लोकदोहोरी गायिका दिलमायाको पोस्टमार्टम रिपोर्ट आयो
हत्या वा आत्महत्या भन्ने यकिन हुन बाँकी
काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको झुन्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ ।
शरीरका भित्री चोट नदेखिएको, खुट्टामा सामान्य चोट रहेको र पाखुरामा समातेको दाग रहेको पोस्टमार्टममा संलग्न चिकित्सकलाई उदृत गर्दै एक अनुसन्धान अधिकारीले भने ।
नेपालटारस्थित डेरामा गत शनिबार बिहान सुनार मृत भेटिएकी थिइन् । प्रहरीले मृतकका प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
आफन्तले श्रेष्ठविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए । शुक्रबार राति सूर्य सुनारसँगै बसेका थिए । दीलमायाले आत्महत्या गरेको सूर्यको दाबी छ । आफू ब्युँझदा सुनार झ्यालमा झुण्डिएको देखेपछि त्यहाँबाट खाटमा झारेर कृतिम श्वास दिएर बचाउन प्रयास गरेको उनले प्रहरीसामु बताएका छन् ।
तर, मृत्यु भएको यकिन भएपछि सुनारले झुण्डिन प्रयोग गरेको सल लिएर निस्किएको उनको बयान छ । सूर्यले महाराजगञ्जस्थित भिसा सेन्टरनजिक रहेको झाडीमा सल फ्याँकेको बताएका थिए ।
‘घाँटीको दाग र झुन्डिन प्रयोग गरिएको भनिएको सलले बनाउन सक्ने सम्भावित दागमा समानता भएकाले झुन्डिएर मृत्यु भएको चिकित्सकले निष्कर्ष निकालेका छन्’, एक प्रहरी अधिकारी भन्छन् ।
गोठाटारमा सुन पसल चलाउँदै आएका श्रेष्ठले शुक्रबार राति ९ बजे मासु लिएर दिलमायाको कोठामा पुगेको बताएका छन् । दिलमाया त्यसपछि रक्सी लिन भन्दै बाहिर निस्किएको र रक्सी आफूले मात्र खाएको र महिलाले डिउ खाएको सूर्यको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले बताएको छ । त्यस घरमा बस्दै आएका अन्यले भने श्रेष्ठ साँझतिर नै त्यहाँ पुगेको बताएका छन् ।
अनुसन्धानको क्रममा उनीहरू दुवैजना राति पौने १२ बजे कोठाबाट बाहिर निस्किएको देखिएको छ । श्रेष्ठले छातीको औषधि ल्याउन बिर्सिएकाले औषधि लिन त्यतिबेला बाहिर निस्किएको बताएका छन् ।
‘कोठा फर्किएपछि म कतिबेला निदाएँ पत्तै पाइँन, ब्युँझदा झ्यालमा झुन्डिरहेको देखेँ’, श्रेष्ठले भनेका छन् । श्रेष्ठले भनेअनुसार सुनारले त्यस दिन रक्सी खाए-नखाएको बारे थाहा पाउन प्रहरीले रगत परीक्षणका लागि पठाएको छ । मृतकको फेसबुकमा त्यस दिन आफू मर्न लागेको भन्दै स्टाटस पनि लेखेकाले घटनाबाहिरिएसँगै सुनारले आत्महत्या गरेको आशंका गरिएको थियो ।
राति १ बजेर २० मिनेटमा स्टाटस पोष्ट भएको थियो ।
‘अरु बेला जसरी स्टाटस लेख्थिन, त्यो दिन पनि त्यही शैली देखिन्छ ‘, अनुसन्धानमा खटिएका अधिकारी भन्छन्, ‘तर त्यति हुँदा हुँदै पनि श्रेष्ठ किन त्यहाँबाट निस्किए ? सल किन फ्याँके भन्ने कुरा रहस्यमै छ । त्यसैले हत्या भएको हुन सक्ने कुरालाई पनि अहिले नकार्न सकिँदैन ।’
प्रहरीले मृतकको मोबाइल अझै भेटेको छैन । प्राविधिक अनुसन्धानका क्रममा श्रेष्ठ बिहानको ४ बजे त्यहाँबाट निस्किएको देखिएको छ भने मृतकले बोक्ने गरेको मोबाइलको अन्तिम लोकेसन बिहान ५ बजेर १० मिनेटमा नेपालटार क्षेत्रमै देखिएको थियो ।
‘बाटोसँगै जोडिएको घर भएकाले बाटोमा झरेर कसैले टिप्यो की भन्ने एउटा आशंका हो । अर्को आशंका कोठाभित्र छिरेर कसैले लग्यो की भन्ने हो। तेस्रो तथा अन्तिम आशंका भनेको श्रेष्ठले नै लुकाए भन्नेमा छ । अनुसन्धान भइरहेको छ’, ती अनुसन्धान अधिकारी भन्छन् ।
एक्लै बस्दै आएकी सुनारले श्रेष्ठलाई श्रीमान् नै भनेर चिनाउने गरेपनि उनी कहिलेकाँही मात्र कोठामा आउने गरेको बताइएको छ । काभ्रेको साँगागढी चौक स्थायी घर भएका श्रेष्ठ गोठाटारमा श्रीमती र चार छोराछोरीसहित बस्दै आएका थिए ।
दिलमाया भने पहिलो पतिसँग सम्बन्धविच्छेदपश्चात एक्लै बस्दै आएकी थिइन् । तीन वर्ष वैदेशिक रोजगारीमा गएर फर्किएकी उनी काठमाडौंमा लोकदोहोरी गायनमा सक्रिय थिइन् ।