भाजपाले द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने – Nepal Press

भाजपाले द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ ।

भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिश गरेको बताए । आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति बन्नेछिन् ।

‘पहिलोपटक महिला आदिवासी उम्मेदवारलाई प्राथमिकता दिइएको छ । हामी आगामी राष्ट्रपति चुनावका लागि द्रौपदी मुर्मुलाई एनडीएको उम्मेदवारको रूपमा घोषणा गर्छौं’, बीजेपी प्रमुख नड्डाले भने ।

मुर्मुले आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गरेको उनले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुसँग राम्रो प्रशासनिक अनुभव भएको र उनी राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू ढुक्क भएको बताएका छन् ।

‘ उनीसँग राम्रो प्रशासनिक अनुभव छ । उनी हाम्रो देशको महान राष्ट्रपति हुनेछिन् भन्नेमा म ढुक्क छु’, प्रधानमन्त्री मोदीले भनेका छन् ।
पछिल्लो २० वर्षदेखि भाजपामा आबद्ध उनी भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्षसमेत थिइन् ।

१८ जुलाईमा राष्ट्रपतिको निर्वाचन तय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर