नेपाल हङकङसँग ७ विकेटले पराजित
काठमाडौं । एसीसी महिला टी- २० च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ।
पराजित भए पनि नेपालले यस अघि लगातार तीन खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ९ रनको योगफल तयार गरेको थियो ।
नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
हङकङको जितमा मारिको हिलले सर्वाधिक ४५ रन जोडिन । नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन बनाइन् ।
नेपालकी संगीता राईले २ तथा सीता मगरले १ विकेट लिइन् ।
त्यसअघि नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३२ रनको योगदान गरिन् । अप्सरी बेगमले अविजित २२ रन बनाइन् ।
यस्तै,बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ र इन्दु वर्मा शून्य रनमा आउट भइन् ।
हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १र१ विकेट लिए ।