संसदमा गोकुल बास्कोटाको प्रश्न : बिहान ५ बजे अर्थ मन्त्रालयबाट पेन ड्राइभ कसले लग्यो ? – Nepal Press

संसदमा गोकुल बास्कोटाको प्रश्न : बिहान ५ बजे अर्थ मन्त्रालयबाट पेन ड्राइभ कसले लग्यो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद् बैठक बहिष्कार गरेको छ । पार्टीका तर्फबाट बोल्दै सांसद गोकुल बास्कोटाले अर्थमन्त्रीमाथि उठेका प्रश्नका विषयमा तत्काल छानबिन समिति गठन गर्नुपर्ने बताए ।

विशेष समय लिएर बोल्दै बास्कोटाले नेपालको बजेट निर्माणकै इतिहासमा अर्थमन्त्री शर्माले अक्षम्य अपराध गरेको आरोप लगाए । आक्रामक रूपमा प्रस्तुत हुँदै उनले प्रधानमन्त्री र गठबन्धनका मुख्य नेताहरूतिर पनि शंकाको सुई घुमेको बताए ।

‘अहिलेसम्म सरकार सञ्चालन गर्ने गठबन्धनका मुख्य नेता र प्रधानमन्त्री यस विषयमा बोल्नुभएको छैन । त्यसैले अब शंकाको सुई त्यतैतिर फर्किँदै छ,’ बास्कोटाले भने ।

उनको सम्बोधनको मुख्य अंश यस्तो थियो :

हामीले अझै अर्थमन्त्री संयमित हुनुहोला, रियालाइज गर्नुहोला भन्ठानेका थियौँ । तर उहाँले संसदमा होइन बाहिर गएर प्रतिपक्ष कहाँ छ भनेर सोध्नुभएछ । म भन्न चाहन्छु सभामुखज्यू, हामी यहाँ छौँ । संसदमा प्रश्न उठाइरहेका छौँ ।

उहाँले प्रतिपक्ष देख्नुभएन । पञ्चायतकालमा पनि देख्दैनथे । त्यस बेला अर्को दल थिएन । अहिले उहाँहरू पनि एकदलीय तानाशाहीमा जान खोज्नुभएको हो ?उहाँले किन प्रतिपक्ष सदनमा देख्नुभएन ? यो प्रतिपक्षको मानमर्दन हो । म चुनौती दिन चाहन्छु । यो व्यवस्थाको यस प्रकारले रक्षा हुन सक्दैन ।

उहाँले नेल्टा देख्नुभयो । नेल्टा कसको भन्दा चौधरी ग्रुपको । टाटा नेक्सन देख्नुभयो । त्यो कसको भन्दा प्रभाकरशम्शेर राणा को । उहाँले जगदम्बा दख्नुभो, अम्बे दैख्नुभो, जनता देख्नुभएन । उहाँले चाउचाउ देख्नुभयो । सी चाउचाउ देख्नुभयो । त्यो भनेको चौधरी चाउचाउ । तर, प्रतिपक्ष देख्नुभएन । यदि आँखामा समस्या हो भने डा. सन्दुक रुइत कहाँ जानुपरो । अर्थमन्त्रीले आँखा खोल्नुपर्छ ।

अर्थ मन्त्रालयमा त्यस दिन के भएको थियो ? साढे पाँच घण्टा २३ कर्मचारीलाई चिहिलबिहिल बनाएर सिए र भूपू कर्मचारी अफिसर कहाँ जानुभएको थियो ? बिहान साढे ५ बजे मात्रै मन्त्रालयमा हाजिर हुनुभयो र पेन ड्राइभ कसले लग्यो ? बजेट निर्माणको इतिहासमा यो सबैभन्दा अक्षम्य अपराध हो । व्यक्तिको प्रश्न होइन । देशको समग्र बजेट तलमाथि गर्ने कुरा हो । सहनशील हुन सक्ने ठाउँ नै छैन ।

पुगेको ठाउँ सानेपा थियो । को बस्छ त्यहाँ ? कुरा के लिएर आउनुभयो ? उही वस्तुको कच्चा पदार्थको दर के गर्नुभयो, रेडिमेडको के गर्नुभयो ? झलकमान गन्धर्व बितेर गए । अहिले जीवित भएको भए यति मिठो समाजवादको सारंगी अर्थमन्त्रीले रेटेको देखेर छक्क पर्थे होला । उहाँले समाजवादको सारंगी रेट्नुभयो, समर्थन र रक्षा दलाल पुँजीपति र व्यापारीहरूको गर्नुभयो ।

हाम्रो देशमा केही यस्ता व्यापारी छन् जो असाध्यै गरिब छन् । उनीहरूसँग पैसाबाहेक कुनै सम्पत्ति छैन । भएको चिजै पैसा । आज तिनीहरूको सेवामा देशको राजश्व मार्ने काम भयो । प्रत्येक कुराको छानबिन हुनुपर्छ । जबाफदेहिता लिनुपर्छ । सत्ताको तुजुक देखाउन सक्दैन सरकारले । पदमा बसेर प्रतिपक्षलाई लर्कान सक्दैन ।

प्रश्न उठेपछि राजीनामा दिने कि नदिने ? छानबिनमा सहयोग गर्ने कि नगर्ने ? ममाथि प्रश्न उठ्यो राजीनामा दिएँ । गल्ती भेटियो भने कारबाहीको भागिदार हुनुपर्छ हामी कुनै पनि हिसाबले । त्यसैले गायत्री मन्त्र गाएर नबसौँ । छानबिन समिति गठन गरौँ । अर्थमन्त्रीको राजीनामा देशले खोजेको छ । राजीनामा गरेर छानबिनको बाटो खोल्नुपर्छ । एमालेलाई लल्कार्ने गल्ती नगर्नुस् । जनताप्रतिको जबाफदेहिता बोक्नुस् । उहाँले दिन जवाफ हामी सुन्न चाहँदैनौँ । देश सुन्न चाहँदैन । सत्तापक्षले उहाँलाई बिदा दिएर यो प्रक्रिया अगाडि बढाउनुपर्छ । त्यतिन्जेल यो बैठक बहिष्कार गर्छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर