सूर्योदयको भविष्य चियामै देखेको छुः मेयर रणबहादुर राई
एक्लै गर्छु भन्ने हो भने सफल भइँदैन, टिममा काम गर्नुपर्छ
विराटनगर । स्थानीय तह निर्वाचनमा मेयरमा दोहोर्याउनेमध्येका एकमा पर्छन् इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको मेयरमा रणबहादुर राई । अघिल्लो कार्यकालमा भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रमा नयाँनयाँ अवधारणा अघि सारेर चर्चामा आएका राईलाई सूर्योदयका मतदाताले पुनः दोस्रो कार्यकालको लागि नगरको मेयर चुनेका छन् । इलामका फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर सूर्योदय नगरपालिका बनाइएको थियो ।
पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत दार्जिलिङ जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ । यो नगरपालिका चिया, अलैंची, दूध, आलुलगायतका नगदे बालीका लागि चर्चित छ । देशको एकमात्र अलैंची विकास केन्द्र पनि यही नगरमा छ ।
यही नगरपालिका पूर्वाधार निर्माणमात्र होइन, महामारीका रूपमा फैलिएको कोभिड १९ नियन्त्रणमा सूर्योदयले गरेको व्यवस्थापन प्रयास पनि जिल्लामै १ नम्बरमा दरिएको थियो । हरेक आयोजनालाई दीर्घकालीन महत्वको पूर्वाधार र आर्थिक उन्नतिको अंग बनाउन सक्ने क्षमता भएका मेयर राईले अबको ५ वर्षमा नगरलाई देशकै नमुना बनाउने उद्घोष गरेका छन् । नेकपा एसबाट निर्वाचित मेयर रणबहादुर राईसँग नेपालप्रेसकर्मी ध्रुव भट्टराईले गरेको कुराकानी नेपाल टकमा:
– पाँच वर्षे कार्यकाल पूरा गरेर फेरि मेयरमा किन दोहोरिनुभयो ?
२०७४ सालमा निर्वाचित भएपछि थुपै विकासका कामहरु अधुरै रहेका छन् किनभने सरकार सञ्चालनका लागि थुपै कानून निर्माण गर्नुपर्ने हुन्छ । धेरैजसो कानून निर्माण सकिएको छ । लगत्तै कोभिड १९ कारण थालेका दिगो विकास, आवधिक योजनाका काम पूरा भएका छैनन् । अब ती कार्यक्रमहरुलाई निरन्तरता दिएर नयाँ योजनाहरु पनि अगाडि बढाउन र प्रदेश र संघ सरकारको आवधिक योजनासँग मिल्ने खालको योजनासहित समृद्ध नगरपालिका बनाउनुपर्छ भनेर हामी लागेका छौं । त्यहीअनुसार अगाडि बढ्छौं र सूर्योदयलाई नमुना नगरपालिका बनाउन आगामी कार्यक्रमहरुलाई अघि बढाउँछौं ।
– आगामी आर्थिक वर्षका बजेटमा के कस्ता कार्यक्रम समेटिने छन् ?
आवधिक योजनाअनुसार आगामी आर्थिक वर्षका लागि १ अर्ब ४६ करोडको बजेट ल्याउने तयारी छ । आवधिक योजना पूरै संशोधन गर्नु पर्नेछ किनभने आन्तरिक राजस्व, समानीकरण अनुदान, विभिन्न प्रकारका राजस्वअन्तर्गत प्राप्त हुने रकमहरुमा थोरै तलमाथि भएकाले हामीले त्यसलाई थोरै घटाएर अगाडि बढ्ने योजना छ । विशेषतः बजेटमा हामीले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रका साथै भौतिक पूर्वधार र युवा लक्षित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर समेट्ने छाैं । क्षेत्रगत रुपमा पनि कार्यक्रम योजनालाई सँगसँगै अघि बढाउने योजना छ ।
– नगरपालिकाले कस्ता कार्यक्रमलाई नमुना कार्यक्रमका रुपमा बजेटमा समेट्दै छ ? जुन कार्यक्रमलाई अन्य स्थानीय तहले पनि अनुसरण गरोस् ?
