कानून त्रुटिपूर्ण छ, बलात्कारमा हदम्याद हटाए अनाहकमा पुरुषहरू बर्बाद हुन्छन्: अधिवक्ता ठाकुर
काठमाडौं । एक युवतीले ८ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै सामाजिक सञ्जालमार्फत बाहिर ल्याएपछि यतिबेला नेपालमा बलात्कार मुद्दामा हदम्यादको विषय चर्चामा छ । कानूनअनुसार घटना भएको एक वर्षभित्र जाहेरी दर्ता भइसक्नुपर्ने व्यवस्था रहेकाले प्रहरीले ती युवतीको घटनामा आरोपीलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरेर मुद्दा चलाउने तयारी गरिरहेको छ । यति नै बेला सडकदेखि सदनसम्म बलात्कार मुद्दामा हदम्याद हटाउनुपर्ने माग गर्दै खासगरी महिला अधिकारवादीहरु आन्दोलित छन् ।
बलात्कारको घटना पीडितले तत्कालै भन्न नसक्ने पनि सम्भावना रहने भएकाले जहिले बाहिर ल्याए पनि अनुसन्धान हुनुपर्ने उनीहरुको माग छ । यही चर्चाबीच मंगलबार दोस्रो संविधानसभाकी सदस्य तथा अधिवक्ता रञ्जु ठाकुरले सामाजिक सञ्जालमा हद म्यादको विषयलाई लिएर टिप्पणी गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘अहिले केही दिनदेखि बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउने विषय मार्केटमा धेरै चर्चा परिचर्चा चलिरहेको देख्दा केही लेखौँजस्तो लाग्यो । अहिले हदम्याद किन कम भयो ? कसको लागि कम भयो ? कस्ताका लागि कम भयो ? यो विषय धेरै नै गम्भीर रहेको छ । जहाँ हाम्रो कानूनी प्रावधान लिभिङ टुगेदर र १८ वर्षको केटाकेटीले शारीरिक सम्बन्ध राख्न सक्ने व्यवस्था गरेको छ । तर विवाहको उमेर २० वर्ष दिनु, यस्ता त्रुटिपूर्ण कानूनी व्यवस्था रहेको अवस्थामा हामी कसरी हदम्यादका सीमाका विषयमा मात्र कुरा गर्न सक्छौँ ?’
उनको यही टिप्पणीलाई लिएर अधिवक्ता एवं दाेस्राे संविधानसभाका सदस्य रञ्जु ठाकुरसँग गरिएको कुराकानी नेपाल टकमा ।
– महिला अधिकारकर्मीहरु हदम्याद हटाउन लागिरहेका बेला तपाईंको विचार भने फरक देखियो । अहिले भइरहेको आन्दोलनप्रति तपाईंको असहमति हो ?
म एउटा मान्छे भनेरमात्र भएन । हाम्रो समाज यति विकृतितिर गयो नि, प्लस माइनस कोही सोच्दैन । ह्विममा जान थाल्यो । म समितिमा रहँदा १६ वटा कानुन बनाएँ । ती सबै समय सापेक्ष, के जरुरी छ, के जरुरी छैन ? हरेक कुरा सोचेर बनाएको थियौं । कानून ब्याकग्राउन्ड हुनु पनि सांसदहरुका लागि एउटा महत्वपूर्ण कुरा हो, त्यो कमि छ हामीकहाँ । मैले स्टाटस हिजो बाध्य भएर लेखेको हुँ, तीन चार महिनाको यो कुराहरु सुन्दासुन्दा । महिला अधिकारकर्मी र सांसदहरुले दुइटै पक्षहरु हेरेका छैनन् । एउटै पक्षको एड्भोकेसी गरिरहनुभएको छ । व्यक्तिगत रुपमा त्यो मेरो स्वभाव पनि छैन र मलाई पच्न पनि गाह्रो हुन्छ । हाम्रो कानून नै त्रुटिपूर्ण छ । कानून संशोधन नै गर्नु छ भने हदम्याद संशोधन गरेरमात्र हुँदैन । यसमा म रिजिड छु ।
– कानून के केमा त्रुटिपूर्ण छ ?
उदाहरणका लागि १२ वर्षको केटी आजकल वयस्क भइहाल्छ किनभने रजस्वला १०/११ वर्षमै सुरु हुन्छ खानपिन, वातावरणले । हामीले रियालिस्टिक अप्रोचमा कुरा गर्नुपर्छ । सोसल मिडिया, भिडियो (अश्लील)हरुका कारण केटाहरु पनि १५/१६ वर्षमै आफूलाई वयस्क मान्न थाल्छन् । अब १२ वर्षको केटी र १६ वर्षको केटा लिभिङ टुगेदर सुरु गर्छ भने ८ वर्षपछि मात्र युवतीलाई कानूनले दिएको विवाह गर्ने उमेर पुग्छ । ८ वर्षसम्म कुनै केटासँग रिलेसनमा बसेको केटीले विवाह गर्ने उमेर पुगेपछि फलानो युवकले मलाई बलात्कार गर्यो भन्न थाल्यो भने यसलाई कसरी लिने हामी ?
८ वर्षपछि पनि ऊ बलात्कारमा जान्छ भने पुरुष पीडित भएन ? अर्को कुरा १८ वर्षको केटाकेटीले शारीरिक सम्बन्ध राख्न पाउने भन्ने व्यवस्था छ । विवाह गर्न २० वर्ष पुग्नुपर्ने अनि शारीरिक सम्बन्ध राख्न चाहिँ १८ वर्ष पुगे हुने, अनि लिभिङ टुगेर जतिबेला पनि बस्न सकिने । यस्ता कुराहरु कानूनका त्रुटिहरु हुन् ।
– त्यसो भए हदम्याद हटाउनु जायज कि अहिलेकै ठीक ?
किन हदम्याद हटाउनु पर्यो रु एक वर्ष त दिएकै छ नि ! पहिला ३५ दिन थियो । त्यो पछि ६ महिना भयो । अहिले एक वर्ष छ । बलात्कारमा हदम्याद संवेदनशील हो । तर, दुईवटा पर्स्पेक्टिभले हेरिनुपर्छ । एउटा त हिजोसम्म दिएको हदम्यादको व्यवस्था किन कम भयो त्यसमा मेरो प्रश्न छ । एक वर्ष किन कम भयो, के कारणले कम भयो ? ८ वर्ष पुरानो केस आउँदामात्र कम भएको हो ? हिजोसम्म यस्तो थिएन कम र धेरैको कुरा ? अर्को कुरा हामीले सर्कुमस्टेन्सको कुरा हेरिनुपर्छ । बलात्कार हुन्छ भने प्रमाण हुन्छ नि ! प्रमाण त मेटिँदै जान्छ नि ! प्रमाण मेटिएपछि कोही केटासँग मेरो रिसइबी छ भने फलानोले मलाई २ वर्ष वा ८ वर्ष अगाडि बलात्कार गर्यो भन्दिए पुग्ने ? त्यो बेला मैले भन्नै सकिनँ वा बेहोस भएँ भन्न सक्ला । तर, पीडितको कोही न कोही त आफन्त वा चिनेजानेको व्यक्ति हुन्छ नि, जोसँग उसले ती कुराहरु भन्न सक्छ ।
– तपाईंको आशय हाम्रो समाज बलात्कारका विषयमा पीडितले तत्कालै वा एक वर्षभित्र बोल्न सक्न तयार भइसकेको छ भन्ने हो ?
हाम्रो समाजमा बलात्कारका घटना लुकाएर बस्न सक्ने अवस्था छैन । मानिसहरु धेरै बुझ्ने भइसकेका छन् । अहिलेको अवस्थामा हामीले त्यसो भन्न मिल्दैन । दुर्गम ठाउँ र अनपढ भनिएकाहरुसमेत यस्ता विषयमा धेरै सचेत भइसकेका छन् । बलात्कार मुद्दामा हदम्याद हटाउनु भनेको भोलिका दिनमा निकै घाँडो हुन्छ खासगरी पुरुषहरुलाई । म त महिला पुरुष भन्दिनँ, लैंगिक समानताको कुरा गर्छु । पीडित अवश्य हामी महिला धेरै छौँ । त्यसैले महिलामैत्री कानूनहरु बने । तर, धेरै कानून बनाएर महिलाहरुले त्यसलाई दुरुपयोग पनि गरेका छन् । त्यसलाई पनि हामीले स्वीकार गर्नुपर्छ । म आजमात्र होइन भोलि पनि यो विषयमा बोल्छु ।
– लिभिङ टुगेदरको बढ्दो संस्कृतिलाई तपाईं कसरी हेर्नुहुन्छ ? हाम्रो समाज त्यसका लागि तयार भइसकेको हो ?
मलाई व्यक्तिगत रुपमा यो चिज पटक्कै मन परिरहेको छैन । हामी धर्मशास्त्र मान्ने मान्छे हौँ । वैवाहिक सम्बन्धपछि मात्र महिला र पुरुषबीच शारीरिक सम्बन्ध हुनुपर्छ । विवाहअघि यो सम्बन्ध हुनु नै अवैध हो आध्यात्मिक रुपमा । अधिकारको विषय, समानताको विषय भनेको शिक्षामा, अर्थमा, राजनीतिलगायत विषयमा हुनुपर्छ । लिभिङ टुगेदरलाई हामीले अधिकारको विषय बनाउनु हुँदैन । यो कहिले पनि समाजको लागि राम्रो हुन सक्दैन । जब कम्तिमा २० वर्षमा मात्र हामी विवाहका लागि सक्षम छौँ भने त्योभन्दा अगाडि हामी लिभिङ टुगेदरमा गयौँ भने विवाहको मतलब के त ? कोही केटी वा केटालाई आमाबुबाले विवाह गरिदिनुको मतलब भनेको त पहिलो इन्टेन्सन त अब यी दुईजनाको रिलेसनबाट सन्तान जन्मियोस् र शारीरिक, मानसिक र पारिवारिक सुख प्राप्त होस् भन्ने हो नि, हैन र ?
– तर, अधिकारवादीहरुले विवाह र यौन सम्बन्ध फरक विषय हुन् भन्न थालेका छन् नि ! आफूले चाहेका बेला आफूले चाहेको मान्छेसँग यौन सम्बन्ध राख्न सकिन्छ । विवाह त बच्चा जन्माउनमात्र हो भन्ने पनि सुन्न थालिएको छ ।
यही कुरा सुनेर मलाई पनि अचम्म लाग्छ । यस्ता कुरामा हामी धेरै एड्भान्स बन्न खोजिरहेका छौँ । सेक्सलाई त आजकल के बनाइदियो, मसँग भन्ने केही शब्द नै छैन । यति तल झारिदियो कि यति महत्वको चिजलाई । सेक्स भन्नेबित्तिकै हामीले सोच्नुपर्ने पहिलो कुरा भनेको सन्तान उत्पादन गर्ने कुरा हो । यसलाई तपाईं मेरो व्यक्तिगत विचार, सामाजिक सोच वा अध्यात्म जे पनि भन्न सक्नुहुन्छ ।
– एकातर्फ हदम्याद हटाउनु हुन्न भन्नुहुन्छ, अर्कोतर्फ लिभिङ टुगेदर वा विवाहअघिको सम्बन्धलाई पनि स्वीकार्दिनँ भन्नुहुन्छ । त्यसो भने कानुनको करेक्सन चाहिँ कसरी हुनुपर्छ ?
अहिले दुई तीनवटा कुराहरुमा कानून संवेदनशील हुनैपर्छ । कानून निर्माताहरु पनि गम्भीर हुनैपर्छ । अहिले जुन एक वर्षको हदम्याद दिएको छ नि त्यो कम भयो वा बढी भयो, त्यो एउटा पक्ष छ । कानूनले के बुझ्नुपर्यो भने यदि हामीले वैवाहिक उमेर हद कम्तिमा २० वर्ष गर्छौं भने त्योभन्दा अघिको यौन सम्बन्धलाई स्वीकार गर्नु हुँदैन । अहिलेको अवस्थामा रहे समाजमा धेरै समस्याहरु आउँछ । कति केटाहरुलाई बलात्कारको मुद्दामा फस्नुपर्छ । मेरो आँखाले हेर्दैछ, त्यो आउँछ दिन कि स्वेच्छाले फिजिकल रिलेसन गर्यो भने कानुन लाग्दैन भन्नुपर्यो, जति नै उमेरको भए पनि।