उपत्यकाको सुरक्षा संघ मातहत राख्ने प्रस्ताव – Nepal Press

उपत्यकाको सुरक्षा संघ मातहत राख्ने प्रस्ताव

काठमाडौं । सरकारले संघीय राजधानी काठमाडौं उपत्यकाको सुरक्षा केन्द्रीय प्रहरी मातहत राख्ने तयारी गरेको छ । सरकारले कानुन नै बनाएर यस्तो अधिकार संघमा राख्न खोजेको हो ।

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभामा प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ मा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)को सुरक्षाको जिम्मा नेपाल प्रहरी मातहत राख्ने प्रस्ताव गरिएको छ ।

केन्द्रीय राजधानीको सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर यसको सुरक्षाको जिम्मा केन्द्रीय प्रहरी मातहत नै राख्नुपर्ने सरकारको तर्क छ । विश्वका धेरै मुलुकमा संघीय राजधानीको सुरक्षाको जिम्मा केन्द्र सरकार मातहत राख्ने अभ्यास रहेको भन्दै गृहमन्त्री खाण अन्तर्राष्ट्रिय अभ्यास र काठमाडौं उपत्यकाको सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर यसको सुरक्षा जिम्मा केन्द्रीय प्रहरी मातहत राख्ने प्रस्ताव गरिएको बताउँछन् ।

संविधानको धारा २६८ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग संघीय सरकार मातहत रहने उल्लेख छ । त्यस्तै प्रत्येक प्रदेशमा प्रहरी संगठन रहने उल्लेख छ ।

संविधानमै प्रदेशहरूको अधिकार सूचीमा शान्ति सुरक्षाको अधिकार प्रदेशलाई दिइएको छ । प्रत्येक प्रदेशमा प्रदेश प्रहरी रहने संवैधानिक व्यवस्थाले संघीय राजधानीको सुरक्षा पनि प्रदेश प्रहरीलाई दिन खोजेको कतिपयको तर्क छ । यही तर्कमा टेकेर कतिपय सांसदले उपत्यकाको सुरक्षा संघ मातहत राख्ने प्रयास गरिएको भनी विरोध गरेका छन् ।

अहिले पनि उपत्यको सुरक्षा संघले नै हेर्दै आएको छ । अध्यादेशमार्फत संघीय सरकारले उपत्यकाको सुरक्षा हेर्न थालेको हो । सरकारको यस्तो प्रयासको प्रदेश सरकारले विरोध गर्दै आएका छन् ।

संघले शान्ति सुरक्षाको जिम्मा प्रदेश प्रहरीको हुने संवैधानिक व्यवस्थाविपरीत उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको जिम्मा सिधै केन्द्रको हुने गरी विधेयक ल्याएपछि बागमती प्रदेश असन्तुष्ट बनेको हो । संविधानको धारा ५६ को दफा ३ अन्तर्गत अनुसूची ४ मा प्रदेशभित्रको शान्ति सुरक्षा जिम्मा प्रदेश सरकारको हुने व्यवस्था छ ।

संघले नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन संशोधन गरेर प्रदेशको अधिकार कुण्ठित गर्न खोजेको भन्दै बागमती प्रदेशले विरोध गरेको हो ।
विधेयकमा बागमती प्रदेश सरकारको अधिकार कटौती गरेर उपत्यकाका तीन जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अधिकार केन्द्र मातहत राख्ने प्रस्तावित व्यवस्था छ ।

प्रदेश प्रहरी प्रदेश सरकार मातहत रहने व्यवस्था संविधानमा छ । संविधानको धारा ५७ को अनुसूची ५ र ७ मा संघ र प्रदेशको एकल तथा साझा अधिकार सूचीअन्तर्गत शान्ति सुरक्षालाई पनि राखिएको छ ।

तर, अनुसूची ६ मा रहेको प्रदेशको एकल सूचीमा उल्लिखित प्रहरी प्रशासनको अधिकार संघ र प्रदेशको साझा अधिकार सूचीमा समावेश नभएकाले प्रदेशले प्रदेशअन्तर्गतको प्रहरी प्रशासनसम्बन्धी सम्पूर्ण व्यवस्थापन एकल रुपमा गर्न पाउनेछ ।

संघीय व्यवस्थाअनुसार प्रदेश प्रहरी गठन गर्नुको सट्टा संघीय सरकारले संविधानले प्रदेशलाई दिएको अधिकार पनि कटौती गरेको भन्दै कतिपयले विरोध गरेका हुन ।

तर, यो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावलाई गत सोमबार नै प्रतिनिधिसभा बैठकले स्वीकृत गरिसकेको छ । अब प्रतिनिधिसभाले दफावार छलफल पठाएपछि सांसदहरुले संशोधन हाल्न सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *