थप ४.९ केजी हेरोइनसहित चारजना पक्राउ, अफ्रिकन महिलामाथि निगरानीपछि पुरुष भरिया – Nepal Press

थप ४.९ केजी हेरोइनसहित चारजना पक्राउ, अफ्रिकन महिलामाथि निगरानीपछि पुरुष भरिया

काठमाडौं। ५१ केजी हेरोइनसहित ७ दक्षिण अफ्रिकन महिला पक्राउ परेको साता दिन नपुग्दै दिनमै अर्का अफ्रिकी नागरिक पक्राउ परेका छन् ।

तान्जानियाका नागरिक अब्दुल्लाह अबुलिकी ४.९ केजी हेरोइनसहित पक्राउ परेका हुन् । उनी असार २ गते दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका थिए ।

यसअघि अफ्रिकी महिलालाई बोकाएर हेरोइन नेपाल पठाउने गरेको प्रहरी अनुसन्धानबाट फेला परेको थियो । यसपटक भने पुरुष नै भरिया बनेको पाइएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गत वैशाख र भदौमा पनि अफ्रिकाबाट हेरोइन बोकेर नेपाल भित्रिएका अफ्रिकन महिलालाई पक्राउ गरेको थियो । महिलाहरू निगरानीमा परिरहँदा गिरोहले पुरुषलाई भरिया बनाउन सक्ने आशंकासहित अबुलिकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पछ्याएको थियो । उनी आएकै दिन अबुलिकी बसिरहेको होटलबाट हेरिइन लिन आएका दुई भारतीय र एक नेपाली नागरिक पनि पक्राउ परे ।

‘अबुलिकीले विमानस्थलबाहिरै हेरोइन जिम्मा लगाउन खोजेको देखिन्छ तर मान्छे त्यहाँ आइनपुगेपछि होटल पुगेका थिए’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

गाडीसहित आएका भारतीय र नेपालीलाई हेरोइन जिम्मा लिन लागेको अवस्थामा पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

अघिल्लो अप्रेसनमा ४९ केजी सेतो हेरोइन र २ केजी खैरो हेरोइनसहित ७ अफ्रिकी महिला पक्राउको घटनामा भने त्यो सामान लिन आउनेलाई पक्राउ गर्न सकेको थिएन ।

प्रहरीका अनुसार अबुलिकी यसपटक तान्जानियाबाट केन्या-दक्षिण अफ्रिका-दुबई हुँदै काठमाडौं उत्रिएका थिए ।

यसअघिका भरिया पक्राउ पर्दा दक्षिण अफ्रिका प्रस्थान विन्दु देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर