कांग्रेस नवलपरासी विवाद : देवेन्द्रराज कँडेल र देवकरण कलवारमाथि कारबाही माग – Nepal Press

कांग्रेस नवलपरासी विवाद : देवेन्द्रराज कँडेल र देवकरण कलवारमाथि कारबाही माग

रुपन्देही । पश्चिम नवलपरासीको जिल्ला समन्वय समितिकाे निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ ।

कांग्रेसबाट जिसस प्रमुख पदमा उम्मेदवारी दिएका बालिन्द्र विक्रम शाहीले दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् ।

कांग्रेसभित्रबाटै अन्तर्घात भएका कारण हार व्यहोर्नुपरेको दाबी उनले गरेका छन् । सात स्थानीय तह रहेको जिल्लामा कुनै पनि दलको बहुमत नपुगेपछि कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर आवश्यक पर्ने आठ मत पुर्‍याएको कांग्रेसका उम्मेदवार शाही एक मतले पराजित भए ।

प्रमुखबाहेक गठबन्धनका अन्य सबै उम्मेदवारले जितेका छन् । यता पाँच मत रहेको एमालेले एक मत रहेको राप्रपासँग गठबन्धन गरेको थियो । चुनावमा एमालेका प्रमुख पदका उम्मेदवार ७ मत ल्याएर विजयी भएका थिए । पराजित शाहीको ६ मत थियो । चुनावमा प्रमुख पदको एक मत बदर भएको थियो । अर्को एक मतमा अन्य पदमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारलाई भोट दिए पनि प्रमुख र उपप्रमुखमा सूर्य चिन्हमा दिइएको थियो ।

अनुशासन समितिका जिल्ला संयोजक एवं जिल्ला उपाध्यक्ष विक्रम यादवलाई बुझाइएको उजुरीमा गठबन्धनमा रहेका माओवादी केन्द्रका दुई जनप्रतिनिधिले गठबन्धनमै मत दिएको प्रमाण पेश गरेकाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै मत नदिएर पराजित भएको दाबी गरिएको छ ।

नेता कँडेल र कलवारकै निर्देशनमा आफ्नै जनप्रतिनिधि मतदातालाई एमाले गठबन्धनका उम्मेदवारलाई भोट दिन लगाएकाले उनीहरुमाथि छानबिनसहित कारबाही गर्न माग गरिएको हो । पछिल्लो पटक भएको जिसस चुनावमा पनि गुटकै कारण कांग्रेसले हारेको थियाे ।

जिससको प्रमुख पदमा कँडेलले आफ्नो गुटका व्यक्तिलाई उम्मेदवार बनाउन चाहेका थिए । तर, खनाल गुटका उम्मेदवारले टिकट पाएपछि कँडेल गुटले हराउन चलखेल गर्न सक्ने भन्दै कांग्रेसकै मतदातामाथि निगरानी बढाउन थालिएको थियो । गुटकै कारण हार व्यहोर्नु परेको भन्दै अहिले खनाल गुटका कार्यकर्ता नेताद्वय  कँडेल र कलवारप्रति आक्रोशित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर