प्रदेश १ मा ‘किरात’ माग्नेहरु अभ्रष्ट, लिम्बुवान माग्नेहरु भ्रष्ट भन्ने हुँदैन
लेखक राजन मुकारुङ लामो समयदेखि पहिचानको आन्दोलनमा अभियन्ताको रुपमा सक्रिय छन् । दुई दशकअघि सृजनशील अराजकता साहित्यिक आन्दोलनमार्फत सीमान्तकृत, किनाराकृतहरुको आवाजलाई मुखरित गरिरहेका मुकारुङको आधा दर्जनभन्दा बढी कृतिहरु सार्वजनिक भएका छन् । उनका ‘दमिनी भीर’, ‘हेत्छाकुप्पा’ उपन्यास चर्चित छन् ।
लेखक मुकारुङले पछिल्लो समय खेपेको एकै प्रश्न चाहिँ के हो भने ‘पहिचानको आन्दोलन कमजोर भयो, पहिचानको आन्दोलन भ्रष्टिकरण हुँदै गयो’ भन्ने हो । के पहिचानको आन्दोलन कमजोर हुँदै गएको हो त ? के पहिचानको आन्दोलन केही सीमित स्वार्थ समूहको खल्तीमा पुगेर भ्रष्टिकरण भएकै हो त ? यिनै सवालउपर नेपालप्रेसकर्मी नवीन काजी राईले लेखक मुकारुङसँग गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय मानिसहरुले पहिचानको आन्दोलनमा अपनत्व महसुस गर्न नसकेको भनेर गुनासो गरिरहेका छन् । पहिचानको आन्दोलनले पछिल्लो समय मानिसहरुलाई अपनत्व महसुस गराउन नसकेको हो र ?
उत्पिडितहरुको, सीमान्तकृतहरुको आन्दोलन नै पहिचानको आन्दोलन हो । यो परिचयको आन्दोलन हो । यो आन्दोलन कुनै बेला जाति, समुदायमा गएर प्रधान हुन्छ । यो कुनै बेला वर्गमा गएर प्रधान हुन्छ त कुनै बेला लैंगिक सवालमा गएर प्रधान हुन्छ । कुनै बेला क्षत्रीय सवालमा गएर प्रधान हुन्छ । पहिचानको आन्दोलनको चरीत्र हो यो । हामीले यो चरीत्रलाई बुझ्न सकेनौं, आत्मासात गर्न सकेनौं भने पहिचानको आन्दोलन बुझ्न सक्दैनौं ।
यसका टर्महरु हुन्छन् । समय सन्दर्भहरुले कतिबेला कसलाई उद्देल्लित गराउँछ, कसलाई अलिकति आवेगमा ल्याउँछ, कसले अलि बढी छटपटाहट भएको महसुस गर्छ भनेर विश्लेषण, संश्लेषण गर्न सकियो भने आन्दोलन ठीक ढंगले अगाडि जान्छ । गइरहेकै छ ।
हरेक मान्छेले खोजेको भनेको उत्पिडनबाट मुक्ति, अधिकार प्राप्ति, राज्यका सन्दर्भमा समान सहभागिता र समान मनोविज्ञान हो । सबैभन्दा ठूलो कुरा भनेको मनोविज्ञान होे । आर्थिकरुपले मात्रै विकास भएर हुन्न । चेतनाको पनि विकास हुन सक्नुपर्छ । त्यो भयो भने मात्रै आन्दोलनमा अपनत्त्व फिल हुन्छ ।
आन्दोलन एकै गतिमा र लयमा नजाँदो रहेछ । त्यसलाई उही रफ्तार र गति दिनलाई के गर्नुपर्छ ?
कुनै बेला अन्तर्राष्ट्रिय आन्दोलनको चरीत्रले प्रभाव पार्छ । कुनै बेला मुलुकभित्रकै अवस्था र वातावरणले प्रभाव पारिदिन्छ । तर, भइरहेको आन्दोलन त आन्दोलन नै हो । चाहे महिलाहरुले हकहित, हिंसाविरुद्ध गरेको आन्दोलन होस् या दलितहरुले आफ्नो जात व्यवस्थाविरुद्ध गरिरहेको आन्दोलन । दलितहरुले जात व्यवस्थाकै कारण हामी उत्पिडनमा पर्यौं भन्ने फिलका साथ आवाज बुलन्द गरिरहेका छन् । क्षत्रीयरुपमा सुदूरपश्चिम दूरदराजको हुनाले हामी राज्यभन्दा टाढा छौं भनेर गरेको आन्दोलन हाेस् या मधेसमा उठिरहेको हामीलाई पहाडीयाले अर्को दृष्टिकोणले हेर्छ भन्ने आवेग होस् अथवा भाषागत, सांस्कृतिक, लैंगिक रुपमा उत्पिडित फिल गरेकाहरुले गरेको आन्दोलन होस्, त्यहाँ पहिचान नै जोडिने हो । समग्रमा यो समानता, सहअस्तित्वको आन्देलन हो ।
पहिचानको आन्दोलन जातिवादी भयो, सम्प्रादायिक भयो भनेर कसले आलोचना गर्यो त ? आलोचना गर्ने वर्ग कुन हो ? तप्का कुन हो ? उसको जात के हो ? धर्म के हो ? उसको संस्कारिक चेत के हो ? खोजियो भने भेटिन्छ कसले त्यस्तो भाष्य निर्माण गरिरहेको छ भनेर । जसले उग्र जातिवाद भो, अतिवाद भने भनेर भनिरहेको छ, उसको जात हेरौं न ! वर्ग र तप्का हेरौ न ! त्यहाँ प्रष्ट भइहाल्छ । भाष्य कसले निर्माण ग¥यो र त्यो भाष्यलाई प्रोभोक क–कसले गरिरहेका छन् भन्ने महत्वपूर्ण कुरा हो ।
तर कुनै कुनै बेला भइदिएको के छ भने घटनाक्रमहरुमा आन्दोलन मिसिँदाखेरि सामान्य मानिसहरुले हाम्रोलाई हेर्न थाले । त्यसरी हेर्दा गलत चरीत्र पनि ‘हाम्रो’ हुँदा समुदायमा बच्ने स्थिति बन्यो । रियालिटी शोहरुमा हेरौं । नाच्ने, गाउने जस्तो होस्, आफ्नो जातको हो कि होइन, आफ्नो क्षेत्रको हो कि होइन भनेर हेर्छौं । संजालमा हाम्रोलाई भन्दा राम्रोलाई जिताऔं भन्छौं । किन त्यसो भन्नु परेको सबैले ? किनभने राम्रो प्रतिभा आउट नहोस् है भनेको हो । तर त्यो मान्छे पनि हाम्रो नै खोजेर हिँडिरहेको हुन्छ । अब फिलिङस् त छ नि त्यहाँ । पहिचानको आन्दोलन त्यसरी समुदाय, क्षेत्र हुँदै गएर व्यक्तिमा पनि पुग्छ ।
भइदिएको के छ भने बढी प्रधानता चाहिँ पछिल्लो समय हाम्रो जति सबै राम्रो भन्नेमा छ । सांस्कृतिक जडता नै छ भने पनि राम्रो भनेर यसरी ट्रिट गरिरहेका छन् कि त्यसले मेरो सबै विशिष्ट भन्ने स्थापित गर्छ । मेरो जति सबै विशिष्ट हो भन्नसाथ त्यसले दम्भ पनि निर्माण गर्छ । त्यो दम्भले पनि काम गरिरहेको छ कोहीकोही बेला । त्यो चाहिँ पहिचानको आन्दोलनको लागि घातक छ । हाम्रो जति सबै राम्रो होइन, नराम्रोलाई नराम्रो नै हो भन्ने चेत विकास भइसकेपछि आन्दोलन अगाडि जान्छ ।
मान्छेहरु भन्छन् कि पछिल्लो समय जनजातिहरुमा जातीवाद, सम्प्रादायिकतावाद हावी हुँदै गएको छ । अरुको अस्तित्व र पहिचानलाई स्वीकार्न नसकिरहेको भनेर आलोचना हुने गरेका छन् । यस्तो किन भइरहेको छ ?
सांस्कृतिक, सम्प्रादाय, जातिगतरुपमा यो मेरो संस्कृति, सभ्यता हो भनेर भन्न किन नपाउने ? पाउने ! सहअस्तित्वको फिलबाट मेरो संस्कृति, सभ्यता मेरो जातिको गर्व र गरिमा यो हो भनेर भनियो भने अरुलाई डोमिनेट गर्नु पर्दैन । तर, दम्भ पालिनु हुन्न, गर्व र गरीमा मात्रै गरिनुपर्छ । अब त्यो मान्छे हाम्रो रहेछ, त्यसकरण उसलाई जे अपराध गरे पनि छुट छ भन्न थालियो भने त्यसले सहअस्तित्व निर्माण गर्दैन । जो मान्छे पीडित छ, ऊ भएको ठाउँमा म भएको भए के हुन्थ्यो होला भनेर भनियो भने न्यायको उत्तर आउँछ ।
उग्र जातिवाद र सम्प्रादायिकतावादले अतिवादतिर लैजान्छ । त्यसको कारक चाहिँ पहिचानको आन्दोलन भनेर मान्छेहरुले आन्दोलनलाई आलोचना गरिरहेका छन् ?
कसले आलोचना गर्यो त ? आलोचना गर्ने वर्ग कुन हो ? तप्का कुन हो ? उसको जात के हो ? धर्म के हो ? उसको संस्कारिक चेत के हो ? खोजियो भने भेटिन्छ कसले त्यस्तो भाष्य निर्माण गरिरहेको छ भनेर । जसले उग्र जातिवाद भो, अतिवाद भने भनेर भनिरहेको छ, उसको जात हेरौं न ! वर्ग र तप्का हेरौ न ! त्यहाँ प्रष्ट भइहाल्छ । भाष्य कसले निर्माण गर्यो र त्यो भाष्यलाई प्रोभोक क–कसले गरिरहेका छन् भन्ने महत्वपूर्ण कुरा हो ।
यदि मधेसको कुनै एक दलित परिवारमाथि कुनै सिंगो पन्चायत सभा बसेर उसलाई दण्ड सजाय दिइयो । त्यो नेपालको कानुनत भने ठीक थिएन । तर, उसको आवाजलाई बुलन्द गरिरिदने माध्यम के छ त ? त्यो माध्यमले के मान्छ ? पत्रिकाले के गर्छ भने पत्रिका पढ्ने त त्यो पंचायत हुन्छ । त्यो पीडित भन्ने दलित त उसको पहुँचमा पुग्दैन । अनि पत्रिकाले के सोच्छ भने पढ्ने वर्ग यो हो, यसलाई विच्काउनु हुँदैन । भाष्य कसरी निर्माण हुन्छ भने त्यो मनोविज्ञानबाट निर्माण हुन्छ । यी सबै गज्याङगुजुङमा दलाल पूँजीवादी चिन्तन हावी हुन्छ ।
हामी सिकिरहेका छौं । आफ्नो सभ्यता विकास गर्ने क्रममा समुमदायको मनोविज्ञान सिकाइ प्रक्रियामै भइरहेको हुन्छ भनेर जाने हो भने त्यहाँ न जातिवाद हुन्छ, न उग्र सम्प्रादायिकता हुन्छ । हामीमा उग्रता आएका छन् । उग्र नारा छन् । राज्यले सानो स्वरमा बोल्दा, सरल भाषाबाट मधुरतम ढंगले भन्दा चासो नदिने भएकाले कडा तरीकाले भन्दा चासो दिन्छ । केही उग्रता आउनुपछिको कारण केके हो भनेर खोज्ने हो भने यतैकतै उल्झन छ नि त ।
पहिचानको आन्दोलन चाहिँ समूहगत, व्यक्तिगत स्वार्थहरुको नियन्त्रणमा हुनथाल्यो । पहिचानको आन्दोलन भ्रष्टिकरण हुँदै गइरहेको परिदृश्य छ भनेर मान्छेले प्रश्न तेर्साइरहेका छन् ।
जसले प्रश्न गरिरहेको छ, उसले नेतृत्व किन नगरेको भन्ने हो । हामीले भ्रष्टहरुलाई नै छाडिदिउँ नि त आन्दोलन ! उनीहरुलाई नै जिम्मा दियौं नि त ! जनजाति महासंघ भन्ने आदिवासी जनजातिको साझा भनिएजस्तो संस्था छ । तर, त्यसको कमिटीमा बस्न किन पोलिटिकल मान्छेहरुलाई जिम्मा दिएको त ? किन उनीहरुलाई नै जिताएको त हामीले ? कांग्रेसको अध्यक्ष भए एमालेको उपाध्यक्ष लगायत बाँडफाँड गर्न किन हामीले दिएको त ? कमजोरी त हामी आफैंले गरेका छौ । छान्दाखेरि त्यस्तै मान्छे छान्ने, अनि भ्रष्टिकरण भयो भनेर पनि हुँदैन होला ।
पहिचानको लागि म लड्न तयार छु, यसरी उठेर, जागेर आएँ भनेर अशोक राईलाई किन नजिताएको हामीले ? जिताएर पठाउन सकेनौं नि त ! भ्रष्टलाई नै जिम्मा लगाएर प्रश्न गर्नु उचित हुँदैन । जसले भ्रष्टिकरण भन्छ, त्यसले नै नेतृत्व गर्ने हिम्मत गर्नुपर्यो । यसलाई निमूल पार्छु भनेर आउनुपर्यो ।
भ्रष्टिकरणकै कुरा गर्दा प्रदेश एकको नामांकनबारे अनेक बहस र छलफल भएका छन् । मान्छेहरु भन्छन् कि यदि पहिचानको आन्दोलन यसरी भ्रष्ट भएर नगएको भए सम्पूर्ण आदिवासी जनजाति प्रदेश एकको नामांकनको विषयमा यसरी कित्ताकाँट हुने थिएनन् होलान् । सामुहिक पहिचानको सवालमा किरात प्रदेशमा एक ठाउँमा उभिन्थो होला भनेर भन्छन् ।
यहाँनेर के सोच्नुपर्ने हुन्छ भने हामी साझा प्राप्ति सोच्ने कि नसोच्ने ? अर्कोतिर एक नम्बर प्रदेश पहिचानको आन्दोलन भ्रष्टिकरण नभएको भए किरात प्रदेश हुन्थ्यो होला । एक नम्बर प्रदेश किरात प्रदेश हुनुपर्छ भन्ने मात्रै अभ्रष्ट र एक नम्बर प्रदेशमा लिम्बुवान पनि हुन्छ, खम्बुवान पनि हुन्छ, कोइँच पनि हुन्छ, अथवा कोचिला प्रदेश पनि हुन्छ भन्ने चाहिँ भ्रष्ट हुन् भनेर पनि बुझ्नु हुँदैन ।
एक नम्बर प्रदेशमा लिम्बुवान भन्ने शक्ति पनि छ । इतिहासदेखि अहिलेसम्म एउटा अस्तित्वको रुपमा छ । त्यसलाई सम्बोधन गर्दा के हुन्छ ? एउटा तप्काले किरात नै भनेर पेलेरै जानुपर्छ भन्ने चाहिँ के छ ? जब पेलेर जाने कुरा हुन्छ, त्यहाँ सहअस्तित्व स्वीकार हुँदैन । त्यहाँ विस्तारवाद हावी हुन्छ । त्यहाँ उपनिवेशवाद लाग्छ । पहिचानको आन्दोलनले विरोध गर्ने भनेको फेरि सम्राज्यवाद, विस्तारवाद, उपनिवेशवादकै हैन त ?
आफूलाई किरात भनेर भन्छु भन्नेले लिम्बुवान, शेर्पा, कोचिला पनि छ भनेर किन एकपटक नसोच्ने ? बरु त्यसलाई साझा कसरी बनाउन सकिन्छ भनेर व्यपक बहस किन नगर्ने ? यहाँ साझा विन्दु खोज्नतिर बहस नभएकै हो । म किरातको पक्षमा छु, एक नम्बर प्रदेश किरत नै हुनुपर्छ भन्नु वाइह्यात हो ।
तर, रिसर्चहरुले त प्रदेश एक पर्ने अधिकांश आदिवासीहरु किरात नै हुन् भनेर प्रमाणित गर्दै गएको स्थिति छ ।
जब त्यो सभ्यताभित्र हामी पर्दैनौं है भनेर भनिसकेपछि हामीले बहस त गर्नुपर्यो नि ! रिसर्च कसले कुन एंगलबाट गरिरहेका छन् भन्ने कुरा हो । हिजो यस्तो लेखिएको थियो भनेर त्यसलाई मात्रै आधार बनाइरहेका छौं । हामीले त मनोविज्ञानलाई बुझ्नुपर्छ । कुनै पनि क्षेत्रमा बसोबास गरिरहेका मानिसको साझा मनोविज्ञान चाहिँ के छ भन्नेतिर लागेनौं । इतिहासकार बाबुराम आचार्यले के लेखे, के जाति रेग्मीले के लेखे भन्नेलाई बढी आधार बनाइरहेका छौं । यो राम्रो होइन ।
साझा मनोविज्ञानन निर्माण गर्न सक्यौं कि सकेनौं भन्नेतिर चाहिँ प्रश्न सोझिनुपर्छ । हाम्रो छुट्टै संस्कृति छ, भाषा छ है भन्दै गर्दा उसको कुरा सुनुवाइ हुने कि नहुने ? बहस हुनुपर्छ, छलफल हुनुपर्छ । अगाडि त केके थियो के के नि ! त्यसलाई मात्रै आधार बनाउने हो भने वर्तमान उन्नत बन्दैन । पहिचानको आन्दोलन साझा मनोविज्ञान निर्माण गरौं भन्नेमै केन्द्रित हुन्छ । त्यसो गर्न सकेनौं भने अस्तित्वमा भएको छुट्टै मनोविज्ञानलाई स्वीकार गर्न सक्नुपर्छ । अनि मात्रै हामीले पहिचानको कुरा उठाउन सक्छौं ।
पछिल्लो समय पहिचानको आन्दोलन सुस्त छ । अब आन्दोलनले गति लिएर अगाडि बढेमा आन्दोलनको गन्तव्य र गति, संरचना चाहिँ कस्तो हुनुपर्ला ? अहिले त मानिसहरुले अतिवादउन्मुख भयो भनेर आलोचना मात्रै गरेको देखिन्छ ।
पहिचानको आन्दोलनमा अतिवाद र उग्रवाद छैन । कसै कसैलाई त्यस्तो लाग्न सक्छ । के चाहिँ छ भने मेरो समुदाय चाहिँ बच्नुपर्छ, उसले न्याय पाउनुपर्छ । कुनै समुदायको दुईजना मान्छेले राजन मुकारुङलाई आक्रमण गर्दा समुदाय भावुक त हुन्छ नै । त्यो भाववुकतालाई कसरी परिभाषित गर्दै लैजाने भन्ने प्रमुख हो । त्यो गहिरो डिस्कोर्स र व्यापक छलफलबाट हुन्छ ।
अहिले हामीलाई सामाजिक संजालले सजिलो बनाइदियो । भ्याट्ट लागेको कुरा ड्यांग राखिदियो । त्यसले तरंग आयो । सेयर होला, कमेन्ट आउला । त्यसले आनन्द दियो । हामी नाटक, सिनेमा, गीत हेर्छाै । मान्छेहरुले पोजिटिभ भाइब्सको पात्रभन्दा नेगेटिभ भाइब्सको पात्रलाई किन रुचाइरहेका छन् ? समाजमा ऊ गलत पात्र हो भनेर थाहा छ, तर उसले हसाउँछ । अब गलत भए पनि उसलाई मनपराइदिनुपर्ने किन ? हामीले त्यस्तो मानसिकता विकास गर्यौं । गलत त गलत हो नि !
हामी पछिल्लो समय यो ठीक होला कि त्यो ठीक होला भनेर संक्रमणकालीन मनोदशाबाट गुज्रिरहेका छौं । यसलाई व्यापक रुपमा दलाल पूँजीवादले प्रयोग गरिरहेको छ । त्यसलाई खुट्याउन जरुरी छ । पटकपटक मधेसी समुदायबाट आफूहरुलाई हियाएको भनेर सन्दीप क्षत्रीलाई अल्टिमेटम दिएकै हो । तर उसले अहिलेसम्म माफी मागेको छैन । उसले अझैं त्यसलाई बेचेर खाएरहेको छ । दलाल पूँजीवादले त्यसलाई बेचेर पूँजी आर्जन गर्ने रुपमा लिइरहेको छ । खुराकको रुपमा लिइरहेको छ । सिंगो समुदायले गलत ढंगले प्रस्तुत भयौ भनेर प्रश्न गरिरहेको छ, तर उसले सुनुवाइ गरिरहेको छैन । हामी आफैं मैले भनेको कुरा चाहिँ ठीक भन्नेतिर गयौं । आएका प्रश्नलाई वास्ता नगर्नेतिर गयौं । डिस्कोर्समा सहभागी नहुने भयौं । त्यसो हुँदा भ्रष्टिकरण अरुले होइन, हामी आफैंले गरेका हौं । हामीले प्रश्न गरेनौं । समीक्षा पनि गरेनौं । आएको प्रश्नहरुलाई सोचेनौं ।
०००