एमाले बैठक- अन्तर्घात र असमझदारी छुट्याएर मात्र दोषीलाई सम्बन्धित कमिटीले कारबाही गर्ने (भिडिओ) – Nepal Press

एमाले बैठक- अन्तर्घात र असमझदारी छुट्याएर मात्र दोषीलाई सम्बन्धित कमिटीले कारबाही गर्ने (भिडिओ)

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभए पनि गठबन्धन,सत्ताको दुरुपयोग र कतिपय ठाउँमा आन्तरिक कमजोरीका कारण सिटमा केही क्षति भएको भन्दै यसको गम्भीर समीक्षा हुने जनाएको छ ।

केन्द्रीय सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकप्रिय मतमा एमाले कांग्रेसभन्दा अगाडि रहेको तर गठबन्धनका कारण पालिका प्रमुख तथा उपप्रमुखमा विगतको भन्दा कमजोर नतिजा आएको बताए ।

उनले कतिपय ठाउँमा उम्मेदवारी चयनमा ढिलाइ तथा आकांक्षीहरुबीच असमझदारीका कारण पनि आन्तरिक कारण पराजय भोग्नुपरेको समीक्षा बैठकमा भएको जानकारी दिए । उनले अन्तर्घातको सन्दर्भमा वडादेखि सम्बन्धित कमिटीमै देशभर समीक्षा हुने बताए ।

ज्ञवालीले भने- समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा,निर्वाचन परिचालनमा आवश्यक पर्ने कुशलता देखाउन नसक्दा केही ठाउँमा पराजय भएको छ । प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्नेछन् । तर पार्टीले कुन चाहिँ घात अन्तर्घात,कुन चाहिँ असमझदारी हो भनेर छुट्याउँछ र सही घारमा पार्टी पङ्क्तिलाई राख्न पहल हुनेछ ।

बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने,पार्टीको विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति दिन नहुने निष्कर्ष पनि निकालेको छ ।

ज्ञवालीले २०६४ सालदेखिको चुनावको मत हेर्दा एमाले र कांग्रेस मुख्य शक्ति रहेको र २०७४ सालपछि एमाले नै पहिलो शक्तिका रूपमा रहेको यस पटकको लोकप्रिय मतले पुष्टि गरेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर