विदेश जान काठमाडाैंभन्दा भैरहवाबाट सस्तो भएपछि बढ्याे यात्रुको चाप
थप दुई विदेशी विमान कम्पनीले उडान भर्ने तयारी
रुपन्देही । एक महिनाअघि अन्तर्राष्ट्रिय उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवाग्राहीको चाप बढेसँगै थप दुई विदेशी विमान कम्पनीहरुले सेवा थप्ने तयारी गरेका छन् ।
कुवेतबाट जजिरा एयरले सेवा सुरु गरेसँगै यहाँबाट उडान भर्नेहरुको चाप बढेको हो । यो चापलाई हेरेर थप दुई विदेशी वायुसेवा कम्पनीहरुले तत्काल नियमित उडान थाल्ने तयारी सुरु गरेका हुन् ।
जेठ २ गतेदेखि जजिराले गते व्यवसायिक उडान भर्न थालेपछि छोटो समयमै यात्रुको चाप बढेपछि अन्य कम्पनीहरुले आफ्नो व्यवसाय थप थर्न लागेका हुन् । अहिले कुवेतबाट जजिरा एयरले साताको सोमबार, बुधबार र शनिबार गरी तीन गौतमबुद्ध विमानस्थलमा उडान भर्दै आएको छ ।
अब तत्कालै दुई कम्पनी एयर अरेबिया र युएईको फ्लाई दुबईले गौतम बुद्ध विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेको विमानस्थल महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् । एयर अरेबियाले आउंदो दुई हप्ताभित्रै उडान थाल्ने तयारीमा रहेको उनले बताए ।
अधिकांश खाडी मुलुकका यात्रुले कुवेत ट्रान्जिट गरेर भैरहवा आउने गरेका छन् । सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीहरुले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका हुन् । लुम्बिनी प्रदेश आसपासका धेरै युवा पिंढी खाडी मुलुकमा रहेकाले पनि सो क्षेत्रबाट आफ्नो व्यवसाय थप प्रवद्र्धन हुने आंकलन विमान कम्पनीले गरेका छन् ।
आफ्नो क्षेत्रबाट विदेश जान र आउन पाएपछि यहाँबाट सेवा लिनेहरु खुसी छन् । काठमाडौं आएर घर आउने समयको व्यवस्थापन र खर्चलाई ध्यानमा दिँदै धेरैजना यहाँबाट आफूले सेवा लिएको बताएका छन् ।
खाडी मुलुकबाट भैरहवा विमानस्थल जान चाहने यात्रुको माग तथा चाप पनि उच्च छ । सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीहरुले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन् ।
त्यही क्रममा एयर अरेबिया र फ्लाई दुबईले नियमित उडानका लागि प्रक्रिया अघि बढाएका छन् । पहिलो उडान भरेको जजिराले जेठ मसान्तसम्म १४ वटा उडान गरेको छ । यो विमानस्थल हुँदै अहिलेसम्म १ हजार २ सय ४७ जना आएका छन् भने १ हजार ७ सय ९८ जना बाहिरिएको जजिराले जनाएको छ ।
शुल्क कम, श्रम कार्यालयको व्यवस्थापनले थप सहज
हाल काठमाडौं–कुवेत रुटका लागि जजिराको न्युनतम भाडा ३३ हजार रुपैयाँ छ । भैरहवा–कुवेत रुट भएर आउजाउ गर्दा भने यसमा २० प्रतिशत अर्थात् ६ हजार ६०० रुपैयाँ कम (२६४०० रुपैयाँ) मा सेवा दिँदै आएको जनाएको छ ।
भैरहवामार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजान लगायत कुवेत हब बनाएर जजिराले उडान संचालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिँदै आएका छन् ।
सेवाग्राहीले म्यानपावर कम्पनीहरुका शाखा कार्यालयहरुको रसिद काट्ने काउन्टर वा सुविधासमेत विमानस्थल आसपास हुनसके सजिलो हुने बताएका छन् ।
विमान कम्पनीलाई आकर्षित गर्न विमानस्थलले एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा पूर्ण छुट दिएको छ । जसले गर्दा उडान शुल्कसमेत सस्तो भएको छ । जजिराका अनुसार काठमाडौं कुवेत भन्दा भैरहवा कुवेतको यात्रामा प्रति व्यक्ति ८ हजार सस्तो छ ।
शुल्क कम पर्ने भएकाले भारतको उत्तर प्रदेशसम्मका नागरिकले विदेशबाट फर्किदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न थालेका छन् । श्रम तथा रोजगार शाखा संचालनमा आएकाले अहिले काठमाडौं ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ । जसका कारण भैरहवा विमानस्थल धेरै जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि रोजाइमा परेको छ ।
विमानस्थललाई लक्षित गरेर भैरहवामा श्रम कार्यालय स्थापनासमेत भइसकेको छ । ‘श्रम तथा रोजगार शाखा संचालनमा आइसकेको छ । ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ । जसले गर्दा भैरहवाबाट पायक पर्ने थुप्रै जिल्लाबाट वैदेशिक रोजगारमा जाने–आउनेलाई अब काठमाडौं पुग्नु नपर्ने भएको छ,’ दाहालले भने ।
रुपन्देहीको रोहिणीका अर्जुन मिश्र आफ्नै गृह जिल्लाको विमानस्थलमा सिधै उडान भर्न पाएको खुसी व्यक्त गरे । काठमाडौं जाने आउने खर्च तथा समयको बचत भएको उनको भनाइ छ । सैनामैना रुपन्देहीकी श्रेया पाण्डेले आफन्तलाई लिन घरबाटै पौने घन्टामा विमानस्थल आउन पाउँदा धेरै खुसी लागेको बताइन् ।
कुवेतबाट फर्किएका नारायण पौडेल तथा छमकुमारी सारुमगरले आफ्नै घर नजिकबाट उडान भर्न पाउँदा खुसीको सीमा नरहेको बताए । उनीहरुले यहाँबाट विमानको भाडा पनि सस्तो भएको र काठमाडौं जानेआउने तथा बस्ने रकमको समेत बचत भएको बताए ।