७ करोडको जग्गा कीर्ते गरी ठगीमा संलग्न ५ जना पक्राउ – Nepal Press

७ करोडको जग्गा कीर्ते गरी ठगीमा संलग्न ५ जना पक्राउ

काठमाडौं । सात करोडको जग्गा कीर्ते गरी ठगी गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालय मातहत रहेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई फरक-फरक ठाउँबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका- ७ घर भई काठमाडौंको टोखा नगरपालिका- ८ बस्दै आएका ५६ वर्षका महावीर चन्द मनमैजुबाट असार १ गते, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ४ घर भई ललितपुरको सुनाकोठी बस्दै आएका ४१ वर्षका गणेशबहादुर खनाल सोही दिन चितवनको भरतपुरबाट पक्राउ परेका हुन् । खनाल यस कार्यका मुख्य योजनाकार हुन् । साथै उनले खरिदकर्ता खोज्ने र आर्थिक कारोबार व्यवस्थापन गर्दै आएका थिए ।

यस्तै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका- १ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका- २ भंगालमा बस्दै आएका ४० वर्षका बाबुराम कार्की पनि असार १ गते नै चितवनको भरतपुरबाट पक्राउ परेका थिए । उनी मुख्य योजनाकार र नक्कली कागजात बनाउने, मिलाउने र मालपोत समन्वयकर्ताको भूमिका निर्वाह गर्दै आएका थिए ।

नुवाकोटको तारकेश्वर गाउँपालिका- १ घर भई हाल काठमाडाैं महानगरपालिका- १६, बनस्थली बोहराटार बस्दै आएका ४६ वर्षीय प्रेमप्रसाद खनाल काठमाडौंकै बनस्थलीबाट पक्राउ परेका छन् । उनी खरिदकर्ता खोज्ने मध्यस्थकर्ता एवम् विचौलियाको भूमिका निर्वाह गरिरहेका थिए ।

यस्तै काठमाडाैंको तारकेश्वर नगरपालिका- २ घर भई  हाल काठमाडौं महानगरपालिका- १६ बनस्थली बस्दै आएका ५८ वर्षीया ममता भन्ने डासीमाया श्रेष्ठ काठमाडौंकै बनस्थलीबाट पक्राउ परेकी थिइन् । उनी खरिदकर्ता खोज्ने मध्यस्थकर्ता तथा विचौलियाको भूमिकामा थिइन् ।

उनीहरु पाँचै जनाबाट विभिन्न व्यक्तिका नाममा जारी गरिएका नक्कली नागरिकता चार थान, नक्कली तारानिधि लोहनीको नामको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि एक थान, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी पुर्जाको प्रतिलिपि ७ थान, विभिन्न व्यक्तिको नाममा जारी भएका जग्गाधनी दर्ता श्रेस्ता, पुर्जा तथा जग्गाको नक्साको प्रतिलिपि १२ थान नियन्त्रणमा लिइएको छ ।

यस्तै विभिन्न व्यक्तिको अटो तथा पासपोर्ट साइजको फोटो ६० थान, विभिन्न कम्पनीका मोबाइल सेट १४ थान र विभिन्न सेवा प्रदायकको सिम कार्ड २९ थान जसमा तारानिधिको नामको सिमसमेत नियन्त्रणमा लिइएको छ ।

विभिन्न स्थानका अन्दाजी ४ विघाहा जग्गा विभिन्न कीर्ते कागजातको आधारमा नक्कली कम्पनी तथा जग्गाधनीसमेत खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिलाई ठगी गर्ने तयारी गरेको पाइएको ब्यूरोका प्रवक्ता  उपनिर्देशक श्यामकुमार महतोले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “७ करोडको जग्गा कीर्ते गरी ठगीमा संलग्न ५ जना पक्राउ

  1. राम्रो काम सरकार ले गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *