नेकपा (बहुमत) का संयोजक बास्तोलासहितको टोली र गृहमन्त्री खाणबीच भेटवार्ता – Nepal Press

नेकपा (बहुमत) का संयोजक बास्तोलासहितको टोली र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धमेन्द्र बास्तोलासहितको टोलीले गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट गरेको छ ।

मंगलवार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा नेकपा (बहुमत)का संयोजक बास्तोलासहितको टोलीले २०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।

गृहमन्त्री खाणले सरकार नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘नेकपासँग भएका सहमति कार्यान्वयन गर्ने पक्षमा प्रतिबद्ध छौँ । सहमतिमा समेटिएका केही बुँदा कार्यान्वयन भइसकेका छन भने केही कार्यान्वयनको चरणमा रहेका रहेका छन् ।’

नेकपाका तर्फबाट संयोजक बास्तोलाले जेलमा रहेका आफ्ना पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गरेका छन् ।

सहमति कार्यान्वयनको विषयमा अन्य मन्त्रालय र निकायसँग समेत छलफल गर्नुपर्ने भएकाले ती निकायसहित बसेर पुनः छलफल गर्ने गरी बैठक सकिएको गृह मन्त्रालयले जनाएको छ ।

भेटमा सरकारी पक्षबाट गृहमन्त्री खाणसहित गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणीन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट पार्टी संयोजक बास्तोलासहित पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली, नेताहरू गुणराज लोहनी, दीपक चलाउने र देवकला अधिकारी सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर