नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउन खोजिएको हो ? एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ (भिडिओ) – Nepal Press

नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउन खोजिएको हो ? एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकलाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन लागिएको भन्दै सरकारसँग जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमण, अमेरिकी सेनाको नेपालमा उपस्थिति लगायतका विषयमा प्रश्न उठाएका हुन् । प्रधानमन्त्रीको भ्रमणको औचित्य पुष्टी गर्न माग गर्दै ज्ञवालीले परराष्ट्र सम्बन्धका आधारहरु नभत्काउन माग गरेका छन् ।

‘नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हाम्रो परराष्ट्र सम्बन्धको मूल आधार हुन जरुरी छ । यससँग बाँझिने गरी तालिम वा अरु कुनै नाममा विदेशी सेनाको उपस्थिति हाम्रो संविधानले स्वीकृति दिदैन । नेपाललाई कुनैपनि अर्थमा भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन’, ज्ञवालीले भने ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी दुवै देशका सैन्य निकायबाट भइरहेको भन्दै ज्ञवालीले कुन हैसियतमा भ्रमणमा जान लागेको भन्ने तथ्य संसदलाई जानकारी गराउन मागसमेत गरेका छन् ।

‘ यो भ्रमणको समग्र चाँजोपाँचोमा न अमेरिकाको स्टेट डिपार्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न नेपालको परराष्ट्र मन्त्रालय देखिन्छ । भ्रमणको चाँजोपाजो मिलाइरहेको अमेरिकाको मिनिष्ट्री अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालय वा सेना त्यसमा जोडिएको देखिन्छ । यसले गम्भीर प्रश्न उठाएको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ वा रक्षामन्त्रीको हैसियतमा ?’, ज्ञवालीले भने ।

उनले बजेटको ७७ नम्बर बुँदामा उल्लेख भएअनुसार भारतसँग भएको भनिएको दीर्घकालीन ऊर्जा सम्झौताबारे पनि संसदलाई जानकारी गराउन माग गरे ।

यो पनि पढ्नुस् : गठबन्धनको भूराजनीतिक भूल : चीनलाई बिझाउने, भारत-अमेरिका रिझाउने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर