‘प्रकाश’को विदेश राइटस् महँगो मूल्यमा बिक्री
काठमाडाैं । दिनेश राउत निर्देशित सिनेमा ‘प्रकाश’को विदेश राइटस् महँगो मूल्यमा बिक्री भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको अस्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपमा महँगो मूल्यमा विदेश अधिकार बिक्री भएको हो ।
निर्देशक राउतले केही समयअघि सार्वजनिक सिनेमाको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि मात्र सिनेमाको प्रदर्शन अधिकार बिक्री गरिएको बताए । निर्देशक राउतले भने, ‘नेपालमा सिनेमा रिलिज भएकै मितिमा यी देशमा पनि रिलिज हुनेछ ।’
सिनेमाले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको सिनेमाले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जुम्लामा छायाङ्कन भएको सिनेमाले त्यहाँको परिवेशलाई टिपेको छ ।
सिनेमामा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।
महेन्द्र अधिकारीको लगानी रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।