बौद्ध : सामूहिक बलात्कारमा परेकी महिला बच्चाकी आमा, लाउन्जमा मदिरा खाँदा भेट भएको थियो – Nepal Press

बौद्ध : सामूहिक बलात्कारमा परेकी महिला बच्चाकी आमा, लाउन्जमा मदिरा खाँदा भेट भएको थियो

काठमाडौं । बौद्धको गेस्ट हाउसमा आइतबार बिहान सामूहिक बलात्कारमा परेकी महिला बच्चाकी आमा रहेको पाइएको छ।

घटनाको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका अनुसार बलात्कृत महिलाले आफ्नो एउटा बच्चा रहेको र श्रीमान् विदेशमा रहेको बताएकी छिन्।

नयाँ बसपार्कस्थित कोठामा पुर्‍याई दिने बहानामा बौद्धमा लगेर आफूलाई बलात्कार भएको २४ वर्षीया ती महिलाको दाबी छ।

प्रहरीका अनुसार चार जना युवा शनिवार साँझ बौद्धबाट दरबारमार्ग पुगेका थिए। त्यहाँ रहेको एक दोहोरी साँझमा केही समय रमाइलो गरेर उनीहरू नजिकै रहेको एउटा लाउन्जमा छिरेका थिए।

त्यहाँ उनीहरूको दुई जना युवतीसँग भेट भएको थियो । मदिरा सेवन गर्दै रमाइरहेका बेला युवाहरूको समूहका एक जना र दुई जना युवतीमध्ये एक नजिकिएका थिए । केही समयपछि ती दुई युवतीमध्ये एक जना छुट्टिएकी थिइन् ।

त्यसपछि नजिकिएका युवक र युवती मोटरसाइकल लिएर निस्किएका थिए। बौद्ध पुगेपछि युवकले गेस्ट हाउस खोजे तर भेटेनन् । त्यसपछि लाउन्जमा छाडेर आएकामध्ये एक जनालाई फोन गरेर बोलाएका थिए ।

लाउन्जबाट आएका ती युवकले पहिल्यैदेखि चिनजान रहेका लुङ्ता गेस्ट हाउसका सञ्चालकलाई फोन गर्दै तल बोलाएका थिए ।

‘सञ्चालकले गेस्ट हाउसमा कोठा छैनन् तर माथि अपार्टमेन्टमा बस्ने भए बस्नुस् भनेपछि ती दुई युवा अनि युवती त्यहाँ बसेका रहेछन्’, अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृत भन्छन्, ‘माथि गएको ४०र४५ मिनेटपछि एक युवा त्यहाँबाट निस्किएर बाहिरिएको देखिन्छ। त्यसको १५र२० मिनेटपछि अर्का युवक त्यो अपार्टमेन्टमा छिरेको देखिन्छ। ती युवक प्रवेश गरेको केही समयमा युवती चिच्याएको सुनिन्छ।’

पछि आएका युवकले अप्राकृतिक यौन सम्पर्कको समेत प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘तेस्रो युवकको आगमनपछि युवती आफैले प्रहरीलाई फोन गरेर बोलाएको पाइएको छ। त्यहाँ रहेका केटाहरू ती युवतीले प्रहरी बोलाएको भन्दै त्यहाँबाट भागेको देखिन्छ। होटेल सञ्चालकले उनीहरुलाई नियन्त्रणमा लिने अवस्था हुँदासमेत त्यसो भएको देखिँदैन’, ती अनुसन्धान अधिकृत भन्छन्।

प्रहरीका अनुसार सुरुमा युवती र युवक राती २ बजे बौद्ध क्षेत्रमा पुगेका थिए र त्यसको आधा घण्टापछि उनीहरू गेस्ट हाउसमा प्रवेश गरेका थिए ।

प्रहरीले फरार रहेका तीनै जनालाई केही समयमै पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २४ वर्षका रितेश तामाङ, २२ वर्षका रिन्जेन शेर्पा र ३४ वर्षका उत्तम लामा रहेका छन् ।

यस्तै गेस्ट हाउस सञ्चालक रहेका ३४ वर्षका आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई पनि प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *