रविको पार्टीले भ्रातृ संगठन नबनाउने, यस्ता छन् ७ फरक विशेषता (भिडिओ) – Nepal Press

रविको पार्टीले भ्रातृ संगठन नबनाउने, यस्ता छन् ७ फरक विशेषता (भिडिओ)

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आज ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक राजनीतिक दल घोषणा गरेका छन् । कमलादीस्थित राष्ट्रियसभा गृहमा आयोजित घोषणा सभामा उनले पार्टीको घोषणा गरेका छन् ।

उनले पार्टी घोषणा गर्दा आफ्नो पार्टी पुराना पार्टीभन्दा ७ फरक अवधारणाका साथ अगाडि बढ्न खोजेको बताएका छन् । जसमा के-के अवधारणा छन् त ? हामीले उनकै शब्दमा यहाँ उल्लेख गरेका छौं ।

पहिलोः प्रारम्भिक निर्वाचन

लामिछानेले यो अवधारणाअनुसार पार्टीबाट आम निर्वाचनहरूमा उम्मेदवार बन्नका लागि पहिले आन्तरिक निर्वाचन लड्नुपर्ने व्यवस्था रहेको बताएका छन् । त्यसका लागि उम्मेदवार हुन चाहनेले पहिले पार्टीका सबै सदस्यहरूको मतबाट निर्वाचित हुनुपर्ने र निर्वाचित भएपश्चातमात्रै उम्मेदवार हुन पाउने व्यवस्था अगाडि सारेको बताए । त्यसबाट अब टिके र चाकरीकै भरमा टिकट पाउने युगको अन्त्य हुने दाबी गरे । ‘अब पार्टीका सदस्यता लिएका मान्छेको भोट नलिइ कोही नेता बन्न सक्नेछैनन्,’ घोषणा सभामा उनले भने ।

दोस्रोः बहुसंख्यक युवा (५० प्लस १)

उनले आफ्नो पार्टीमा बहुसंख्यक युवा रहने बताए । जसका लागि पार्टीका सबै समितिमा ५० प्लस १ को अवधारणा अगाडि सारेको बताए । यसले युवाहरू पार्टीको नेतृत्वमा मात्र नभइ देशको बागडोर सम्हाल्ने अवस्थामा पुग्ने दाबी गरे ।

तेस्रोः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री

यो अवधारणा अन्तर्गत प्रधानमन्त्री र मुख्यमन्त्री बन्नका लागि निर्वाचन अघि नै पार्टीको आन्तरिक निर्वाचनमा चुनिएको व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री उम्मेदवार बन्ने लामिछानेले बताए । जसमा पहिले पार्टीभित्रका साधारण सदस्यहरूको मतबाट प्रधानमन्त्री वा मुख्यमन्त्रीको उम्मेदवार चुनिने र जसमा साधारण सदस्य वा पार्टी सभापति जोसुकै भिड्नसक्ने व्यवस्था रहेको बताए ।

त्यसबाहेक त्यसरी चुनिएको प्रधानमन्त्री वा मुख्यमन्त्रीको उम्मेदवारले निर्वाचनमा जाँदा आफ्नो मन्त्रीमण्डल आफैँ छनोट गर्नसक्ने बताए । जसले प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवारले आफूले चाहेको योग्य व्यक्तिलाई छनोट गर्ने अधिकार हुने उनले बताए ।

चौथोः राइट टु रिकल र राइट टु रिजेक्ट

पार्टीभित्रको नेतृत्व र सार्वजनिक पदमा कुनै व्यक्तिलाई निर्वाचित गरेर पठाउँदा पार्टीका साधारण सदस्यसँग ‘राइट टु रिकल’ र ‘राइट टु रिजेक्ट’को व्यवस्था रहने लामिछानेले बताए । ‘आफूले पठाएको व्यक्तिले राम्रो काम नगरे साधारण सदस्यको भोटबाट बोलाउने मात्र होइन, कठालो समातेर ल्याउने व्यवस्था गरेका छौं,’ उनले भने,‘साथै राइट टु रिजेक्टको व्यवस्था पनि गरेका छौं ।’

पाँचौः डिजिटल डेमोक्रेसी

यस व्यवस्था अन्तर्गत आजैबाट डिजिटल प्लेटफर्मबाट पार्टी सदस्यता लिनसक्ने, पार्टीको मतमतान्तरमा सहभागी हुनसक्ने व्यवस्था अंगीकार गरिएको लामिछानेले बताए । यो व्यवस्था तत्कालका लागि पार्टीभित्र सुरू गरेर भविष्यमा देशमा नै लागू गरिने उनले बताए ।

‘हरेक कुरा डिजिटल प्लेटफर्मबाट हुन्छ,’ उनले भने,‘अब मत हालिसकेपछि पनि महिनौ लाएर घुर्दैघुर्दै महिनौं लगाएर मत गन्नुपर्ने युगको अन्त्य गर्छौं ।’

छैठौंः परिवारवादलाई पूर्णरूपमा निषेध

आफूले निर्माण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा परिवारवादलाई पूर्ण रूपमा निषेध गर्ने अर्को व्यवस्था रहेको लामिछानेले बताए । ‘केन्द्रीय समितिमा कुनै पनि नातागोतालाई स्थान दिइँदैन,’ उनले भने, ‘स्थान नदिनेमात्र होइन, पूर्णरूपमा निषेध गरिएको छ ।’

सरकारमा पनि परिवारवाद पूर्णरूपमा निषेध गरिएको उनले बताए । ‘कुनै पनि नातागोतामा पर्ने व्यक्तिलाई न ल्याइँनेछ, न नियुक्ति दिइँनेछ,’ उनले भने ।

सातौंः भ्रातृसंगठन नहुने, कार्यकर्ता हुनु नपर्ने

आफ्नो पार्टीको कुनै भ्रातृ संगठन पनि नहुने र कार्यकर्ता पनि हुनु नपर्ने लामिछानेले बताए । जो जहाँ छन्, त्यहीबाट साधारण सदस्य लिएर स्वतन्त्र भएर बस्न पाइने उनको भनाई छ ।

‘कार्यकर्ता भन्ने युगको अन्त्य । कुनै कार्यकर्ता हुँदैन, सदस्यमात्रै हुने हो,’ उनले भने,‘भ्रातृसंगठन त हुँदै हुँदैन । सदस्य र फलोअर्समात्रै हुन्छ ।’

पार्टी सदस्यले कोही कसैको झोला पनि बोक्नु नपर्ने उनले बताए । रविले भने, ‘चुनावमा भोट हाल्नबाहेक केही पनि गर्नुपर्दैन, मन लागेको व्यक्तिलाई भोट हाल्दिए पुग्छ, कसैको झोला बोक्नुपर्दैन ।’


प्रतिक्रिया

One thought on “रविको पार्टीले भ्रातृ संगठन नबनाउने, यस्ता छन् ७ फरक विशेषता (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर