परमादेशबाट बनेको सरकार जनताप्रति जवाफदेही देखिएन : सांसद राना
काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले वर्तमान परमादेश सरकार जनताप्रति जवाफदेही नभएको बताएका छन् ।
आज प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा राख्दै रानाले विद्यालय सुरु हुँदा विद्यार्थीले पुस्तक नपाएको र रोपाइँ सुरु हुँदा किसानले मल नपाएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
जनता मारमा रहेका बेला सरकार शिलान्यास, उद्घाटन र दीक्षान्त समारोहमा केन्द्रित रहेको रानाले आरोप लगाए । ‘रोपाइँ सुरु भयो, किसानले मल पाएका छैनन् । सरकार खोई भनेर जनता खोजिरहेका छन् । सरकार कहाँ छ भन्दा महँगी बढाउने काममा भेटिन्छ’, उनले भने, ‘सरकार शिलान्यास गरेर उद्घाटन समारोहमा भेटिन्छ । कहिलेकाहीँ दीक्षान्त समारोहमा भेटिन्छ ।’
रानाले जनताले प्रधानमन्त्री खोजिरहेकोसमेत बताए । उनले भने, ‘हामी संसदमा प्रधानमन्त्री खोई भनेर खोज्यौं भने सदनमा प्रधानमन्त्री भेटिँदैनन् ।’
उनले नेकपा एमाले सशक्त प्रतिपक्ष रहेको भन्दै पार्टीले उठाएका विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए ।