बुटवलमा पहिरोले क्षति
रुपन्देही । बुटवलको उत्तरी भेगमा ज्योति नगरमा मङ्गलवार आएको पहिरोले दुई घर पूर्ण रूपमा क्षति गरेको छ । वर्षाको भेलसहित लेदो पसेर घरहरूमा क्षति पुगेको हो ।
बुटवल उपमहानगर र इलाका प्रहरीले क्षतिको पूर्ण विवरण आई नसकेको जनाएको छ । स्थानीय पार्वती अर्यालका अनुसार मानवीय क्षति नभए पनि दुई दर्जन घरमा बस्न नसक्ने गरी क्षति पुराएको छ ।
चुरेको काखमा रहेको ज्योति नगरको बस्तीमा गत वर्षदेखि पहिरो खस्न थालेको हो । पहिरोले पुरेका क्षेत्रमा हाल जेसीबीको सहाराले ढुंगा पन्छाउने काम भइरहेको छ ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले केही घरहरू क्षति भएको भए पनि सबै विवरणका लागि नगरपालिकाबाट इन्जिनियर पठाइएको बताए ।
पाण्डेयले पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे, सिँचाइ र स्थानीय तहबाट सक्दो पहल भइरहेको बताए ।
उपमहानगरले सो क्षेत्रको बस्ती जोगाउन केही दिन अगाडिबाट पानीको भल तर्काउने कामको सुरुवात गर्न लागे पनि त्यसले झन् लेदोसहितको ढुंगामाटो बस्तीमा ल्याएको स्थानीयको भनाइ छ ।
चुरेबाट बगेर आएको लेदोका कारण त्यहाँका आधाभन्दा बढी घरमा पानी पसेको छ भने चुरेबाट ठूला ढुंगा बगाएर ज्योति नगरसम्म ल्याएको छ ।
गत वर्ष घर नै छाडेर हिँड्न बाध्य भएका लक्ष्मीनगर, ज्योति नगर, मिलनपथका स्थानीयलाई फेरी चुरेबाट लेदो बग्न सुरु गरेपछि त्रास बढेको हो ।
स्थानीय बसुन्धरा बस्याल तिवारीले अघिल्लो वर्ष गएको चुरे पहिरो नियन्त्रणका लागि सुस्त गतिमा काम हुंदा अहिले पनि चुरेले त्रास बढाएको र कमजोर तारबार लगाउँदा सामान्य पानी आउँदा पनि ज्योति नगरमा लेदोसहितको पहिरो आएको बताइन् ।
स्थानीय ईश्वरीप्रसाद बस्यालले ठाडो भिरबाट सिधा पानी र लेदो तल आएको भन्दै सरोकारवालाले यसको व्यवस्थापनमा अध्ययन गरेर मात्र नियन्त्रण गर्नुपर्ने र चुरेको भूगोल र तल बस्तीको भूगोल अध्ययन गरेर प्लानिङ गर्नुपर्ने बताए ।
भूगर्भविद् डा. रञ्जनकुमार दाहालले चुरे पहिरो सामान्य ढंगले व्यवस्थित नहुने जान्दा जान्दै पनि स्थानीय सरकार तत्कालीन अवस्थालाई मात्र ध्यानमा राखेर काम चलाऊ नियन्त्रणका प्रयास गर्दा अब ज्योति नगर, लक्ष्मीनगरमा बर्षेनी पहिरो जान सक्ने बताए ।