पहिलो त, हामीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । सामुदायिक विद्यालयमा गणित विषय कमजोर भएकाले त्यसलाई कसरी सुधार गर्ने भन्ने कार्यक्रम छ । त्यसलाई अझै परिमार्जन गरी लैजाने लक्ष्य राखेका छौं । शिक्षा समय सापेक्ष वैज्ञानिक हुनुपर्छ दक्ष जनशक्ति उत्पादन गर्न ।
साथै समाज परिवर्तन पहिला महिलाहरुलाई शिक्षित बनाउनुपर्छ भन्ने सोच नगरपालिकाले लिएको छ । जसअनुसार नारी शिक्षा कार्यक्रमलाई अझ व्यवस्थित गर्दै लानेछौं । अति विपन परिवारहरुलाई निःशुल्क बीमा कार्यक्रम पनि नगरपालिकाले यस वर्षदेखि अघि बढाउँछ । विपन्न परिवारका बालबालिका जति छन्, उनीहरुको स्वास्थ्य उपचारका लागि झापाको दमकस्थित डा. भगवान कोइरालाको अगुवाइमा खोलिएको बाल अस्पतालसँग सम्झौता गरिएको छ । आगामी दिनमा त्यसलाई अझ व्यवस्थित गरेर अगाडि बढछौं । त्यसैगरी स्वास्थ्यको क्षेत्रमा हामीसँग रहेको १५ बेडको अस्पताललाई यही वर्षभित्र ५० बेडको बनाउने योजना रहेको छ । चालु आवमा हामी स्वास्थ्यसम्बन्धी व्यवस्थापनमा मुलुककै उत्कृष्ट बनेका छौं ।
अहिले सबै अनलाइन सिष्टम गरेका छौं । के कुराको अभाव छ, त्यसलाई हेर्ने गरी एकीकृत सफ्टवेयरमार्फत अघि बढिसकेका छौं । अब सबै वडामा रोग लाग्नुभन्दा पूर्वतयारीका लागि नगरवासीले जानकारी पाऊन् भन्ने उद्देश्यले प्रोस्टेटदेखि महिलामा हुने विभिन्न स्वास्थ्य समस्याको स्वास्थ्य शिविर राख्न यस वर्षदेखि बजेट विनियोजन हुन्छ ।
– शिक्षामा एकदमै राम्रो काम गरेको भनेर प्रशंसित पनि हुनुहुन्छ तपाईंहरु । नगरपालिकाले त्यस्तो के कदम चाल्नुभयो ?
सबै शिक्षकहरु खराब छन् भन्ने होइन, केही शिक्षकहरुमात्र खराब हुन् । हामीले विद्यालयमा ई-हाजिरी प्रारम्भ गर्यौं । ई-हाजिरी लागू गरेपछि थुपै विद्यालयलाई व्यवस्थित गर्न सफल भयौं । ई-हाजिरीले महत्वपूर्ण भूमिका खेल्यो । विद्यालयबीच तथा विद्यालयभित्रै कर्मचारीमा अन्तरविरोध थिए । त्यसको अन्त्यका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच प्रत्यक महिना छलफल कार्यक्रय राख्यौं । त्यसमार्फत गुणस्तरीय शिक्षा दिन सकिने बहस चलाइयो । यो कार्यक्रम १२ महिनै अघि बढाइयो । जसका कारण सबै विद्यालय शिक्षक, विद्यार्थी क्रियाशील भए र विभिन्न विषय, क्षेत्रहरुमा प्रतिस्पर्धा गराएपछि विधार्थीहरु अझ बढी क्रियाशील हुने भए ।
सूर्योदय स्थानीय पाठ्यक्रम बनाउने पहिलो नगरपालिका पनि हो । अहिले पनि पाठ्यक्रम निर्माण गरिरहेका छौं । विद्यालयलाई बजेटको व्यवस्थापन गर्न समानीकरणमात्र नभएर नगरपालिकाले पनि छुट्टै बजेटको व्यवस्थापन गरेको थियो । शिक्षकहरुको आवश्यकतालाई हेरेर अघि बढेको र शिक्षक तथा अभिभावकको पनि सहयोग रहँदै आएकाले शिक्षामा फड्को मार्न सकेका हौं ।
अझ यसलाई व्यवस्थापन गर्दै लैजाने उद्देश्यले प्रधानाध्यापकसँग प्रशासकीय अधिकृतले कार्यसम्पादनका लागि सम्झौता गर्ने र प्रत्येक प्रधानाध्यापकसँग शिक्षकहरुले कार्य सम्पादन सम्झौता गर्ने, करार सम्झौता गर्ने व्यवस्था गर्यौं । त्यति भएपछि कुन विषय कसरी पठाउने र विद्यार्थीको सिकाइको प्रक्रिया के हो भन्नेबारेमा बलियो जानकारी हुनेछ ।
अहिले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको दर पनि ह्वात्तै बढेको छ । हामीले प्रविधिमा पनि फड्को मारिसकेका छौं । नगरपालिकाले सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा पुर्याइदिएको छ । केही सामुदायिक विद्यालयमा प्यानल बोर्डमार्फत पठनपाठन गर्ने अवस्थामा पुगिसकेका छौं । अब डिजिटल बोर्ड सबै सामुदायिक विद्यालयमा पुर्याउनेछौं । हामी प्रविधिमा छिरिसकेका छौं ।
– नगरपालिकाले आन्तरिक स्रोत व्यवस्थापन कसरी गरिरहेको छ ?
हामी जतिबेला जनप्रतिनिधि भएर आयौं, त्यसबेला अन्त्यतै कम स्रोत थियो । सूर्योदयलाई पर्यटकीय नगरपालिका घोषणा गर्नु भनेको पनि दिगो रुपमा नगरपालिका सस्टेन होस् भन्ने सोचका साथ अघि बढ्यौं । सूर्योदयलाई पर्यटकीय नगरपालिका घोषणा गरिसकेपछि पर्यटकहरुको आगमन बढ्न थाल्यो । त्योसँग आश्रित होटल व्यवसाय बढ्न थाल्यो । त्यसबाट नगरपालिकालाई दिगो आयस्रोत बढ्न थाल्यो । हामी आउँदा अन्तुडाँडाबाट एक लाख रुपैयाँ प्रतिमहिना कर उठ्थ्यो । अलिकति व्यवस्थित गरेर अहिले ४० लाख उठ्ने ठाउँमा पुर्याएका छौं । त्यहाँ पुग्ने पर्यटकको प्रवेश शुल्क टच मेसिन प्रयोग गरी सीधै नगरपालिकाको कोषमा जाने माध्यमको विकास गरेका छौं ।
त्यसैगरी अर्को पर्यटकीय क्षेत्र कन्याम डाँडा वर्षको ५१ हजारमा दिइरहेकोमा हामी आएपछि त्यसलाई व्यवस्थित गर्दै भौतिक संरचनामा जोड दिएर अहिले एकै दिन ५६ हजार उठ्ने अवस्थामा पु¥याएका छौं । त्यसैगरी प्रदेश सरकारसँगको समन्वयमा अहिले टि टेस्टिङ मेसिन राखेर प्रमोशन सेन्टर बनाउने तयारी भइरहेको छ । त्यो प्रमोशन सेन्टरमात्र होइन, हाम्रो त्यहाँ गेस्ट हाउस पनि हुन्छ, पर्याप्त सभा सम्मेलन गर्ने ठाउँहरु पनि हुन्छ । त्यसले गर्दा पनि इनकम जेनेरेट हुन्छ । त्यसैगरी हामीले अहिले करको दायरालाई फराकिलो बनाउने र कर चाहिं प्रगतिशील नै बनाउने उद्देश्य छ । अहिलेको समयमा हामीले ३७ लाखदेखि ४ करोड पुर्याएका छाैं । त्यसमा पनि घरजग्गा कर ५०-५५ हजार उठ्ने गरेको थियो । अहिले १ लाख ४० हजारको हाराहारीमा पुगेको छ । सवारीसाधनको कर राम्रो छ नगरपालिकाको । त्यसले गर्दा अहिले पहाडको एउटा पालिकाको साढे ८ करोडदेखि १० करोड वार्षिक आन्दानी हुनु भनेको ठूलो सफलता हो ।
– नगरपालिकाले सबै क्षेत्रमा सफलता पाइरहँदा खास के कुराले प्रभाव पारेको महसुस गर्नुहुन्छ ?
जनप्रतिनिधि भइसकेपछि मैले पार्टीको काममा धेरै महत्व दिएको छैन किनभने लक्ष्य र उद्देश्य पुरा गर्न खटिनुपर्यो । म आफै पनि विभिन्न अध्ययन गर्ने, अरुको अभ्यास पनि हेर्ने गरेको छु, बाहिर-भित्र भएका नयाँ अभ्यासका बारेमा अध्ययन गर्ने, चासो राख्ने र त्यसका बारेमा म छलफल चलाउँछु । नपाका सबै समितिहरुलाई सधैं क्रियाशील बनाउँछौं । एक्लै गर्छु भन्ने हो भने सफल भइँदैन । टिममा काम गर्नुपर्छ र टिमलाई सही दिशामा लान सके सबै गर्न सकिन्छ । प्रविधिको अधिकतम प्रयोग गर्नुप¥यो । भ्रष्टाचारलाई शून्यमा झार्नु पर्यो । यदि भ्रष्टाचार गरिएन भने सफल हुन सकिन्छ ।
नगरपालिकालाई प्रविधिमैत्री बनाएको खण्डमा भ्रष्टाचार गर्ने सम्भावना अत्यन्तै न्यून गर्न सकिन्छ । म आउँदा नगरपालिकामा अप्टिकल फाइबर थिएन । मैले ६ महिना विराटनगर धाएर अप्टिकल फाइबर ल्याउने काम गरेँ । अहिले हामी फाइबर टु दि होमको अवधारणामा अघि बढेका छौं । अब यही आर्थिक वर्षभित्र सूर्योदय नगरपालिकालाई यो प्रविधिमैत्री नगरका रुपमा घोषणा गर्दैछौं । प्रविधिमैत्री नगरपालिका घोषणा गरेपछि धेरै कुरा सिस्टममा आउँछ । सेवाग्राहीहरु पनि नगरपालिकामा धाइरहनु परेन, घरबाटै सिफारिस हुने गरी व्यवस्था मिलाउँछौं । त्यसका लागि लगभग पूर्वाधार पनि निर्माण गरिसकेका छौं ।
– सूर्योदय नगरपालिका चियाको राजधानी पनि हो । चियाको विकासका लागि विशेष के योजना छन् ?
नगरपालिकाले हाम्रै कार्यकालमा चियाको गुुणस्तर कायम गर्ने र न्यूनतम समर्थन मूल्य निर्धारण गर्नेसम्मको काम गरेको छ । यससम्बन्धी कार्यविधि नै निर्माण भइसकेको छ । अब चिया क्षेत्रको अध्ययन गरी सुझाव दिन एउटा समिति गठन गरिने छ । समितिले किसान, उद्योगी, व्यापारी, प्रदेश र संघीय सरकारलगायत सबै क्षेत्रसँग छलफल र अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । त्यसअनुसार चिया क्षेत्रको विकासका लागि नगरले योजना बनाउनेछ । नगरले माथिल्ला दुवै तहका सरकारसँग समन्वय गर्नेछ ।
– पूर्वाधार विकासको अवस्था कस्तो छ ?
पूर्वाधार विकास निर्माणमा निकै कठिन छ । भौगोलिक अवस्थाका कारण र बजेटको समस्या पनि उस्तै छ । तर पनि हाम्रो नगरपालिकाको आफ्नै विकास मोडल छ । एक वडा एक बाटो अवधारण विकास गरेका छौं । त्यसअनुरुप अब सबै बाटो हिलैहिलो छ, पहिला ३ किलोमिटरलाई पक्की सडक तयार पार्ने योजनाअनुरुप हामीले त्यो काम पनि धेरै गरिसकेका छौं । वडाहरुमा पनि पिच सडक निर्माण गर्ने काम सुरु भइसकेको छ ।
त्यसैगरी हामीले गएको पाँच वर्षको अवधिमा सम्पूर्ण वडा कार्यालयको भवन तयार गरिसकेका छौं । स्वास्थ्यका शाखाहरु प्रत्येक वडामा बनाइसकेका छौं । अब हामी कार्यपालिकाको बैठक लाइभ गर्नेछौं । काठमाडांैले थालनी गरे पनि त्योभन्दा पहिला हाम्रो योजना रहेको थियो ।
– प्रदेश र संघबाट प्राप्त सहयोगमा तपाईंहरु कतिको सन्तुष्ट हुनुहुन्छ ?
संघीय सरकारका बजेटहरुमध्ये सशर्त अनुदानप्रति हाम्रो सन्तुष्टि छँदैछैन् । प्रदेशको आउने क्रममा छ । पर्ख र हेरेको अवस्थामा छौं । संघले हामीसँग समन्वय गरेर कार्यक्रमहरु अगाडि बढाउने गरेको छ । स्थानीय तहको आवश्यकता के हो नबुझी हचुवाको भरमा सशर्त अनुदानहरु पठाएको हुनाले त्यसमा सन्तुष्ट हुने भन्ने कुरै आउँदैन । प्रदेश सरकारले हामीसँग केही छलफल सुरु गरेको छ । हामीले कुरा राखेका छौं । हामीले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनमा सहकार्य गर्नु भनेका छौं । त्यो सम्बोधन हुनेछ भन्ने अपेक्षा छ ।
– अबको ५ वर्षपछि सूर्योदय नगरपालिका कस्तो हुनेछ ?
मैले सूर्योदयको भविष्य चियामै देखेको छु । चियाको विकासलाई उपलब्धिमूलक बनाउन सक्यौं भने म सबैभन्दा बढी सन्तुष्ट त्यसैमा हुनेछु । बाँकी अघि भनिएकै छ । हामी सूर्योदयलाई देशकै नमुना बनाउने छौं ।