नेपाल कुनै देशविरुद्धको कार्ड बन्न जरुरी छैन : ओली – Nepal Press

नेपाल कुनै देशविरुद्धको कार्ड बन्न जरुरी छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नहुने बताएका छन् ।

पूर्वराजदूत समूहसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले छिमेकी देशहरूसँगको सम्बन्ध भरपर्दो र विश्वसनीय हुनुपर्नेमा जोड दिए ।

‘हामी हाम्रा छिमेकीहरूसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्छ । बाहिर भन्ने एउटा र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । कुनै छिमेकीका विरुद्ध अरु कसैसँग भित्रभित्र साँठगाँठ गर्ने अनि बाहिर अर्कै कुरा गर्ने काम राम्रो होइन’, ओलीले भने ।

अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा नेपालले कुनै हीनताबोध राख्न नहुने भन्दै आपसमा कुनै समस्या भए संवादबाट समाधान गर्नुपर्ने बताए ।

‘जनसंख्यामा देश सानो ठूलो हुनसक्छ । विकासको स्तरमा अघि वा पछि हुनसक्छ तर सार्वभौमसत्ता सबैको समान हो । त्यसैले हीनताबोध राखेर मित्रता हुनसक्दैन, न्यायोचित राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ’, ओलीले भने ।

वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर राख्न नसकेको भन्दै ओलीले प्रतिपक्षसँग कुनैपनि विषयमा सरकारले संवाद नगरेको आरोप लगाए । विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको विदेश भ्रमणका सन्दर्भमा प्रतिपक्ष र विज्ञहरूसँग सल्लाह हुने प्रचलन रहेपनि अहिले तोडिएको ओलीको आरोप छ ।

‘प्रधानमन्त्री बाहिर जानुअगाडि त प्रतिपक्षीसँग त कुराकानी हुन्थ्यो नै । साथसाथै विज्ञहरूसँग पनि परामर्श गर्ने हाम्रो चलन थियो । प्रतिपक्षसँग छलफल नगरी चल्छ भने चलाउनुस् । लोकतन्त्रको नयाँ परिभाषा गराउनुस् न । यो सरकारले कुनै विषयमा कसैसँग संवाद गरेको छैन’, ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर