खेलाडीको प्रश्न- हाम्रो पदकमा खुसी हुने राज्य भविष्यप्रति किन अनुदार ?
विराटनगर । झापा दमकका भीष्मराज उप्रेती विभागीय टोली महेन्द्र पुलिस क्लबबाट लामो समय भलिबल खेले । आफ्नो खेल जीवनमा ३ वटा साफ गेममा सहभागी भएका उनी २०५३ सालमा नेपालकै उत्कृष्ट भलिबल खेलाडीको रूपमा पुरस्कृत भए पनि ।
तर, भलिबलबाट भविष्य सुरक्षित नबन्ने ठहरसहित उनी वैदेशिक रोजगारीका लागि दुबई पुगे । १० वर्ष दुबई बसाइपछि नेपाल फर्किएका उप्रेती १० अहिले झापामा भोलेन्टियर प्रशिक्षकको रूपमा काम गरिरहेका छन् ।
‘राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगितामा गर्वका साथ राष्ट्रिय झण्डा उचाल्ने हामी कहिले सरकारको नजरमा पर्न सकेनौ’, उप्रेती प्रश्न गर्छन्, ‘खेल जीवनभर आर्थिक अभावमा पिरोल्नुपर्ने अवस्था छ ।’
सधैँ खेलाडीबाट पदकको आशा गर्ने राज्यले खेलाडीको बारेमा कहिले नसोचेको उनको गुनासो छ । खेल जीवनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको आधारमा राज्यले सुविधा दिनुपर्ने बताउँछन् ।
त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा ख्याती कमाएका सुरेन्द्र तामाङ्गको अवस्था पनि उस्तै छ । २०५७ सालमा थ्री स्टार क्लबसँग आबद्ध भएपछि सुरू भएको सुरेन्द्रको फुटबल यात्राले व्यवसायिकता समायो ।
सुरेन्द्रले १० वर्ष थ्री स्टारबाट खेल्दा क्लबलाई शहीद स्मारक ए डिभिजन लिग समेत जिताए । तर, फुटबल खेल्ने सिक्किम जाने क्रममा दुर्घटनामा परी घाइते भएपछि उनको खेल जीवनमा पूर्णविराम लाग्यो । अहिले सुनसरीका फुटबल प्रशिक्षकका रूपमा रहेका उनी खेलाडीको भविष्य सुनिश्चित हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन् ।
उनी भन्छन्, ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद यो नेपाली खेलकुदको मुल नारा हो । तर, यो सबै नारामा मात्र सीमित छन् । व्यवहारमा त्यति लागू भएको पाइँदैन ।’
राज्यले खेलाडीको भविश्यका बारेमा नसोचेका कारण अहिलेपनि अधिकांश खेलाडीको भविष्य अन्धकार रहेको उनको भनाइ छ ।
तामाङ थप्छन्, ‘सधैँ पदकको आशा गर्ने खेल पदाधिकारी खेल क्षेत्रको विकास र खेलकर्मीको सुनिश्चित भविष्यप्रति गम्भीर भएको देखिँदैन् ।’
भीष्मराज र सुरेन्द्रजस्ता कयौँ पूर्वखेलाडी आर्थिक संकटका अहिले पनि छन् । उनीहरूजस्तै यसअघि पनि थुप्रै खेलाडीहरूले ‘खेलेर जीवन धान्न’ नसकिने भन्दै खेल जगतबाटै पलायन भइरहेको मोरङ जिल्लाकी कराँते प्रशिक्षक कुन्ती गुरुङ्ग बताउँछिन् ।
कुन्ती भन्छिन्, ‘राज्यले खेलाडीलाई स्वदेशमा नै खेलेर बाँच्न सक्ने वातावरणको सिर्जना गर्न सकेको छैन ।’ अब पनि राज्यतहबाट खेलाडीको भविश्यका बारेमा नसोचे खेल जगतमा लागेका प्रशिक्षक तथा खेलाडीमा खेलप्रतिको निरासा चुलिँदो छ । धेरै प्रशिक्षक तथा खेलाडी पलायन हुने अवस्था आउँन सक्छ ।
राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाल राज्यले खेलाडीलाई निर्धक्कका साथ खेल्ने सक्ने अबस्था अहिले पनि बनिनसेको बताउँछन् ।
खेल जगतलाई माथि उठाउन खेलाडीको व्यवसायिकतासँगै उनीहरूको भरणपोषणको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने उनको माग छ ।
राखेपले सानो बजेटबाट खेलाडीको जीवनयापनका लागि खासै केहीगर्न सक्ने अवस्था नरहेको भन्दै दाहालले खेलाडीको जितमा आफ्नो भुमिका खोज्ने राज्य र सरकारले खेलाडीलाई यो क्षेत्रमै टिकाइ राख्न पनि गम्भीर बन्नु पर्ने बताउँछन् ।