प्रदेश १ को नीति तथा कार्यक्रम पारित, असार १ मा बजेट
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/06/pradesh-1-1.jpg)
विराटनगर । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठककाे बहुमतले पारित गरेको हो ।
सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।
नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबलभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सांसदहरूले ती प्रस्ताव फिर्ता लिएनन् । तर ती प्रस्तावहरू बहुमतबाट अस्वीकृत भएकाे थियाे ।
यस्तै असार १ गते प्रदेशसभा बैठकमा बजेट पेस हुने भएकाे छ । उक्त बैठकका लागि सांसदहरूलाई २ बजे उपस्थित हुन सभामुखले अनुरोध गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भीम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए ।
छलफलमा उठेको प्रश्नकाे जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार-दृष्टिकोण फरक-फरक भए पनि प्रदेशको विकासमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
उनले सांसदहरूलाई प्रस्तुत नीति तथा कार्यक्रमअनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए । सरकारबाट भएका कमिकमजोरी औँल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनकाे भनाइ छ । ‘पदमा भएपछि एउटा भाषा र पदबाहिर भए अर्को भाषा किन बोल्छौं ?’, मुख्यमन्त्री राईले भने ।
बजेट, नीति तथा कार्यक्रम साझा विषय भएकोले यसलाई मिलेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले चुनावी सरकारले दीर्घकालीन महत्त्वका र पूरा हुन नसक्ने योजनाहरू ल्याएको भन्दै आलोचना गरेका थिए ।