को हुन् कोलम्बियाको २०० वर्षे इतिहासका प्रथम वामपन्थी राष्ट्रपति पेत्रो?
दोस्रोपटक प्रधानमन्त्री भएपछि केपी शर्मा ओली स्विजरल्याण्डको ड्याभोसमा भएको विश्व आर्थिक सम्मेलनमा नेपाली प्रधानमन्त्रीको हैसितले पहिलोपटक सहभागी भए । सन् २०१९ जनवरी २४ मा सञ्चालन भएको ‘सेपिङ द फ्युचर अफ डेमोक्रेसी’ नामक सेसनमा फाइनान्सियल टाइम्सका एसोसिएट एडिटर तथा प्रमुख आर्थिक टिप्पणीकार मार्टिन वोल्फ सञ्चालक थिए ।
सहभागीमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सेसनका वक्ता थिए कोलम्बियाका राष्ट्रपति इभान डुके । रोचक कुरा कोलम्बियाको कार्यकारी राष्ट्रपतिको हैसियतमा रहँदा दक्षिण अमेरिकी वामपन्थी नेताहरुलाई छिछि र दुरदुर गर्ने कोलम्बियाका राष्ट्रपति डुकेले उक्त सेसनमा आफैसँग बसेका दक्षिण एसियाका वामपन्थी प्रधानमन्त्री केपी शर्मा ओलीसँग बस्न भने अस्वीकार गरेनन् । उनले सहजतापूर्वक कार्यक्रममा भाग लिए ।
डुकेको यस्तो सौहार्द दक्षिण अमेरिकी महादेशमा भने देखिँदैन । जस्तै उनले अमेरिकी कित्ताले खडा गरेका नक्कली राष्ट्रपति खुवाइ ग्वाँइदोलाई समर्थन गरे । कोलम्बियाको पूर्वी छिमेकी भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको सत्ता ढाल्न नसके पनि सकेसम्मको पहल उनको सत्ताले गर्यो । अरु त अरु डुकेको समेत समन्वय र सहभागितामा तय भएको जो बाइडेन नेतृत्वको अमेरिकी गोलार्द्धको हालसालै सम्पन्न नवौं अमेरिकी सम्मेलनमा क्युवा र भेनेजुयला गयल बनाइए । यसमा उनीहरुको वामपन्थी झुकाव मुख्य हो भने निकारागुवालाई माइनस गर्नुको कारण भने उसको चीनसँगको निकटता र अमेरिकासँगको असमझदारी हो । अमेरिकी सम्मेलन गत जुन महिनाको ६ देखि १० तारिखसम्म अमेरिकाको लस एन्जलस सहरमा भएको थियो ।
वामपन्थीलाई देखी नसहने कोलम्बियाली राष्ट्रपति डुकेलाई कोलम्बियाको समयअनुसार गत आइतबार रातिबाट तनावग्रस्त समय आएको छ । उनले चाहना विपरीत कोलम्बियाको इतिहासमा पहिलोपटक वामपन्थी राष्ट्रपति विजयी भएका छन् । सन १८१९ मा स्पेनबाट स्वतन्त्रता पाएको कोलम्बियाले सन् १८२२ मा अमेरिकाबाट मान्यता पाएको थियो । त्यसयता कोलम्बियाको २०० वर्षको इतिहासमा पहिलोपटक राष्ट्रपतिमा वामपन्थी नेता विजयी भएका छन् ।
पहिलो चरणमा नतिजा नआएपछि भएको दोस्रो चरणको चुनावमा राष्ट्रपतिमा विजयी हुन सफल ऐतिहासिक कोलम्बियन नेता हुन् ६२ वर्षका गुस्ताबो पेत्रो । उनको विजयलाई लिएर बिल क्लिन्टन र बुस प्रशासनका दक्षिण अमेरिकी कूटनीतिज्ञको रुपमा काम गरिसकेका बर्नाड आरेन्सोनले त ‘कोलम्बियाको एक भूकम्प’ भन्ने प्रतिक्रिया वासिङटन पोस्टलाई दिएका छन् ।
सामान्यतया वापपन्थीसँग नकारात्मक डुके चुनावी परिणामपछि भने केही नरम भए । उनले सार्वजनिक रुपमा भनेका छन्, ‘म यो नतिजा स्वीकार्छु । म इमानदारीपूर्वक विश्वास गर्छु कि यो निर्णय सबैलाई लाभदायी हुनेछ ।’
गुस्ताबो पेत्रोः चुनावी घाँधलीको सशस्त्र संघर्षदेखि राष्ट्रपतिसम्म
दक्षिण अमेरिकाको राम्रो आय भएको देश कोलम्बियाको राष्ट्रपति चुनिएका गुस्ताबो पेत्रोको विजयसँगै उनका बारेमा विश्वभरका सञ्चारमाध्यमले समाचार बनाए । समाचारको कोण उनी पेरु र चिलीपछिको दक्षिण अमेरिकामा पछिल्ला चुनावले जिताएका तेस्रो वामपन्थी रास्ट्रपति भएकोमा मात्रै थिएन, उनी पूर्वकम्युनिष्ट गरिल्ला लडाकुको रुपमा समेत चर्चामा आए ।
गुस्ताबो पेत्रोको नाम एम–१९ नामक वामपन्थी सशस्त्र युद्ध मोर्चासँग जोडिन्छ । सन १९७४ देखि १६ वर्ष सशस्त्र संघर्ष गरेपछि एम–१९ सन १९९० बाट शान्तिपूर्ण राजनीतिमा आएको हो । एम–१९ को निर्माण पनि चुनावसँग जोडिन्छ । र, एम–१९ नाम आफैं चुनावी नाम हो । सन १९७० अप्रिल १९ मा भएको राष्ट्रपतीय चुनाव धाँधली भएको भन्दै चलेको अभियान अर्थात् मोभमेन्टकै नाममा एम–१९ खोलिएको अन्तर्रास्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
एम–१९ कोलम्बियाको फार्सपछिको दोस्रो ठूलो गुरिल्ला समूह मानिन्थ्यो । १७ वर्षको एम–१९ मा जोडिएपछि गुस्ताबो पेत्रो जेलसमेत परेका थिए । सीएनएनका अनुसार सन् १९८७ देखि १८ महिना सैन्य जेल परेर पेत्रो रिहा भएका थिए । एम–१९ शान्तिपूर्ण लाइनमा आएपछि गुस्ताबो पेत्रोले चुनाव लडे । उनी स्थानीय, संसद अर्थात् सिनेटदेखि राष्ट्रपति चुनावसम्म लडे । त्यही लडाइँको एक निर्णायक जितले उनी आज कोलम्बियाका प्रथम वामपन्थी राष्ट्रपति भएका छन् ।
अहिले एम–१९ को ट्याग लागे पनि एम–१९ सँग आबद्ध छैनन् पेत्रो । उनले सन २०१६ मै उक्त पार्टीसँगको आबद्धता त्यागेका थिए । अहिले उनको आफ्नै पार्टी छ– मानवीय कोलम्यिबा ।
उनलाई दक्षिण अमेरिकाभरका वामपन्थी र विश्वभरका नेताहरुको बधाई आएको छ । पेत्रोलाई अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकन र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसम्मले बधाई दिएका छन् । जुन २० तारिखमा ट्रुडोले ट्विटरमा बधाई दिएका छन् भने ब्लिंकनले जुन २१ मा पेत्रोसँग संवाद गरेको ट्विटरमै उल्लेख गरेका छन् ।
पत्रोले कोलम्बियाको राष्ट्रपति चुनाव जिते पनि उनको विचार महादेशीय देखिन्छ । उनले वासिङ्टन पोस्टसँगको एक अन्तर्वार्तामा चिली, कोलम्बिया र ब्राजिलको प्रगतिशील गठबन्धन हुनुपर्ने सार्वजनिक रुपमै बताएका थिए । अमेरिकी लाइनसँग जलवायु परिवर्तन र महिला अधिकारका क्षेत्रमा सहकार्य हुनसक्ने पेत्रोले बताउँदै आएका छन् । हालसालै जस्टिन ट्रुडोको बधाई ट्विटमा पनि उनले यस्तै संकेत गरेका छन् । तर, अमेरिका महादेशको सम्मेलनको नाममा क्युवा र भेनेजुयला अनि निकारागुवा छुटाउन नहुने उनले आइतबार रातिका चुनावी विजय भाषणमै भनेका छन् ।
उनले भनेका छन्, ‘अमेरिकाको संवाद सबै अमेरिकाको विविधतासहित हुनुपर्छ । कसैलाई बहिष्करण हुनुहुन्न ।’
पूर्वमेयरले पूर्वमेयरलाई हराएको राष्ट्रपतीय निर्वाचन
६२ वर्षका पेत्रोको चुनावी फड्को सुरु भएको डेढ दशक पुगेको छ । उनले सन् २००६ देखि २०१० सम्म सिनेटर भएर काम गरे । उनको चुनावी मोर्चाको सफलता त्यहीबाट सुरु भएको थियो । सन् २०१२ मा संघीय राजधानी बोगोटाको मेयर हुँदा उनले जलवायु क्षेत्रमा देखिने काम गरेका थिए । सन् २०१५ सम्म मेयर भएका उनी पुनः सिनेटर हुन पुगे सन् २०१८ मा । अहिले उनी सिनेटर रहेकै बेला राष्ट्रपति बनेका हुन् ।
बीबीसीका अनुसार उनले ५०.५ प्रतिशत मत ल्याएर राष्ट्रपति बन्ने मौका पाएका छन् । अलजजिराका अनुसार ३ करोड ९० लाख मतदाताहरुमा २ करोड २६ लाखले मतदान गरेका थिए । त्यही मतदानले पेत्रो विजयी भएका हुन् । पूर्वमेयर पेत्रोले पूर्वमेयर ७७ वर्षका व्यवसायी रोडोल्फो हर्नान्डेजलाई हराएका हुन् । हर्नान्डेज बुकारामांगा नामक सहरका पूर्वमेयर हुन् ।
कोलम्बियाको प्रथम वापपन्थी राष्ट्रपति चुनिए पनि उनको यो प्रथम प्रयास थिएन । तेस्रो प्रयासपछि मात्रै उनले सफलता पाएका हुन् । सन् २०१० र २०१८ मा उनी सफल हुन सकेनन् । केही पुस्ता अगाडिसम्म अकल्पनिक मानिने वामपन्थी जित पेत्रोले निकालेको वासिङटन पोस्टले लेखेको छ । खासगरी वामपन्थी गुरिल्लाहरुको बिगबिगीको कारणले वामपन्थी भन्नासाथ हिंसाको भयले त्यस्तो कल्पना हुने वासिङ्टन पोस्टले लेखेको छ ।
राष्ट्रपतिमा सहज जित, संसदमा असहज गणित
प्रत्यक्ष चुनावबाट आउने कार्यकारीको रुपमा पेत्रोको उपस्थिति बलियो छ । उनीसँग कार्यकारी अधिकार छन् । तर, संसदमा उनको वामपन्थी गठबन्धनको उपस्थिति कमजोर छ । १८८ सीटको तल्लो सदनमा उनको पक्षमा २५ मात्रै छ । सिनेटको १०८ मा उनको गठबन्धनको संख्या १६ छ । आफ्ना मुद्दाहरुमा अरु गैरवामपन्थी शक्तिहरुलाई साथमा लिन सकेमात्रै पेत्रोको तल्लो सदनदेखि सिनेट यात्रा सहज हुन सक्छ ।
तर, तल्लो सदन र सिनेटको अल्पमतको कारण काममा असर गरेमा आफूले कार्यकारी अधिकार प्रयोग गरेर काम गर्ने पेत्रोको बताएका छन् । राष्ट्रपतिसँग रहेको कार्यकारी अधिकार प्रयोग गरेर आर्थिक संकटकाल लगाएर भए पनि आफ्ना मुद्दाहरुमा काम गर्ने उनले सार्वजनिक गरेका छन् ।
पेत्रोको चुनावी मुद्दाः जलवायु परिवर्तन, महिलादेखि मजदुरसम्म
पेत्रोले उठाएका चुनावी मुद्दाहरुमा मूलतः जलवायु परिवर्तन, महिलादेखि मजदुरहरु पर्छन् । दक्षिण अमेरिकाको अमेजन जंगलले अमेरिकाको कार्बन सोसिरहेकाले ऊसँग दह्रो कार्बन वार्ता हुनुपर्ने उनको जोड छ । अमेरिकाको हरितगृह ग्यास सबैभन्दा धेरै दक्षिण अमेरिकालाई तनाव भएको भन्दै अमेरिकासँग जलवायु वार्ता आवश्यक भएको उनको मुद्दा छ । तेलको नयाँ अन्वेषण बन्द गर्ने उनको अर्को जलवायु मुद्दा हो ।
महिलाको क्षेत्रमा पेत्रोको देखिने सक्रियता छ । उनले आफ्नो चुनावी दौडकै क्रममा उपराष्ट्रपति उम्मेदवारको रुपमा अफ्रिकी मूलकी कोलम्बियाली महिलालाई अघि सारे । त्यो घटना पनि कोलम्बियाकै इतिहासमा पहिलोपटक भएको अन्तर्रास्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पेत्रोले उपराष्ट्रपतिमा सारेकी फ्रान्सिया मार्क्वेज सामान्य परिवारकी एकल महिला हुन् । उनी नारीवादी आन्दोलनबाट कोलम्बियामा चिनिएकी थिइन् । पेत्रोको जितले महिलाहरु उत्साहित छन् ।
महिला अधिकारकर्मी कार्मेन ग्रासियाले अलजजिरासँग भनेकी छन्, ‘मेरो उत्साहलाई व्याख्या गर्ने कुनै शब्द छैन । पहिलोपटक महिलाहरुको कुरा सुनिन थालिएको छ । पहिलोपटक सशस्त्र युद्धबाट पीडित महिलाहरुको दुःख अन्त्य भएको छ ।’
श्रमजीवीको पक्षमा पेत्रोको बलियो मुद्दा छ । कोलम्बियामा चार हजार शीर्ष धनीमाथि कर लगाएर लोककल्याणकारी काम गर्ने उनको चुनावी मुद्दा हो । यो मुद्दालाई निजी सम्पत्तिमाथिको अनावश्यक हस्तक्षेको रुपमा समेत व्याख्या गरिएको छ । निःशुल्क विश्वविद्यालय शिक्षा र उपचार पेत्रोका चुनावी मुद्दा हुन् । अमेरिकी तथा युरोपेली मिडियाहरुमा पेत्रोको वितरणमुखी मुद्दाको नतिजा सहज नहुने चर्चा गरिएको छ । तर, आगामी अगस्ट ७ मा सपथ लिने तयारी गरेका पेत्रो भने आफ्नो मुद्दामा आशावादी छन् ।
उनले आइतबार भएको विजयी सभामा भनेका थिए, ‘कोलम्बियामा परिवर्तन ल्याउने मतदाताहरुलाई हामी धोका दिनेछैनौं ।’