नेपालका कल सेन्टरबाट ‘कम्प्युटर बनाई दिन्छु’ भन्दै अमेरिकी नागरिकका बैंक खातासम्म पहुँच
काठमाडौं । कम्प्युटर बिग्रिएको छ भन्दै बैंक खातासम्म पहुँच राख्ने गरेको आरोपमा कल सेन्टरका सञ्चालकसहित १३ जना पक्राउ परेका छन्।
भारतीय गिरोहसँग मिलेर उनीहरूले विकसित देश खास गरी अमेरिकामा बस्ने निवित्त र ज्येष्ठ मानिसहरूलाई प्रभावमा पार्ने र बैंक खातामा पहुँच राखी लाखौँ डलर झिक्ने गरेको आरोप लागेको छ। पक्राउ पर्नेमा ८ पुरुष, ५ महिला र दुई भारतीय नागरिक रहेका छन्।
प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार काठमाडौंको धुम्बाराहीस्थित अर्बिट नेक्सस प्राली नामक आइटी कम्पनीमार्फत उनीहरूले यो धन्धा सञ्चालन गर्दै आएका थिए। यो कम्पनी सुरु भएको २ महिना मात्र भएको थियो।
पक्राउ पर्नेमा अर्बिट नेक्सस प्रालीका सञ्चालक काठमाडौंको बुढानीलकण्ठका ३३ वर्षीय विजय श्रेष्ठ, काठमाडौंको सामाखुसी बस्ने भारतको महाराष्ट्रका ३२ वर्षीय निसान खैरे र सामाखुसी नै बस्ने भारतको उत्तर प्रदेशका २४ वर्षीय मनिष तिवारी रहेका छन्।
कल सेन्टरमा तिवारीले कार्यरत कर्मचारीको मनिटरिङ गर्ने र खैरेले कर्मचारीले प्राप्त गरेको डाटा भारतमा रहेर काम गर्ने गिरोहलाई उपलब्ध गराउँदै आएका थिए।
दुवै भारतीय नागरिक काठमाडौंमा कम्तीमा चार तारे होटेलमा बसेर काम गर्दै आएका थिए ।
यसरी हुन्थ्यो काम
अर्बिट नेक्सस प्रालीमा रातको समयमा कल सेन्टर सञ्चालन हुन्थ्यो ।
भारतमा रहेको गिरोहले अमेरिकामा बस्ने नागरिकको कम्प्युटर, ल्यापटपमा तपाईँको डिभाइसमा समस्या रहेछ यो नम्बरमा फोन गर्नुभन्दै आफू माइक्रोसफ्टको भए जसरी फोन नम्बरसहितको स्क्याम पठाउने गरेको ब्युरो प्रमुख नविन्द अर्यालले जानकारी दिए।
‘माइक्रो सफ्टबाटै सूचना आएको भनेपछि मानिसहरूले फोन गर्ने र कुनै समस्याहरू देखाउँदै विश्वासमा पारेर उनीहरूको बैंक खातासम्म पहुँच राखेको पाइयो। त्यसरी फोन गर्दा नेपालको कल सेन्टरमा आउने रहेछ। नेपालमा बसेर सुपर भाइजरको काम गर्दै आएका खैरेले कल सेन्टरका कामदारले जम्मा गरेको बैंक खातालगायतका जानकारीहरू भारतमा बस्ने समूहलाई उपलब्ध गराउने रहेछन्’, एसएसपी अर्यालले भने।
कल सेन्टरका सञ्चालक श्रेष्ठ र दुवै भारतीय नागरिकले धन्धा सञ्चालन गर्ने उद्देश्यले नेपालमा दुई महिना अघि काम थालेको अनुसन्धान अधिकारीहरू बताउँछन्।
‘व्यापारिक पृष्ठभूमिका श्रेष्ठले यो कम्पनी सुरु गर्नु पछाडि धन्धा गर्नकै लागि देखिन्छ। पीडित अमेरिकामा भएपछि उजुरी नपर्ने र सजिलै काम गर्न सकिन्छ भन्ने उनीहरूको बुझाई हुन सक्छ। तर भारतलगायतका विभिन्न देशमा यस्ता घटनाहरू भइरहेकाबारे जानकार थियौँ। त्यसैले सूक्ष्म रूपमा अनुसन्धान अगाडि बढाएका थियौँ, प्रहरी निरीक्षक बुद्धि सुवेदीले भने।
प्रहरीले कल सेन्टरबाट करिब एक सयभन्दा बढी अमेरिकी नागरिकसँग सम्पर्क भइसकेको तथ्याङ्कसमेत फेला परेको दाबी गरेको छ।