गम्भीर विवादमा अर्थमन्त्री शर्मा : समाचार खण्डन गर्ने कि राजीनामा ? – Nepal Press

गम्भीर विवादमा अर्थमन्त्री शर्मा : समाचार खण्डन गर्ने कि राजीनामा ?

प्रचण्डले दिए राजीनामाको सुझाव

काठमाडौं । बजेटमाथि अनधिकृत व्यक्तिबाट छेडछाड गराएको सार्वजनिक भएसँगै अर्थमन्त्री जनार्दन शर्मा तीव्र विवादमा तानिएका छन् ।

आज अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार गलत साबित गर्न नसकेमा उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने छ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट भाषण हुने अघिल्लो रातमा मन्त्री शर्माले एक पूर्वनासुलाई मन्त्रालयमा घुसाएर करको दर हेरफेर गराएको समाचारमा जनाइएको छ ।

बजेट निर्माणका लागि गठित टिमलाई समेत जिल्याउँदै पूर्वनासु रघुनाथ घिमिरेले निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी बजेट चलाएको दाबी समाचारमा गरिएको छ । यति गम्भीर विषय सार्वजनिक भएको घण्टौँसम्म पनि अर्थमन्त्रीले कुनै स्पष्टीकरण दिएका छैनन् ।

स्रोतका अनुसार यति बेला अर्थमन्त्री शर्मा समाचारलाई कसरी ट्याकल गर्ने भनेर निकटस्थसँग छलफल गरिरहेका छन् । तर, सामान्य खण्डन विज्ञप्ति जारी गरेरमात्रै उनले उन्मुक्ति पाउने अवस्था भने छैन ।

सरकारको कुनै ओहदामा नरहेको एउटा मामुली पूर्वकर्मचारीलाई ‘विज्ञ’ भन्दै मन्त्रालयमा घुसपैठ गराइनु र अति संवेदनशील मानिने करका दरहरू हेरफेर गरिनु चानचुने विषय होइन ।

यसलाई लिएर संसदमा समेत अर्थमन्त्रीको राजीनामा माग भएको छ । शर्माको पार्टी नेकपा माओवादीमा समेत यो समाचारले हलचल पैदा भएको छ ।

करको दरमा गरिएका केही हेरफेरमाथि पहिल्यैबाट प्रश्न उठिरहेका थिए । खासगरी विद्युतीय सवारीसाधनमा लगाइएको भन्सारलाई लिएर अर्थमन्त्रीको आलोचना भएको थियो । विद्युतीय सवारीलाई प्रोत्साहनको कुरा गरिरहेको सरकारले बजेटमा भन्सार ह्वात्तै बढाइदिनु युक्तिसंगत देखिएको थिएन ।

यस्तै स्वदेशी उद्योगीहरूको ढाड भाँच्ने गरी आयातित स्यानिटरी प्याडमा दिइएको भन्सार छुटले पनि आशंका जन्माइरहेको छ । नयाँ बजेटले तारजाली, घ्यू–तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

स्वदेशी उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्नेभन्दा पनि विदेशबाट आयात गर्दा भन्सार घटाउने नीति सन्देहपूर्ण हो । आज प्रकाशित समाचारले विभिन्न उद्योगीसँग ‘सेटिङ’ का आधारमा करको दर हेरफेर गरिएको आशंकालाई बल पुर्‍याएको छ ।

प्रचण्ड-शर्मा भेट

विवादमा आएका अर्थमन्त्री शर्मालाई हिजो माओवादी अध्यक्ष प्रचण्डले भेटेका थिए । स्रोतका अनुसार प्रचण्डले शर्मालाई आफ्नो निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । करिब एक घण्टाको उक्त छलफलमा प्रचण्डले अर्थमन्त्रीको कार्यशैलीप्रति रोष प्रकट गरेको स्रोतले बतायो । प्रचण्डले अर्थमन्त्रीलाई राजीनामाको सुझावसमेत दिएको बुझिएको छ ।

अर्थमन्त्री शर्माको सचिवालयले भने माओवादीका केही नेताले नचाहिँदो प्रचारबाजी गरिरहेको टिप्पणी गर्‍यो ।

सचिवालयका एक सदस्यले भने, ‘केही नेतालाई मन्त्री बन्न हतार भएर जे पनि बोल्दै हिँडेका छन् । यस विषयमा पार्टीले नै आधिकारिक धारणा ल्याउने छ ।’


प्रतिक्रिया

One thought on “गम्भीर विवादमा अर्थमन्त्री शर्मा : समाचार खण्डन गर्ने कि राजीनामा ?

  1. नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको पछिल्लो हर्कतले आफूले उर्जामन्त्री भएको बेला बनाएको अलिकति बचेखुचेको साख पनि धुलीसाथ बनाएका छन् । शर्मामा अलिकति पनि लाजसरम, आत्मग्लानी र नैतिकता भएको भए राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई विनाकारण पदबाट हटाउँदा सर्वोच्च अदालतबाट आफ्नो विपक्षमा फैसला आउँनासाथ राजीनामा दिनुपर्थ्यो । तर, शर्मामा अलिकति पनि नैतिकता भन्ने चिज नै नभएपछि उनले राजीनामा दिने कुरै भएन । र, दिएनन् । यतिबेला शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणअघि एकजना पूर्व नायव सुब्बालाई मध्यरातमा अर्थ मन्त्रालयमा बोलाएर करका दरहरु परिवर्तन गर्न लगाएको गम्भीर आरोप लागेको छ । यस्तो अवस्थामा माओवादीमा भावी महासचिवको दौडमा समेत रहेका शर्माले नैतिकताको आधारमा अर्थमन्त्रीको पदबाट तत्काल राजीनामा दिनुपर्छ । अन्यथा पार्टीले उनलाई यथासिघ्र फिर्ता बोलाउनुपर्छ । त्यो पनि नभए प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाइ बर्खास्त गर्नुपर्छ । अन्यथा अहिले जनता जागेको बेला शर्माले गरेको यस्तो हर्कतले यसै वर्ष सम्भवत आगामी कात्तिक / मंसिर महिनामा सम्पन्न हुन गइरहेको आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले यसको ठुलो मूल्य चुकाउनुपर्नेछ । त्यतिमात्रै होइन निर्वाचनसम्म अहिलेको गठबन्धन कायमै रहेमा चुनावमा सत्ता गबन्धनले पनि ठुलै नोक्सानी बेहोर्नुपर्ने देखिन्छ । यदि सञ्चारमाध्यममा बाहिर आएजस्तो अर्थमन्त्री शर्माले मध्यरातमा अर्थ मन्त्रालयमा बजेट सम्बन्धि सरोकार नै नभएको व्यक्तिलाई बोलाएर विभिन्न महत्वपूर्ण करका दर परिवर्तन गरिएको आरोप साँचो ठहरिएमा उनको राजीनामाले मात्रै पुग्दैन । मन्त्री शर्माले गम्भीर आर्थिक अपराध गरेको आरोपमा उनलाइ कानुन बमोजिम थप कारबाही हुने देखिन्छ । यसर्थ घटनाको गम्भीरतालाई आत्मसात गर्दै घटनाको सत्यतथ्य जाँचबुझका लागि पनि अर्थमन्त्री शर्माले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुको विकल्प छैन । यसमा स्वयं मन्त्री शर्मा, उनको पार्टी नेकपा माओवादी केन्द्र र सरकारको बेलैमा उचित ध्यान जाओस् । अन्यथा भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ । तर, गोरु आफ्नै भएपनि काँध थाप्न भने सकिँदैन । सबैको जय होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर