राप्ती गाउँपालिको गाउँसभा उपाध्यक्षद्वारा बहिस्कार – Nepal Press

राप्ती गाउँपालिको गाउँसभा उपाध्यक्षद्वारा बहिस्कार

बजेट निर्माण प्रक्रियामा आफूलाई सहभागि नगराएको आरोप

रुपन्देही । दाङको राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले गाउँसभा बहिस्कार गरेकी छन् । अध्यक्ष प्रकाश विष्टले बजेट निर्माणको विषयमा आफूलाई कुनै जानकारी नै नदिएको र आफ्नो अधिकार हनन् भएको भन्दै उपाध्यक्ष चौधरीले बजेट प्रस्तुतका लागि भएको गाउँसभा बहिस्कार गरेकी हुन् ।

बजेट तयारीका लागि विषयगत समितिको बैठक नै नबसी र कुनै तयारीबिना बजेट प्रस्तुत गर्न भनिएकाले आफूले बहिस्कार गरेको उपाध्यक्ष चौधरीले नेपाल प्रेसलाई बताइन् ।

‘बजेटका विषयमा छलफल गर्न होला भनेर म बैठकमा गएको थिएँ, एकैपटक तपाईले बजेट पढ्नुस् भनेर अध्यक्षले भन्नुभयो,’ उनले भनिन्,‘अनि मेरो अधिकार हनन् भयो । मलाई केही जानकारी नै छैन । कुनै तयारी नै छैन, कसरी म पढ्छु रु पढ्दैन १ बजेट कसरी बन्यो रु कहाँ कति बजेट राखियो भनेर जानकारी नभई पढ्दैन भनेर हिंडेको हुँ ।’

आफ्नो भूमिका र अधिकारलाई अध्यक्षले नजरअन्दाज गरेका कारण आफूले गाउँसभा बहिस्कार गर्नुपरेको उपाध्यक्ष चौधरीले बताइन । उनले भनिन्,‘यात अध्यक्षले मलाई कमजोर सम्झनुभयो, यात जानकारी भएन । मेरो अधिकार नै प्रयोग नगरी कसरी बजेटमा सहभागी हुन्छु त ।’ आफूलाई बजेट निर्माणका कुनैपनि प्रक्रियामा सहभागि नै नगराई एकाएक धम्कीपूर्ण भाषामा बजेट बढ्न भनेको उनले बताइन् । ‘यो त कानुनले नै मिल्दैन, तपाईंले नपढे कार्यपालिका सदस्यलाई पढ्न लगाउँछु बजेट तयारी छ भनेर धम्काउनुभयो,’ उनले भनिन् ।

बजेटका विषयमा केही वडाअध्यक्षहरूले पनि वडामा बजेट सिलिङ कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । जसमा वडा नम्बर १ का वडाअध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर ५ का वडाअध्यक्ष देवप्रसाद चौधरी, वडा नम्बर ६ का वडाअध्यक्ष दिपककुमार चौधरी, वडा नम्बर ७ का वडाअध्यक्ष सिताराम चौधरी, वडा नम्बर ८ का वडाअध्यक्ष चन्द्रबहादुर गुरूङलगायत छन् । उनीहरू पनि गाउँसभाको उपस्थितीमा हस्ताक्षर नगरी बाहिरिएका छन् ।

यो विषयमा अध्यक्ष विष्टको प्रतिक्रिया लिन नेपाल प्रेसले धेरैपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

अध्यक्ष विष्ट सत्तारूढ गठबन्धनबाट निर्वाचित भएका हुन भने उपाध्यक्ष चौधरी एमालेबाट निर्वाचित हुन् । गाउँसभामा कुल ४९ जना सदस्यमध्ये २ जना जिससमा गएपछि ४७ जना बाँकी छन् । जसमध्ये सत्तारूढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २७ जना छन् भने, बाँकी २० जना एमालेबाट निर्वाचित सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर