सांसदले बनाइन् छोरालाई स्वकीय सचिव, जेल पर्दा पनि तलब बुझेको खुलासा – Nepal Press

सांसदले बनाइन् छोरालाई स्वकीय सचिव, जेल पर्दा पनि तलब बुझेको खुलासा

विराटनगर । प्रदेश १ सभा सदस्य विन्दिया कार्कीले छोरालाई स्वकीय सचिवमा नियुक्त गरी सेवा सुविधा लिएको खुलेको छ । विन्दिया नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

प्रदेशसभा सदस्य कार्कीले २०७५ जेठ २ गतेबाट २४ वर्षका छोरा रविनसिंह कार्की ‘रोबिन’ लाई स्वकीय सचिवमा नियुक्त गरेकी हुन् ।

प्रदेशसभा सदस्यको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐनमा हरेक सदस्यले राजपत्र अंनकित प्रथम श्रेणी (नासु) सरहको तलब पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । ऐनले स्वकीय सचिव नियुक्त गर्न कुनै मापदण्ड भने तोकेको छैन ।

प्रदेशसभा सचिवालयबाट प्राप्त जानकारीअनुसार पत्र अनुसार स्वकीय सचिव कार्कीले २०७५ जेठ २ गतेबाट दुई आर्थिक वर्ष २०७७।०७८ र ०७८।०७९ मा गरी कुल ७ लाख ७७ हजार ३ सय ४८ रूपैया बुझिसकेका छन् ।

सांसद कार्कीको छोरा सवारी ज्यान मुद्दामा पक्राउ पर्दा समेत तलबभत्ता लिएको पाइएको छ ।

२० जेठ २०७८ बेलुका साढे ७ बजे विराटनगर एयरपोर्ट मोडमा कार्कीले चलाएको गाडी दुर्घटना भएको थियो । प्रदेश ३-०१-०२२ च २१३९ नम्बरको कारले ठक्करबाट भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो । मोरङ कटहरीका राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।
ठक्कर दिने कार सांसद कार्कीका छोरा (स्वकीय सचिव) रोबिन भनिने रविनसिंह कार्कीले चलाएका थिए ।

जिल्ला अदालत मोरङले न्यायाधीश सुदर्शन लामिछानेको इजलासले असोज १३ गते मादक पदार्थ सेवन गरी सवारी चलाएको ठहरसहित ३ वर्ष कैद र ३५ हजार हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।

तीन महिनापछि २० पुस २०७८ मा उच्च अदालत विराटनगरले जिल्लाको फैसला केही उल्टाउँदै ६ महिना १५ दिन कैद र २ हजार रुपैयाँ जरिबाना तोक्यो ।

राजनीतिक पहुँचमा उनले सजायको अधिकांश समय जेलमा भने बसेनन् । प्रहरी हिरासतको समयदेखि स्वास्थ्य समस्या देखाएर नोबेल मेडिकल कलेज बसेका कार्की अदालतको आदेशपछि केही दिन कारागार बसे, त्यसपछि २९ भदौ २०७८ मा पुनः नोबेल मेडिकल कलेजमा ‘उपचारका लागि’ भर्ना भए । त्यसयता भने उनले कारागार जानै परेन ।

गएको मंगलबार उच्च अदालतको फैसला पछि अस्पतालबाटै कैद मुक्त भए । कार्कीको सुरक्षाका लागि प्रशासनले तीन जना सुरक्षाकर्मी अस्पतालमा आलोपालो ड्युटीमा खटाएको थियो । तर, प्रदेशसभा सचिवालयबाट सो समयमा पनि उनले स्वकीय सचिवको नामबाट तलब बुझेको पाइएको छ ।

२० जेठ २०७८ मा भएको दुर्घटनापछि फरार भएका कार्की तीन दिनपछि २३ जेठ २०७८ मा पक्राउ परेका थिए । १६ असार २०७८ मा जिल्ला अदालत मोरङले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

जिल्ला कारागार मोरङका अनुसार कार्कीले २८ भदौ २०७८ मा ‘छाती दुख्ने समस्या भएकाले निजी खर्चमा नोबेल मेडिकल कलेज उपचार गर्न पाउँ’ भनेर निवेदन दिएका थिए । भोलिपल्ट भदौ २९ गते कारागारको पत्रसहित नोबेल मेडिकल कलेजको ‘सेमी डिलक्स’ रूममा भर्ना भए । राजनीतिक पहुँचका कारण कारागार प्रशासनले उनलाई फिर्ता लैजाने आँट पनि गरेन ।

नोबेल मेडिकल कलेज स्रोतले भदौ २९ गते भर्ना भएका कार्की मंगलबार अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर