आरजु राणाकाे कटाक्ष- कांग्रेसले विकास गर्न जानेको छ, उखान टुक्का सुनाउन जानेकाे छैन – Nepal Press

आरजु राणाकाे कटाक्ष- कांग्रेसले विकास गर्न जानेको छ, उखान टुक्का सुनाउन जानेकाे छैन

चुनावमा अन्तरघात भयो भन्नेहरु नै अन्तरघाती निस्किए

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले कांग्रेसले देशको यथार्थ वस्तुस्थिति र विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार विकास निर्माणको कार्ययोजना बनाउन जानेकाे तर उखान टुक्का सुनाएर जनता हँसाउन नजानेको बताएकी छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम २०७९ को अवसरमा केन्द्रिय सदस्य देउवाले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै यस्तो बताएकी हुन्।

यसका लागि कांग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्रसम्म नै जनताको गुनासो र समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने उनको भनाइ थियो। उनले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको बताउँदै अब पार्टीको आन्तरिक समस्या समाधान र जनताको गुनासो समाधानका लागि विभाग बनाउनुपर्ने बताएकी हुन्।

‘हरेक समयमा देश समस्यामा हुँदा त कांग्रेसको सरकारले समस्या समाधान गरेर जनताको हित गर्दै आएको छ भने आफ्नो आन्तरिक समस्यालाई पनि समाधान गर्न आवश्यक छ,’ उनले भनिन्। कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा हरेक समयमा जनताको साथ दिन आग्रह गर्दै हरेक क्षेत्रमा जनताका समस्या समाधान पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन्।

कार्य व्यवस्थापनमा ख्याल गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताइन्। चुनावको बेलामा अन्तरघात भयो भन्नेहरूबाट नै अन्तरघात भएको उनको भनाइ थियो। पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि निर्वाचित भएका जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक छ। टिकट नपाउँदाको तिक्तताले पार्टी भित्र नै दुर्घटना निम्तिने उनको भनाई छ ।

ब्युरोक्रेसीले सुधार्दै अगाडि बढ्नुपर्ने दायित्व जनप्रतिनिधिको भएको र ब्युरोक्रेसीले सुध्रिएको खण्डमा सरकारका कामकारबाहीले गतिशीलता पाउने उनले बताइन्।

‘उखान टुक्का सुन्न टेलिभिजनमा कमेडी च्याम्पियन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन, उनले भनिन् ‘उखान टुक्का सुनाउँदै हिंड्ने कांग्रेस होइन, कांग्रेस हरेक अप्ठारो परिस्थितिमा देशलाई बचाएको छ।’ ‘नेपाल गरिब देश होइन धनी देश हो। बजेट विनियोजन हुन्छ तर कार्यान्वयन नभएको अवस्था छ । जसले गर्दा योजनाहरु अलपत्र परेका छन् । यस्ता विषयमा फलोअप गर्दै अगाडि बढ्न सकेको खण्डमा विकासले गति लिन्छ।’ राणाले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर