पैगम्बर मोहम्मद विवादको ‘साइड इफेक्ट’- विरोध गर्नेहरूमाथि भारतीय प्रहरीको पिटाइ – Nepal Press

पैगम्बर मोहम्मद विवादको ‘साइड इफेक्ट’- विरोध गर्नेहरूमाथि भारतीय प्रहरीको पिटाइ

काठमाडौं । हाल भारतीय सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल बनिरहेको छ । भिडिओमा एक भारतीय पुलिसले मुस्लिम युवाहरूको समूहलाई निर्ममतापुर्वक पिटिरहेको देख्न सकिन्छ ।

भिडिओमा देखिएका प्रहरीहरूले बेसबल ब्याटको प्रयोग गर्दै युवाहरुको समुहलाई निरन्तर पिटिरहेका छन् भने पीडित युवाहरु पिडाले छटपटिदै दया याचना गरिरहेका देखिन्छन् । ती युवाहरू भारतको उत्तर प्रदेश राज्यस्थित सहारनपुरका मुस्लिम युवाहरू रहेको बीबीसीले जनाएको छ ।

भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीका एक विधायकले उक्त भिडियोलाई ‘रिटर्न गिफ्ट’ को संज्ञा दिदै आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेसँगै उक्त भिडिओ चर्चामा आएको हो ।

मिडिया रिपोर्टमा उल्लेख भए अनुसार उनीहरूलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । उनीहरूले भारतीय जनता पार्टीकी पूर्वप्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदविरुद्ध दिएको विवादस्पद टिप्पणीको विरोध जनाइरहेका थिए । प्रहरीले उनीहरूमाथि दंगा भड्काएको, शान्ति व्यवस्था खल्बलाएको, प्रहरीलाई आक्रमण गरेको आरोप लगाएको छ ।

तुलनात्मकरूपमा शान्तिपूर्ण तरिकाले सुरू भएको सहारनपुरको प्रदर्शन, प्रदर्शनकारीहरूले केही पसलहरूमा ढुंगा हानेपछि तनावग्रस्त बनेको बिबिसीले जनाएको छ । हालसम्म उक्त घटनामा संलग्न प्रहरीमाथि कुनै कारबाही भने गरिएको छैन । नुपुर शर्माले गत महिना टेलिभिजन बहसको दौरानमा इस्लाम धर्मका प्रवर्तक मोहम्मदको बारेमा आपत्तिजनक टिप्पणी दिएकी थिइन् भने पार्टीको दिल्ली इकाईका मिडिया प्रमुख नवीन जिन्दालले पनि उक्त मुद्दामा उत्तेजक ट्वीट गरेका थिए । उक्त टिप्पणीपश्चात भाजपाले शर्मालाई प्रवक्ताबाट निलम्बन र जिन्दाललाई पार्टीबाटै निष्कासन समेत गरेको छ ।

विशेष गरेर शर्माको टिप्पणीलाई लिएर भारतका अल्पसंख्यक मुस्लिमहरु रुष्ट भएका छन् भने भारत मात्र नभइ संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, इन्डोनेसिया, इराक, माल्दिभ्स, जोर्डन, लिबिया र बहराइनले पनि नुपुर शर्माको टिप्पणीको निन्दा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर