एमालेका १५ सांंसदले संसदमा दर्ता गरे ‘स्थगनको प्रस्ताव’, मल आयातबारे छलफलको माग – Nepal Press

एमालेका १५ सांंसदले संसदमा दर्ता गरे ‘स्थगनको प्रस्ताव’, मल आयातबारे छलफलको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १५ जना सांसदले प्रतिनिधिसभाको बैठकका जारी कार्यक्रम स्थगन गरी रासायनिक मलका विषयमा छलफल गर्न माग गरेका छन् । उनीहरुले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गर्नुपर्ने मागसहित संसद सचिवालयमा स्थगन प्रस्तावको सूचना दर्ता गराएका हुन् ।

नेपाल कृषिप्रधान देश भएको हुँदा धानबालीलगायतका बालीहरुका लागि रासायनिक मल अत्यावश्यक भएको प्रस्तावमा उल्लेख छ । धान खेती सुरु हुने समय गुज्रिन लाग्दा पनि मलको लागि कृषकहरु भौतारिँदै हिँडेको सांसदहरुले बताएका छन् ।

‘रासायनिक मललाई अत्यावश्यक वस्तुको रुपमा ऐनमा परिभाषित गरी छिटो प्रक्रियाबाट ल्याउने गरी कानूनमा सुधारसम्म गर्ने प्रयास सरकारले गरेको छैन’, प्रस्तावमा भनिएको छ, ‘जीटुजी विधिबाट भए पनि तत्काल मल देशभित्र ल्याउन मल उत्पादक राष्ट्रहरु विशेषगरी भारतसँग पहलकदमी गर्नुपर्ने देखिन्छ ।’

सरकार यी सबै प्रक्रियामा पूर्ण असफल भइरहेको अवस्थामा जनप्रतिनिधिहिरु टुलुटुलु हेरेर अन्य विषयमा छलफल गर्नु उपयुक्त नहुने सूचनामा उल्लेख छ । यसर्थ प्रतिनिधिसभा नियमावलीअनुसार बैठकको कार्यक्रम स्थगित गरी रासायनिक मल झिकाई कृषकलाई तत्काल उपलब्ध गराउने विषयमा छलफल गर्न स्थगन प्रस्तावमा आग्रह गरिएको छ ।

यस प्रस्तावमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल, यज्ञराज सुनुवार, राजेन्द्रकुमार राई, कृष्णगोपाल श्रेष्ठ, नारायणप्रसाद खतिवडा, झपटबहादुर रावल, गंगा चौधरी, रेखाकुमारीले हस्ताक्षर गरेका छन् ।

यसैगरी नारायणप्रसाद मरासिनी, पवित्रा निरौला, विमला विश्वकर्मा, सरिता गिरी, नवराज सिलवाल र घनश्याम खतिवडाको हस्ताक्षर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर