आफ्नै सरकारले ल्याएको बजेटको गुनासो बोकेर प्रधानमन्त्री भेट्दै सुदूरपश्चिमका मन्त्री
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको गुनासो गर्न प्रदेशका मन्त्रीले प्रधानमन्त्रीलाई भेट्ने भएका छन् ।
आज सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका हुन् । दिउँसो प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको मन्त्रीनिकट स्रोतले बताएको छ ।
सामाजिक विकास मन्त्रालयले सिफारिस गरेका योजना काटेर मन्दिर निर्माणमा बजेट राखिएको भन्दै रुष्ट रहेका मन्त्री बोहराले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका हुन् ।
बोहरा र प्रधानमन्त्री देउवाको एकै जिल्लाका हुन् । उनी देउवानिकट मानिन्छन् ।
‘रातो किताबमा सामाजिक विकास मन्त्रालयको मन्दिरमा बजेट हालेको देखिएको छ । त्यो मन्त्रालयले सिफारिस गरेको पनि होइन मैले गरेको पनि होइन’ उनले नेपाल प्रेसलाई भने, ‘त्यो परिवर्तन हुनु पर्छ । मेरो त्यसमा आपत्ति छ ।’ उनले आफ्ना आवश्यकताका योजनाहरू काटिएको आरोप लगाए ।
‘साढे तीन करोडको औषधि बाँढ्ने नियमित बजेटमा मैले केही थप गरेको थिएँ त्यो काटिएको छ, कुपोषणसम्बन्धी कार्यक्रम पनि काटिएको छ अर्थ मन्त्रालयले त्यो कुरा मिलाउनु पर्छ ’, बोहराले भने ‘भेटका क्रममा प्रधानमन्त्रीलाई यी विषय पनि जानकारी गराउँछु ।’
असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि अझैसम्म प्रदेशसभामा छलफल सुरू भएको छैन । सत्ता पक्ष र प्रतिपक्षले बजेट संशोधनको माग गरेका छन् । प्रदेशसभा सदस्यहरूकै विरोधका कारण पहिलो पटक ८ गते र दोस्रो पटक १२ गते सदन स्थगित भएको छ ।
आज प्रधानमन्त्री देउवालाई भेट्दा प्रदेश मन्त्री बोहराले यहाँका योजनाहरूलाई पनि संघीय सरकारले प्राथमिकतामा राख्न आग्रह गर्ने बताएका छन् ।