अफगानिस्तानमा तालिबान सरकारको प्रभाव, न्युज ‘एंकर’ सडकमा खाना बेच्न बाध्य
काठमाडौं । तालिबान समूहले सत्ता सम्हालेसँगै आर्थिक संकटको सामना गरिरहेको अफगानिस्तानको अवस्थालाई उजागर गर्ने एक तस्वीर हालै सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उक्त तस्वीरमा एक जना युवा गल्लीको सडकमा खाना बेचिरहेका देखिन्छन् । सञ्चारमाध्यम जिओ टीभीका अनुसार उक्त तस्वीर मुसा मोहोम्मदी नामक व्यक्तिको हो ।
तालिबान समूहले अफगानिस्तानमा शासन गर्नुपूर्व मुसाले अफगानिस्तानका विभिन्न टेलिभिजनमा ‘न्युज होस्ट’ को काम गर्दै आएका थिए । मिडिया रिपोर्टअनुसार तालिबान अफगानिस्तानमा सरकारको नेतृत्वमा आएसँगै उनको जागिर खोसिएको थियो । सोहीकारण उनी यस्तो अवस्थामा आएका हुन् ।
कबिर हकमाल नामक व्यक्तिले मुसाको सो तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।