निर्वाचन घोषणा नहुँदै उम्मेदवारी घोषणाको लहर, स्वतन्त्रहरू संगठित गर्दै सुमन सायमी – Nepal Press

निर्वाचन घोषणा नहुँदै उम्मेदवारी घोषणाको लहर, स्वतन्त्रहरू संगठित गर्दै सुमन सायमी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले शानदार जित हासिल गरेसँगै आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उम्मेदवार बन्ने होड चलेको छ । खासगरी राजधानी काठमाडौंका विभिन्न क्षेत्रबाट थुप्रै युवाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरिरहेका छन् ।

ठूला र शक्तिशाली दलहरुलाई पाखा लगाउँदै बालेन्द्र काठमाडौंको महानगरमा विजयी हुँदा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि उल्लेख्य मत ल्याए । आँखीझ्याल चुनाव चिन्हबाट झण्डै १५ हजार मत ल्याउन सफल भएपछि उनले त्यसबेलै आगामी प्रतिनिधिसभामा पनि उम्मेदवार बन्ने घोषणा गरेका थिए । सोहीबमोजिम सायमीले अहिल्यैबाट आफ्नो चुनावी अभियान थालेका छन् ।

काठमाडौंको क्षेत्र नम्बर ८ का स्थायी बासिन्दा सायमीले सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका हुन् । काठमाडौंको कोर एरियाभित्र पर्ने यो निर्वाचन क्षेत्रमा उनको राम्रो प्रभाव देखिएको छ । यसर्थ आगामी प्रतिनिधिसभा चुनावका उनी एक ‘सिरियस क्यान्डिडेट’ हुन् ।

काठमाडौंको सम्पदा संरक्षणमा लामो समयदेखि क्रियाशील छन् सायमी । यसैगरी बाटो चौडा गर्ने नाममा काठमाडौंवासीका घर जथाभावी भत्काइएकोविरुद्ध उनले सडक आन्दोलनका लागि न्यायिक लडाइँ पनि लडे । यसर्थ काठमाडौंका रैथाने नेवार समुदायको उल्लेख्य मत उनले ल्याउने अनुमान छ । यद्यपि चुनाव आउन अझै धेरै समय बाँकी रहेकाले त्यसबेलासम्मको माहोल अहिले नै अनुमान लगाउन सकिँदैन ।

सायमी यतिबेला आफूले चुनाव जित्ने ध्याउन्नमा मात्रै छैनन्, अरु स्वतन्त्र उम्मेदवारहरुलाई पनि संगठित गर्न लागिपरेका छन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा गर्ने तयारीमा रहेकाहरुसँग उनको निरन्तर छलफल भइरहेको छ ।

सायमीले स्वतन्त्र उम्मेदवारी दिएकाहरु विचारका आधारमा एकजुट हुन खोजेको बताए ।

उनले भने, ‘हामीले स्वतन्त्र उम्मेदवारका रुपमा उठेर दलीय व्यवस्थालाई चुनौती दिन खोजेका होइनौं । न त यो राजनीतिक प्रणाली उल्टाउने नै ध्येय छ । यही प्रणालीभित्र संविधानले दिएको सुविधा उपयोग गरेर विकृत राजनीतिलाई शुद्धीकरण गर्ने मनसाय लिएका छौं ।’

गत स्थानीय चुनावको मत परिणामसँगै सायमी काठमाडौंका मेयर बालेन्द्र साहसँग निकट भएका थिए । उनी बालेन्द्रको विजय जुलुसमा पनि सहभागी भए । त्यसयता पनि उनीहरुबीच पटक–पटक छलफल भएको छ । यस्तै आफूले धरान उपमहानगरमा स्वतन्त्रबाट जितेको मेयर हर्क साम्पाङसँग पनि छलफल गरिरहेको सायमीले जानकारी दिए ।

सायमी भन्छन्, ‘स्वतन्त्रले चुनाव जित्दा कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र ढंगले जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने काठमाडौं र धरानमा समेत देखिएको छ । यो स्पिरिटलाई संसदीय चुनावमा पनि निरन्तरता दिनुपर्छ भन्ने हाम्रो सोच हो ।’

सामयीले स्वतन्त्र उम्मेदवारहरुको पनि मापदण्ड बनाउनुपर्ने धारणा राखेका छन् । कसैले स्वतन्त्र हुँ भनेका भरमा स्वतन्त्र मानेर अभियानमा समेट्न नसकिने उनको भनाइ छ ।

‘दलहरुले नै स्वतन्त्र भन्दै आफ्नो लगानीमा डमी उम्मेदवार खडा गराउने प्रवृत्ति पनि स्थानीय चुनावमा देखियो’, उनले भने, ‘त्यसैले हामी सचेत हुनु जरुरी छ ।’

स्वतन्त्रभित्रै झमेला

प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने भनेर घोषणा गरेका वरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछानेले आज सामाजिक सञ्जालमा प्रेस नोट भन्दै एउटा स्टाटस लेखेका छन् । त्यसमा उनले स्वतन्त्र उम्मेदवारहरुबीच हिजो छलफल भएर निर्वाचन क्षेत्रको भागबन्डा भएको दावी गरेका छन् । आफ्नो भागमा काठमाडौंको क्षेत्र नम्बर ३ परेको उनको भनाइ छ ।

तर, सायमीले यस्तो समझदारी नभएको स्पष्ट पारे । लामिछानेको स्टाटसबाट आफू स्वयम् आश्चर्यमा परेको उनले बताए ।

‘हामीले स्वतन्त्रको क्राइटेरिया बनाउने कुरा गरेका छौं । त्यसका लागि १७ र १८ गते भेला बोलाउने कुरा भएको छ । अहिले को कहाँ उठ्ने भन्ने फाइनल भएको छैन’, सायमीले भने ।

सायमीका अनुसार हिजो हरिशरणले उनलाई भाइ रवि लामिछानेसँग भेट गराउने भन्दै बोलाएका थिए । तर, उनी जाँदा त्यहाँ रवि थिएनन् । बरु स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बम, पुष्कर शाहलगायत थिए । केहीबेर छलफलपछि फोटो खिचिएको थियो । त्यही फोटो प्रयोग गर्दै हरिशरणले आफूखुसी ‘प्रेस नोट’ जारी गरेपछि सायमी आश्चर्यमा परेका हुन् ।

हरिशरणले काठमाडौं १ बाट पुकार बम, काठमाडौं ५ बाट रञ्जु दर्शना र ८ मा सुमन सायमीलाई स्वतन्त्रहरुको साझा उम्मेदवार मान्ने समझदारी भएको दावी गरेका छन् । यस्तै साइकलयात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्ने उनको प्रेस नोटमा उल्लेख छ ।

‘स्वतन्त्र’ बन्दै पूर्वविवेकशीलका नेताहरु

स्वतन्त्र उम्मेदवार बन्ने दौडमा विवेकशील नेपाली दलका संस्थापक नेताहरु पनि मिसिएका छन् । विवेकशील र साझा पार्टी मर्ज भएर बनेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएसँगै लथालिङ बनेको छ । उक्त पार्टीबाट बहिगर्मित केही नेताहरुले भटाभट काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् ।

विवेकशीलबाट अघिल्लो स्थानीय चुनावमा काठमाडौंको मेयरमा लडेर २३ हजारभन्दा बढी भोट ल्याएकी रञ्जु दर्शना आगामी प्रतिनिधिसभा चुनावमा लड्ने भएकी छन् । काठमाडौंको क्षेत्र नम्बर ५ बाट लड्ने उनको उद्घोष छ । यो निर्वाचन क्षेत्रबाट विगतमा विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापाले चुनाव लड्दै आएका थिए । अघिल्लो संसदीय चुनावमा उनले ६ हजार ८५३ मत ल्याउँदै तेस्रो भएका थिए । एमालेका ईश्वर पोखरेलले २३ हजार २९ मतका साथ जित हासिल गरेका थिए ।

विवेकशीलका संस्थापक नेता पुकार बमले पनि काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले काठमाडौंको क्षेत्र नम्बर १ बाट उठ्ने भनेर गत जेठ २० गते घोषणा गरेका थिए ।

बम केही वर्षदेखि सामाजिक अभियानहरुमा सक्रिय छन् । ‘इनफ इज इनफ’ अभियानमा उनले सक्रिय भूमिका निभाएका थिए । उनले राजनीतिशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् र हाल पीएचडीको तयारीमा छन् ।

विवेकशील साझा पार्टीका युवा नेता अब्दुस मियाले पनि पार्टी परित्याग गर्दै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले हिजो विज्ञप्ति जारी गर्दै काठमाडौं ६ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । उनी विवेकशील साझा पार्टीको युवा संगठनका संयोजक थिए । रवीन्द्र मिश्रको राजीनामापछि पार्टी अनौपचारिक रुपमा विघटन भएको ठहर गर्दै उनले राजीनामा दिएका हुन् ।

मानुषीदेखि मुकुन्देसम्म

चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि राजनीतिमा लाग्ने भन्दै गत साता टेलिभिजनबाट राजीनामा दिए । उनले काठमाडौंबाट चुनाव लड्ने मनसाय बनाएका छन् । तर, कसरी भन्ने प्रष्ट्याएका छैनन् ।

धेरैले उनलाई पनि स्वतन्त्र लड्न सुझाव दिएका छन् । तर, लामिछाने भने आफैं पार्टी गठन गर्ने वा कुनै ठूलो पार्टीमा प्रवेश गर्ने मनस्थितिमा रहेको स्रोतको दावी छ । स्वतन्त्रहरुको छलफल तथा अन्तरक्रियामा उनी अहिलेसम्म सहभागी भएका छैनन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले पनि उम्मेदवारी घोषणा गरेकी छन् । उनले पनि आफू पार्टीबाट लड्ने वा स्वतन्त्र भन्ने प्रस्ट पारेकी छैनन् । उनी जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । त्यसैले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुको औचित्य हुँदैन ।

काठमाडौंबाटै उम्मेदवारी दिने तयारी गरेका अर्का चर्चित व्यक्ति हुन् रमेश खरेल । नेपाल प्रहरीका पूर्वडीआईजी खरेलले काठमाडौं क्षेत्र नं १ बाट लड्ने बताएका छन् । आफैंले निर्माण गरेको सुशासन पार्टीमार्फत उनले उम्मेदवारी दिन लागेका हुन् । यसअघि उनले काठमाडौंको मेयरमा लड्ने गृहकार्य गरेका थिए । तर, पछि ब्याक भएका थिए । नेपाल प्रहरीमा छँदा राम्रो छवि बनाएका खरेल राजनीतिमा भने खासै जम्न सकिरहेका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका गायक सञ्जय श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् । पार्टीले टिकट दिए पार्टीबाट नत्र स्वतन्त्र लड्ने उनको भनाइ छ । उनले काठमाडौंको क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने तयारी गरेका हुन् । २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा उनी यही क्षेत्रमा उम्मेदवार बनेका थिए । तर, उल्लेख्य भोट ल्याउन सकेनन् ।

सामाजिक सञ्जालका भाइरल म्यान मुकुन्दे पनि चुनावी दौडमा छन् । उनले एक महिना अगाडि नै आफू काठमाडौं ४ बाट लड्ने घोषणा गरेका थिए । यो कांग्रेस महामन्त्री गगन थापाको क्षेत्र हो । गगनविरुद्ध उम्मेदवारी दिएर केही दिन चर्चामा आउने ध्येयमात्र राखेको धेरैको अनुमान छ । त्यसो त मुकुन्देले मदन भण्डारीको विरासत थाम्ने भन्दै एमालेबाट चुनाव लड्न चाहेको बताएका थिए । तर, एमालेले उनलाई टिकट दिने सम्भावना शून्यप्रायः छ ।


प्रतिक्रिया

One thought on “निर्वाचन घोषणा नहुँदै उम्मेदवारी घोषणाको लहर, स्वतन्त्रहरू संगठित गर्दै सुमन सायमी

  1. किन सबको रोजाइ कठमाण्डौ मात्रै परेको होला। बडर्नुपर्ने त ७७ जिल्लाबट छ नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर