प्रधानमन्त्रीको कार्यव्यस्तता : संसद छलेर एनआरएनको सेमिनार र व्यापारीको मेलामा – Nepal Press

प्रधानमन्त्रीको कार्यव्यस्तता : संसद छलेर एनआरएनको सेमिनार र व्यापारीको मेलामा

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएनन् । रक्षामन्त्रालयको समेत नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवाले सो मन्त्रालय र प्रधानमन्त्री कार्यालयका लागि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणलाई रोष्टममा बोलाए । प्रधानमन्त्रीको अनुपस्थितिको सूचनासमेत दिएनन् । यत्तिकैमा नेमकिपाका सांसद प्रेम सुवालले नियमापत्ति जनाए । आफ्नो विभागीय मन्त्रालयको बजेटमाथि जवाफ दिन प्रधानमन्त्री नै आउनुपर्ने सुवालको माग थियो ।

‘प्रधानमन्त्रीज्यू किन उपस्थित हुनसक्नुभएन ? बिरामी हुनुभयो कि, विदेश जानुभयो कि कुनै अस्पतालमा भर्ना हुनुभएको छ ? यो गरिमामय संसदमा उहाँ किन आउनुभएन ? सामान्य बैठक देखाएर संसद छाड्न मिल्दैन’, सुवालले भने ।

प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने सुवालको मागलाई सभामुख सापकोटाले हल्का ढंगले किनारा लगाए । ‘संसदलाई जानकारी आएको छ । चिठी आएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले कार्यव्यस्तताका कारण माननीय गृहमन्त्री बालकृष्ण खाणलाई तोकेको व्यहोरा जानकारी गराउँछु’, सापकोटाले भने ।

सभामुखको जवाफमा चित्त नबुझाएका सांसद सुवालले विरोध जनाइरहेपनि माइक अफ भएका कारण उनको धारणा बुझिएन । त्यसपछि गृहमन्त्री खाणले प्रधानमन्त्रीको तर्फबाट संसदलाई जवाफ दिए ।

प्रधानमन्त्री के मा व्यस्त ?

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा कार्यव्यस्तताको कारण देखाएपनि उनी कुनै गम्भीर काममा व्यस्त थिएनन् । प्रतिनिधिसभाको बैठकअघि आजै प्रधानमन्त्री देउवाले चेम्बर अफ कमर्शले आयोजना गरेको व्यापार मेलाको उद्घाटन गरेका थिए ।

सो मेलाको उद्घाटन, सम्बोधन, मायाको चिनो वितरण र सामूहिक फोटो सेसनको कार्यक्रममा समेत प्रधानमन्त्री देउवा उपस्थित रहे । आजै गैरआवासीय नेपाली संघले आयोजना गरेको सम्मेलनको समापनका लागि र्‍याडिसन होटलमा आयोजना हुने कार्यक्रममा पनि प्रधानमन्त्री देउवा सरिक हुँदैछन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले भने प्रधानमन्त्री आजै संसद बैठकमा जाने बताए । ‘संसद बैठकमा अब जानुहुन्छ’, देउवाले यत्ति जवाफ दिएर फोन राखे ।

विनियोजन विधेयकबाहेक एसपीपी सम्झौतालगायका विषयमा पनि संसदमा सबै जसो दलका सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गरिरहेका छन् । आफ्नो मन्त्रालयको बजेटबारे जवाफ दिनसमेत अनुपस्थित भएर प्रधानमन्त्रीले संसदको गरिमामाथि प्रहार गरेको प्रमुख प्रतिपक्षी दलको आरोप छ ।

‘व्यापारी र गैरआवासीय नेपालीको कार्यक्रममा जान जति पनि फुर्सद हुने तर संसदमा जनप्रतिनिधिले सोधेका प्रश्नको जवाफ दिन फुर्सद नहुने । प्रधानमन्त्रीको प्राथमिकता यसैबाट प्रष्ट हुन्छ’, एमालेका एक सांसदले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर