनि मल नपाएपछि घोडाघोडी ८ का डम्मर विष्टलाई यो वर्ष कसरी खेती गर्ने भन्ने पिरले सताएको छ ।
‘सहकारीमा धाउँदा धाउँदा निकै हैरान भए । तर, मल पाइन । बिउँ पनि सुक्न थालेको छ’ उनले भने ‘हामी निकै समस्यामा छौँ ।’
विष्टलाई जस्तै समस्या भजनी नगरपालिका ३ का किसान सुनिता जिसीलाई पनि छ ।
सुदूरपश्चिम प्रदेशमा ६० हजार मेट्रिक टल मल चाहिन्छ । युरिया ३५ हजार मेट्रिक टल, डीएपी २५ मेट्रिक टल चाहिन्छ । पोटास ५ हजार मेट्रिक टल चाहिन्छ ।
सुदूरपश्चिममा पछिल्ला वर्ष डीएपी युरिया र पोटास गरी करिब ३५ हजार मेट्रिक टन सरकारी अनुदान प्राप्त रासायनिक मल आयात हुने गरेको छ ।
६० हजार मेट्रिक टन मल आवश्यक पर्नेमा ३५ हजार मेट्रिक टन सरकारी आनुमानको मल आइरहेको र बाँकी भारतीय सीमा जोडिएका बस्तीहरूमा चोरीको मल प्रयोग भइरहेको सरकारी अधिकारीहरू बताउँछन् ।
नारा एकातिर, व्यवहार अर्कातिर
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कृषि क्षेत्रलाई राम्रै प्राथमिकता दिएको छ ।
‘नमुना कृषि गाउँ आफैँ बनाऔँ’ नाराका साथ सञ्चालन भइरहेको मुख्यमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई निरन्तरता दिइने, प्रदेश सरकार ‘कृषकको अभिभावक’ भन्ने नाराका साथ कृषिमा विद्युत् महसुल, भन्सार लगायतका क्षेत्रमा विशेष छुट दिइने, कृषि उत्पादन बढाई आयात घटाउने र निर्यात बढाउने योजना ल्याइने लगायतका नीति प्रदेश सरकारले लिएको छ ।
कृषि क्षेत्रका विषयमा सरकारले महत्वकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका किसानले भने आफ्नो आवश्यकताको १० प्रतिशत पनि मल सहज रूपले पाएका छैनन् ।
हरेक वर्ष झैँ यस वर्ष पनि यहाँका किसानहरूले समयमै पर्याप्त मल पाउन सकेनन् । मल अभावमा धान ढिलो रोपेको किसानहरूको गुनासो छ ।
सुदूरपश्चिम प्रदेशका लागि बर्सेनि कति रासायनिक मल आवश्यक पर्छ भन्ने बारे यकिन तथ्याङ्क छैन । तर ५० हजार मेट्रिक टन मल भए किसानलाई समस्या नहुने अनुमान साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी कार्यालयको भनाइ छ ।
तर, प्रदेशमा अहिले ३५ हजार मेट्रिक टनको हाराहारीमा मल आइरहेको छ । पर्याप्त मल नपाउँदा किसान समस्यामा परेको साल्ट ट्रेडिङ कर्पोरेसनका नायव महाप्रबन्धक केशव प्रसाद पाण्डेले बताए ।
अनुमान साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीमा अहिले मल छैन ।
‘अहिले सम्म मल आएको छैन’ उनले भने, ‘डिएपी नेपाल आइसकेको छ । युरिया असार पहिलो साता आउँछ ।’
उनका अनुसार २हजार ३८५ मेट्रिक टल युरिया र २ हजार १६९ मेट्रिक टल डिएपी नेपाल आउँदै छ ।
सुदूर पश्चिममा साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत र कृषि सामाग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्ने गरेको छ । तर, दुवै निकायबाट किसानले पर्याप्त मल पाउन सकेका छैनन् ।
‘कृषि सामग्रीलाई दिएको कोटा सकिएको छ । अहिले कृषि सामग्री कम्पनीको गोदाम रित्तो भएको छ । २१६९ मेट्रिक टल सकिएको छ । नयाँ आएको छैन’ कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले भने ‘अहिले सहकारीकाबाट आउनु भएकाहरू रित्तो हात फर्किन बाध्य हुनुभएको छ ।’
उनका अनुसार युरिया मल आउँदै छ ।
धान खेतीको लागि मात्रै कैलालीका १५ मेट्रिक टल युरिया १० हजार मेट्रिक टल डिएपी चाहिन्छ । तर, अहिले पर्याप्त मत पाउन नसक्दा किसान मारमा परेका छन् ।
सरकारले पर्याप्त अनुदानको मल दिन नसक्दा करिब १५ प्रतिशत मल भारतबाट चोरी निकासी हुँदै आइरहेको सरोकारवाला निकायको भनाइ छ । कैलालीका विभिन्न नाकाहरूबाट प्रहरीको आँखा छलेर मल चोरी आयात हुने गरेको छ । चोरी गर्दा लुकीछिपी गर्ने बाटो नै फरक हुने गरेको छ ।
कैलालीको भजनीका ९० प्रतिशत नागरिकहरू कृषि क्षेत्रमै आश्रित छन् । त्यहाँका किसानहरू भारतीय बजारबाट रासायनिक मल खाद ल्याउन बाध्य छन् । भजनीका वडा नम्बर ३,५÷७ भारतीय सिमानाकासँग जोडिएका छन् । त्यहाँका स्थानीय नागरिक मल खादका लागि भारतमा नै आश्रित रहेका छन् ।
किन हुन्छ बर्सेनि मल अभाव ?
किसानहरू प्रत्येक वर्ष मल पाउन सहकारीमा घण्टौँ लाइन बस्नु पर्ने बाध्यता छ । तर, पनि पर्याप्त मल भने पाउन सकिरहेका छैनन् । किन अभाव हुन्छ त प्रत्येक वर्ष मल ? किसानहरू सरकारी निकायको लापरबाही भन्छन् ।
‘पर्याप्त मल ल्याउन नसक्ने निकायलाई ठेक्का दिँदा यस्तो समस्या भइरहेको हो’ अखिल नेपाल किसान महासंघ कैलालीका उपाध्यक्ष उमा भण्डारीले भनिन्, ‘अब किसानलाई मल नपुराउने व्यक्तिहरूलाई कारबाही गरिनुपर्छ ।’
कृषि सामाग्री केन्द्र लिमिटेड धनगढीले भने केन्द्रले माग अनुसार मल उपलब्ध नगराउँदा किसानले पर्याप्त मल नपाएको जनाएको छ । कृषि सामाग्री केन्द्र लिमिटेडले केन्द्रमा वार्षिक ४० हजार मेट्रिक टन मलको माग गरे पनि अहिलेसम्म त्यति मल कहिल्यै पाउन सकेको छैन ।
लिमिटेडको प्रदेश कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले माग अनुसारको मल नपाउँदा समस्या भएको बताए ।
वार्षिक रूपमा नेपाल भरिका लागि करिब ७ लाख मेट्रिक टन मल आवश्यकता पर्ने गरेको नेपाल सरकारको तथ्याङ्क छ ।
तर, सरकारले त्यसको आधा मात्रै मल व्यवस्थापन गर्न सकिरहेको छ । आवश्यकता अनुसार मल उपलब्ध गराउन नसक्दा प्रदेशमा मलको अभाव हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माको ठहर छ ।
उनी भन्छन्, ‘नेपालमा मलको कारखाना नै छैन । ग्लोबल टेन्डर गर्नुपर्छ, त्यसैले पनि मलको अभाव हुने गरेको हो ।’
यस वर्ष रसिया र युक्रेनका कारण पनि यस वर्ष मलमा समस्या भएको उनी बताउँछन् । पछिल्लो केही वर्ष यता सुदूरपश्चिम प्रदेशमा खेतीयोग्य भूमि घट्दै गइरहेको छ । तर, मल वितरणको तथ्याङ्कले प्रत्येक वर्ष मालको माग बढिरहेको देखाएको छ । यही समस्या कैलालीमा पनि छ । कैलालीमा ९० हजार हेक्टर खेतीयोग्य क्षेत्र रहेको छ। ती मध्ये ७० हजार हेक्टरमा धान खेती हुने गरेको शर्माले जानकारी दिए ।
‘कृषकहरूलाई अझै पनि कति मलको मात्रा प्रयोग गर्नु पर्छ भन्ने जानकारी नै छैन’ उनले भने, ‘बढी रासायनिक मलको प्रयोग गरे उत्पादन बढ्छ भन्ने सोचाइ छ त्यसैले प्रत्येक वर्ष मलको माग बढी रहेको हो ।’
सुदूरपश्चिममा वार्षिक ४० हजार टन मल आवश्यक पर्छ। त्यसको आधा मात्र प्रदेशमा आउने गरेको विगत वर्षको तथ्याङ्कले देखाउँछ ।
कैलालीमा किसानले पर्याप्त मात्रामा युरिया र डिएपी नपाएपछि त्यसको विकल्पमा अन्य मलहरू प्रयोग गर्न थालेका छन् ।कतिपय किसानले युरियाको सट्टामा एमोनियम सल्फेट र डीएपीको सट्टा जिङ्क प्रयोग गर्न थालेका हुन् ।