नयाँ दल निर्माण गर्ने रवि लामिछानेको घोषणा (भिडिओ) – Nepal Press

नयाँ दल निर्माण गर्ने रवि लामिछानेको घोषणा (भिडिओ)

काठमाडौं । सञ्चारकर्मबाट राजनीतिमा आएका रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले सो घोषणा गरेका हुन् ।

‘म आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु,’ लामिछानेले भने ।

योबीचमा आफूले सबैजसो राजनीति दलसँग कुरा भए पनि आफू कुनै पार्टीमा प्रवेश नगर्ने निर्णय लिएको उनले बताए ।

आफ्नो पार्टी पुराना पार्टीभन्दा पृथक रहने लामिछानेले दावी गरे । पार्टीमा ५० प्रतिशतभन्दा बढी युवा अनिवार्य हुने उनले बताए ।

लामिछानेका अनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा पार्टीले बोक्नेछ । ‘आफ्नो दलभित्रबाट छानिएपछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार बन्न पाइनेछ’, उनले भने, ‘प्रधानमन्त्रीको उम्मेदवारी दिनेले मन्त्रिमण्डल नै घोषणा गरेर जान सक्नेछ ।’

लामिछानेले आफ्नो पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने बताएका छन् । यस्तै प्रस्ताव चुनाव चिन्ह ‘घन्टी’ रहने उनले जानकारी दिए ।

आफू व्यवस्था बदल्नका लागि नभइ जनताको अवस्था बदल्नका लागि राजनीतिमा आएको लामिछानेको भनाइ छ । आगामी संसदीय चुनावमा आफूले प्रतिस्पर्धा गर्ने उनले संकेत गरे, तर निर्वाचन क्षेत्र खुलाएनन् ।

‘मलाई डडेलधुरा, झापा वा चिनवनबाट लड्न मन छ, तर भावनामा बगेर मात्र हुँदैन,’ उनले भने, ‘हामीलाई लड्ने र हार्ने छुट छैन ।’

उनले आफू एक जनालाई संसद बन्नबाट रोक्न सक्षम रहेको दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर