के ताइवानलाई लिएर अमेरिका र चीनको युद्ध सुरु हुन लागेको हो ? – Nepal Press

के ताइवानलाई लिएर अमेरिका र चीनको युद्ध सुरु हुन लागेको हो ?

काठमाडौं । गत आइतबार चीनका रक्षामन्त्री जनरल वी फेगले अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गरिरहेको आरोप लगाए । अमेरिकाले ताइवानको सन्दर्भमा आफूले गरेको वाचा बिर्सिएको र चीनको आन्तरिक मामिलामा अनावश्यक चासो देखाएको फेगको भनाइ थियो ।

‘एउटा कुरा प्रष्ट गरौं । यदि कसैले ताइवानलाई चीनबाट अलग गर्न खोज्छ भने हामी त्यससँग लड्न हिचकिचाउँदैनौं । हामी कुनै पनि हालतमा लड्नेछौं र अन्तिमसम्म लड्नेछौं। चीनको सन्दर्भमा यो हाम्रो एक मात्र विकल्प हो।’ एसिया क्षेत्रको सुरक्षासँग सम्बन्धित साङ्रिला सम्मेलनमा फेगले चेतावनी समेत दिए ।

चीनका रक्षामन्त्रीको यो चेतावनी अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनलाई लक्षित गर्दै ताइवानले नजिकको लडाकु विमान उडाउँदै खतरासँग खेलिरहेको भन्ने टिप्पणी गरे पछि आएको थियो । यस्तै अमेरिकाले यदि ताइवान माथि हमला सुरु भएको खण्डमा अमेरिकाले ताइवानको सुरक्षाको लागी सेना पठाउने समेत घोषणा गरिसकेको छ ।

ताइवानको सन्दर्भमा कुरा गर्नुपर्दा ताइवानले आफूलाई सर्वभौमिक देशकोरुपमा मान्दै आएको छ भने अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो सहयोगी राष्ट्रकोरुपमा लिँदै आएको छ । अमेरिकाको कानुन अनुसार ताइवानमा यदि आफ्नो रक्षाको लागि संघर्ष गर्नुपर्ने अवस्था आइपरेमा ताइवानलाई सहयोग गरिने भनेर उल्लेख समेत गरिएको छ ।

यता चीन भने ताइवानलाई आफ्नो भुभागको रुपमा लिँदै आएको छ । पछिल्लो समय चीनले ताइवानको रक्षा क्षेत्रमा चीनले लगातार लडाकु विमान प्रक्षेपण गरेसँगै हाल चीन र अमेरिकाबीच तनाव बढीरहेको अन्तर्राष्टिय संचार माध्यम बीबीसीको मिडिया रिपोर्टमा उल्लेख छ ।

पछिल्लो महिना मात्र चीनले ताइवानको रक्षा क्षेत्रमा आफ्नो सबैभन्दा ठूलो लडाकु विमान उडाएको थियो भने अमेरिकाले ताइवानको समुद्री मार्ग प्रयोग गर्दै धेरै संख्यामा युद्धपोत पठाएको बीबीसीले जनाएको छ ।

चीन र अमेरिकाको आ–आफ्नो दाबीलाई मध्यनजर गर्दा यदि चीनले ताइवान माथि हमला सुरु गरेको खण्डमा यसले युद्धकै अवस्था निम्त्याउने सक्ने चिन्ता हाल अन्तर्राष्टिय समुदायमा देखा परेको छ । साथै चीनसँग आक्रमण गर्ने सैन्य शक्ति छ कि छैन ? ताइवानले लगातार आफ्नो वायु र नौ सैनिक शक्ति किन बढाइरहेको छ ? लगायतका बहस समेत सुरु भएको छ ।

चीन र ताइवानबीचको जारी विवाद यदि युद्धमा परिणत भएको खण्डमा यसले यी दुई देशमा मात्र नभई सारा विश्वमा नै नकरात्मक प्रभाव पार्न सक्ने विश्लेषकहरुको भनाइ छ भने हालको समयमा युद्धको सुरुवात हुने सम्भावना भने अत्यन्तै न्युन रहेको छ ।

‘चीनबाट धेरै बयान आइरहेका छन् । तर ताइवानमाथिको आक्रमणको बारेमा सोच्दै चीनले खतरालाई ध्यानमा राख्नुपर्छ । विशेष गरी युक्रेन संकट जारी रहेको समयमा। चीनको अर्थतन्त्रको विश्वव्यापी सम्बन्ध रुसको भन्दा धेरै छ।’ दक्षिण पूर्व एसियाली अध्ययन संस्थानका वरिष्ठ विश्लेषक चुङलाई उद्धरित गर्दै बीबीसीले जनाएको छ ।

चीनले लगातार ताइवानसँग शान्तिपूर्ण रूपमा एकीकरण गर्न चाहेको र गत आइतबार चीनका रक्षामन्त्रीले पनि त्यही कुरा दोहोर्‍याएको मिडिया रिपोर्टमा उल्लेख छ । ताइवानले औपचारिक रूपमा आफूलाई स्वतन्त्र घोषणा गरेको खण्डमा यसले चीनलाई उकसाउन सक्ने अवस्था रहेको तर ताइवानका राष्ट्रपतिले यसलाई कडाइका साथ बेवास्ता गर्दै आएको कारण हाल युद्धको सम्भावना न्युन रहेको बताईन्छ ।

यता अमेरिका पनि एसियामा महँगो सैन्य संघर्ष गर्न हिचकिचाउने बताईन्छ । साङ्रिला सम्मेलनमा चीनका रक्षामन्त्रीको सम्बोधन पश्चात अमेरिकी रक्षामन्त्री लयड अस्टिनले अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने र नयाँ शितयुद्धको पक्षमासमेत नरहेको स्पष्टिकरण दिएका थिए ।

एस राजरत्नम स्कूल अफ इन्टरनेसनल स्टडीजका रिसर्च विश्लेषक कोलिनका अनुसार ताइवानको सन्दर्भमा चीन र अमेरिकाको आफ्नो मान्यता रहेपनी निकट भविष्यमा युद्ध हुन सक्ने सम्भावना भने न्युन रहेको छ । वास्तवमा चिनियाँ रक्षामन्त्री र अमेरिकी रक्षामन्त्री ताइवानको मुद्दामा फरक–फरक मत राखे पनि सो विषयमा वार्ता गर्न दुवै पक्ष सकरात्मक रहेको कोलिनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर