वामदेव राजनीतिको चरित्र र विचलित चित्र – Nepal Press
विचार

वामदेव राजनीतिको चरित्र र विचलित चित्र

‘फेरि अर्को गल्ती गर्नुभयो । त्यसो नगरेको भए हुन्थ्यो’, बलराम बास्कोटा र शारदाप्रसाद सुवेदी एकैस्वरमा भन्दै थिए । उनीहरु साझा निष्कर्षमा पुगे, ‘अब त सच्चिनुहोला भनेको, उल्टै गल्तीमाथि अर्को गल्ती थप्दै जानुभयो ।’

वामदेव गौतम गत मंगलबार नयाँ दलको घोषणा गर्न भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबमा पुगिरहँदा कमलादीस्थित प्रज्ञा भवनमा उनका ३० र ४० वर्षदेखिका राजनीतिक सहयात्री बास्कोटा र सुवेदी यसो भनेर उनको कदमबारे टिप्पणी गरिरहेका थिए ।

उनीहरु नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् बैठकमा थिए । खाजाका लागि केही समय ब्रेक हुँदा बन्दसत्र हलमा दर्शकदीर्घाको अघिल्तिर बसेका यी दुईसहित केशवलाल श्रेष्ठ, हरि पराजुली, ताज मोहम्मद मियाँ जस्ता वामदेवका हरेक मोडमा साथ रहेका पूर्वसहकर्मी उनीबारेका प्रश्न झेल्दाझेल्दा हैरान थिए । उनीहरु न वामदेवको कुरा काट्न सक्थे न त उनको नयाँ दल घोषणाबारे प्रस्टीकरण नै दिन सक्थे ।

वामदेवलाई राजनीतिक रुपमा जस्तै अप्ठेरामा पनि साथ दिएकामध्ये सबैजसो नेता अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका विभिन्न जिम्मेवारीमा छन् । केशवलाल त उपाध्यक्ष नै हुन् ।

२०७७ पुस ५ पछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमबारे स्वयं वामदेवका विश्लेषण र प्रस्तुतीकरण माधव नेपालहरुसँग मिल्दोजुल्दो छन् । तर, दलीय रुपमा उनी त्यहाँ रहेनन् ।

उनले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको प्रचारका क्रममा कलम चिह्नमा मतदान गर्नुपर्ने एउटा सन्देशमूलक गीत लेखेका थिए । उक्त गीत सार्वजनिक भएपछि धेरैले अनुमान गरे, चुनावपछि पक्कै उनी समाजवादीमा लाग्नेछन् । तर, शनिबार धोबीघाटमा एकता राष्ट्रिय अभियानको बैठक र मंगलबार अलग राजनीतिक दलको घोषणा गर्न पुगे ।

वामदेवको दलमा राजनीतिक भूमिकामा चिनिएका मानिस कम, कार्यकर्ता तहका मानिस ज्यादा छन् । पत्नी तुलसा गौतम एमालेको तर्फबाट प्रतिनिधिसभाकी बहालवाला समानुपातिक सांसद हुन् । त्यसो त उनी वामदेवको पत्नी हुनुपूर्व नै राजनीतिक गतिविधिमा सामेल भएकी हुन् । उनको अलग्गै राजनीतिक पृष्ठभूमि छ ।

तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गर्दै सक्रिय राजनीति सुरु गर्दा उक्त कदमको समर्थन गर्ने तत्कालीन एमाले नेता देवीप्रसाद ओझा राजनीतिक बजारमा लामो समय हराएर त्यहाँ देखिएका छन् ।

वामदेव तटस्थ रहँदा केपीको पक्षमा पूर्वएमालेका विष्णु पौडेल, ईश्वर पोखरेलमात्र हुन्थे । उनी तटस्थ नबसे ओलीसहित चारजना हुन्थे । जबजब वामदेवले ओलीलाई सचिवालयमा साथ दिए, तबतब भएका प्रत्येक निर्णयहरु विवादास्पद छन् ।

एकीकृत समाजवादीमा लागेर पनि वामदेवलाई साथ दिन पुगेका डीबी कार्की उनको पार्टीमा अहिले दोस्रो हैसियतका नेता हुन् । कार्की राजनीति गरेकै कारण दुःखपछि दुःखहरु खेप्दै अगाडि बढेका पुराना नेता हुन् ।

प्रचार विभाग प्रमुख तोकिएका निमकान्त पाण्डे वरिष्ठ पत्रकार हुन् । मसाल पृष्ठभूमिका उनी ५० को दशकमा एमाले, माले हुँदै शाहीकालमा शाही शासनको समर्थक थिए । पछिल्लो समय उनी विप्लव समूहसँग नजिक थिए । उनी मेयर लडेर ५९ मत पाएका थिए ।

यीसहितका अनुहार हेर्दा वामदेवको दलले लेनिनवादी संगठन प्रणालीमा आधारित भएर देशभर संगठन निर्माण गर्ने र राजनीतिक भूमिकालाई विस्तार गर्ला भन्ने आधार देखिँदैन । किनभने जनता र विभिन्न समुदायसँग जोडिएका मान्छेहरु नगण्य छन् ।

उनका एकथरि पूर्वसहकर्मीको अनुमान छ, ‘दल चलाउन र जनतामा जान हैन, कुनै दलसँग एकतामा जान नयाँ दल घोषणा गरिएको हो ।’

विचलनको श्रृंखला

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले बर्दिया १ बाट व्यहोरेको पराजय उनको राजनीतिक जीवनको एउटा भयानक ‘दुर्घटना’ थियो । ‘दुर्घटना’ यस अर्थमा कि उनलाई चुनावमा हार्छु भन्ने कुराको कल्पना हार्नुभन्दा पाँच घण्टा अगाडिसम्म पनि थिएन ।

उनकै घर भैंसेपाटीमा तत्कालीन वाम गठबन्धनको संयुक्त बैठकले देशभरिका उम्मेदवार टुंगो लगाएपछि मनोनयनपत्र दर्ता गर्ने दिन उनले बर्दिया टेके । त्यहाँ एमालेभित्र विकसित अन्तर्विरोध अचम्मको थियो । वामदेव त्यसवेला ओली निकट थिए । तर, ओलीपक्षीय स्थानीय नेता नै उनलाई हराउनुपर्छ भन्नेमा थिए ।

स्थानीय तह निर्वाचनमा २६ हजार मतान्तरका साथ एमालेले जितेको हिसाब अगाडि राख्दै उनले उक्त मतान्तरमा केही हजार मत घट्ने र आफूले जित्ने अनुमान गरे । यो अनुमान उनले मतगणना ९५ प्रतिशत सकिँदासम्म गरिरहेका थिए । किनभने उनी प्रतिस्पर्धीभन्दा १०–१२ मतले मात्रै अगाडि–पछाडि भइरहेका थिए । अन्ततः ७५३ मतले पराजित भए ।

यसर्थ, वामदेव राजनीतिका निम्ति यो निर्वाचन ‘दुर्घटना’ सावित भयो । उनी केपी ओलीप्रति यति विश्वस्त थिए कि उनैका मान्छेले चुनाव हराइदेलान् भनेर पत्याउन पनि तयार थिएनन् । जब ओली आफैं उनको चुनावीसभामा पुगे, मानिसको अथाह उपस्थिति देखे र त्यो उपस्थितिबीच वामदेवले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरे– यी कुराबाट ओलीले निष्कर्ष निकाले, ‘अब वामदेवलाई चुनाव हराएन भने यसैले मलाई खाने भयो ।’

अफाप ‘चार’ र सचिवालय सन्तुलन

वामदेवका निम्ति अन्तिमको ‘चार’ अंक अफापसिद्ध भएको छ । उनले २०७४ अघि २०५६ र २०६४ गरी दुईपटक चुनाव हारे । २०७४ को निर्वाचन भइरहँदा उनी एमालेभित्र चौथो नम्बरका नेता थिए । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएपछि उनी सचिवालयको पाँचौं नेता भए । तर, सिंगो नेकपाकाल वामदेव व्यवस्थापनको सकसमा रह्यो ।

नेकपाको ९ सदस्यीय सचिवालयको शक्ति सन्तुलनका दुई कालखण्ड छन् । एउटा हो, प्रारम्भकालीन शक्ति सन्तुलन । केपी ओली र प्रचण्डका बीच कुरा मिल्दासम्म माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरुले त्यति महत्व पाएनन् । अर्थात् प्रचण्डले यी तीन एमाले नेतालाई त्यति ‘भाउ’ दिएनन् ।

तर, जब स्वयं प्रचण्ड केपीको पेलानमा पर्न थाले, अनि बल्ल उनले बुझे, ‘चाहिने त माधवहरु नै रहेछन् ।’ यसो हुँदा पनि सचिवालयभित्र वामदेव निर्णायक हुने स्थितिमा पुगे ।

वामदेव तटस्थ रहँदा केपीको पक्षमा पूर्वएमालेका विष्णु पौडेल, ईश्वर पोखरेलमात्र हुन्थे । उनी तटस्थ नबसे ओलीसहित चारजना हुन्थे । जबजब वामदेवले ओलीलाई सचिवालयमा साथ दिए, तबतब भएका प्रत्येक निर्णयहरु विवादास्पद छन् ।

माधवकुमार नेपाल र झलनाथ खनाल पूर्वदलका आधारमा एमाले भए पनि नेकपाकालभरि ओलीसँग प्रतिपक्षी भूमिकामै रहे । अनि जता वामदेव हुन्थे, पूर्वएमालेमा त्यतै तीनजनाको संख्या हुन्थ्यो । पूर्वमाओवादीका प्रचण्डसहित रामबहादुर थापा (बादल) र नारायणकाजी श्रेष्ठ पुस ५ अघिसम्म एकातिरै रहे । यद्यपि बादल कतिपय अवस्थामा तटस्थ थिए ।

नेकपाको ९ सदस्यीय सचिवालयको शक्ति सन्तुलनका दुई कालखण्ड छन् । एउटा हो, प्रारम्भकालीन शक्ति सन्तुलन । केपी ओली र प्रचण्डका बीच कुरा मिल्दासम्म माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरुले त्यति महत्व पाएनन् । अर्थात् प्रचण्डले यी तीन एमाले नेतालाई त्यति ‘भाउ’ दिएनन् ।

२०७७ वैशाखमा नेकपा विवाद चरमोत्कर्षमा पुग्यो । विभिन्न राजनीतिक नियुक्ति, राजदूत सिफारिसलगायतका विषयमा एकलौटी गरिएको भन्दै ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद त्याग्न भनिएको थियो । ओलीले आफू पार्टीका सबै संरचनामा अल्पमतमा परेको कारण आफ्ना लागि अनुकूल हुने गरी दल विभाजन गर्न अध्यादेश ल्याएका थिए । निर्वाचन आयोगमा नेकपा (एमाले) नाम राखी दर्ता भएको दल उनैले गर्न लगाएको आरोप लगाइएको थियो ।

त्यसवेला सचिवालयमा उनीविरुद्ध पूर्वमाओवादीका तीनसहित पूर्वएमालेका माधव, झलनाथ र वामदेव एकातिर भए । यस्तो हुँदा ९ सदस्यीय सचिवालयमा ओलीसँग ३ र बाँकी अर्कोतिर भयो । अनि, ओलीले पूर्वएमालेलाई व्यवस्थापन गर्न २०७७ जेठ १८ मा प्रस्ताव ल्याए, ‘माधव नेपाललाई तेस्रो हैसियतको पार्टी अध्यक्ष बनाउने, वामदेवलाई उपयुक्त समयमा प्रधानमन्त्री बनाउने ।’

यो प्रस्तावलाई वामदेवले सुरुमा पत्याए । र, ओलीलाई साथ पनि दिए । तर, माधवले सुरुदेखि नै तेस्रो अध्यक्ष अस्वीकार गर्दैरहे । वामदेवले ओलीलाई साथ दिँदा अल्पमतमा परिसकेका ओलीले राहत पाए ।

बदनामको श्रृंखला

संसदीय निर्वाचनमा हराइएका वामदेवको बद्नाम गर्ने श्रृंखला नै चल्यो । पराजयलगत्तै डोल्पाका सांसद धनबहादुर बुढाले आफूलाई मन्त्री बनाइदिए सांसद पद त्यागेर वामदेवलाई चुनाव जिताउने वचन दिए । त्यसअनुसार वामदेवको पहलमा धनबहादुर पर्यटन राज्यमन्त्री बनाइए । तर, उनले सांसदबाट राजीनामा दिएनन् ।

त्यसपछि रामवीर मानन्धरले वामदेवका निम्ति काठमाडौंको क्षेत्र नं ७ छाडिदिन सहमत भए । तर, खुमलटारमा मध्यराति रामवीरलाई राष्ट्रियसभामा लैजाने र मन्त्री बनाउने गरी काठमाडौं ७ खाली गर्ने सहमति छ भनिए पनि त्यो हल्लामै सीमित भयो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त उनको निर्वाचन क्षेत्रमा पनि वामदेवको चर्चा भयो । तर, स्वयं उनले उम्मेदवारी अस्वीकार गरे ।

राष्ट्रियसभाबाट प्रधानमन्त्री हुने व्यवस्था गर्न नेकपाले संविधान संशोधन गर्न एउटा कार्यदल नै बनायो । तर, अत्यधिक विवादका कारण त्यो भंग गरियो । यस्तो गरिएको वामदेवकै लागि थियो ।

यसबाहेक पनि विभिन्न समयमा विभिन्न निर्वाचन क्षेत्र देखाउँदै वामदेवलाई ‘सांसद पदको भोको’ का रुपमा चित्रित गर्दै बदनाम गर्ने काम पार्टीभित्रैबाट भयो । यो कुरामा ओलीपक्षीय नेताहरुको बढी सक्रियता थियो ।

त्यसपछि २०७६ फागुन १४ गते उनलाई राष्ट्रियसभा सदस्य बनाइने निर्णय सचिवालयले गर्‍यो । तर, निर्णय भएको लामो समयसम्म उक्त निर्णय कार्यान्वयन गरिएन । बरु, राष्ट्रियसभा सदस्य बनाउने कुरालाई छल्न सचिवालयको २०७७ साउन ३१ गते बसेको बैठकले उनलाई पार्टीको उपाध्यक्ष बनाउने निर्णय गर्‍यो । उनले चाहिँ फागुन १४ को निर्णय पनि कार्यान्वयन हुनुपर्ने माग राखे । उनको मागलाई पूर्वमाओवादीसहित पूर्वएमालेका माधव, झलनाथले पनि समर्थन गरे । भदौ २९ गते उनी मन्त्रिपरिषद् निर्णयअनुसार राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि सिफारिस भए ।

वामदेवमय नेकपा

नेकपाकालीन राजनीतिक परिदृश्यका जति पनि घटनाक्रम छन्, त्यहाँ वामदेवविनाका कुरा केही पनि रहेनन् ।

पार्टीभित्र उनी जता लाग्यो, त्यतै पल्लाभारी हुने । उनकै बद्नाम गर्न एक समयमा एकथरि समूह लागेकै हुने । फेरि, उनकै व्यवस्थापनको विषय सचिवालयका बैठकैपिच्छे उठिरहने । कहिले कुनै निर्वाचन क्षेत्र खाली गराएर सांसद बनाउने कुरा, कहिले प्रधानमन्त्री, कहिले उपाध्यक्ष त कहिले राष्ट्रियसभा सदस्यका कुराले एकताकालको करीब दुई वर्षको समय बित्यो ।

राष्ट्रियसभाबाट प्रधानमन्त्री हुने व्यवस्था गर्न नेकपाले संविधान संशोधन गर्न एउटा कार्यदल नै बनायो । तर, अत्यधिक विवादका कारण त्यो भंग गरियो । यस्तो गरिएको वामदेवकै लागि थियो ।

तर, उनले २०७७ वैशाखको विवादमा ‘प्रधानमन्त्री बनाइने’ कुरा नपत्याएका थिए भने उक्त पार्टीमा जे हुने थियो, त्यही वेला हुने थियो । पुस ५ मा पुग्नुपर्ने थिएन । अर्थात् ओलीले संविधानमाथि नै प्रहार गर्ने गरी पुस ५ आउने थिएन ।

पत्रयुद्ध

२०७७ पुस ५ अघिको चर्चित ‘पत्रयुद्ध’ मा वामदेव तटस्थ थिए । मंगलबार पार्टी घोषणा गर्दा प्रचण्डले पत्र फिर्ता नलिएका कारण नेकपा विभाजनमा गएको बताएका छन् । तर, प्रचण्डले उक्त पत्र अर्थात केपी ओलीले भन्ने गरेको अभियोगपत्रमा वामदेवले भाषा मिलाएको बताउने गरेका छन् ।

२०७७ कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका पाँच नेताले बैठक माग गर्दै ओलीलाई दुई पृष्ठको पत्र बुझाए । त्यसको जवाफमा २५ गते ओलीले प्रचण्डलाई १० पृष्ठको जवाफ लेखे । फेरि प्रचण्डले २८ गते सात पृष्ठको अर्को जवाफ पठाए । ओली पक्षले प्रचण्डको र प्रचण्ड पक्षले ओलीको पत्र फिर्ता हुनुपर्ने माग गरिरह्यो । तर, पत्र कसैले फिर्ता लिएनन् ।

झुक्यानमा वामदेव

यसबीचमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न राष्ट्रपतिसमक्ष समावेदन गरी संसद बैठक आह्वान गराउन सांसदको हस्ताक्षर संकलन गरियो, वामदेवलाई थाहा दिइएन । उनी पार्टीको आन्तरिक झगडामा प्रचण्ड–माधवसँग नजिकिएका थिए । तर, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सल्लाह उनीसँग गरिएन ।

यसरी झुक्याइएका वामदेवको रिस २०७७ पुस ५ मा ओलीले गरेको संसद विघटन गर्दासम्म मरेको थिएन । विघटन गलत भन्नेमा उनी सहमत थिए । तर, त्यही रिसले उनले प्रचण्ड–माधवलाई साथ दिएनन् ।

विचलन कि पुनर्विचार ?

उल्लेखित सम्पूर्ण घटनाक्रमले भन्छ, आज पनि वामदेवको मूल्य नेपालको राजनीतिमा घटेको छैन । तर, जुन कार्यशैलीका साथ उनी अगाडि बढ्दैछन् । त्यसले उनको व्यक्तित्व विचलन र स्वयंमा दिग्भ्रमित भएका छन् । यो विचलन त्यही किसिमको छ, जुन उनले २०७७ वैशाखमा प्रदर्शन गरे । पुस ५ को घटनामा पनि सुरुमा ‘हेर्दैछु–बुझ्दैछु’ र पछि विरोधमा वक्तव्य आएजस्तै । खासमा यस्ता कुराले वामदेवजस्तो एउटा राष्ट्रिय व्यक्तित्वलाई क्षति पुर्‍याउँछ, पुर्‍याइरहेको छ ।

विचार, विश्लेषण र घटनाहरुको सम्बोधनमा वामदेव स्पष्ट छन् । लुकाएर, चपाएर उनले केही बोलेका छैनन्, गरेका छैनन् । त्यति भइसकेपछि पक्षधरताप्रति जुन लोभ गरिरहेका छन्, एउटा राजनीतिक पात्रका लागि त्यो आत्महत्यासरहको स्थिति बन्नसक्छ ।

दल खोल्नुभन्दा चलाउनु गाह्रो भन्ने कुरा वामदेवले २०५४ को विभाजनबाट राम्रोसँग बुझेको कुरा हो । त्यसैले अहिले पनि चलाउन दल खोलिएको होइन भन्ने कुरामा राजनीति बुझ्ने जो कोही ढुक्क छन् । यदि चलाउनु छैन भने दल खोलेर बस्नुभन्दा एकातिर लाग्नु श्रेयस्कर हुन्छ ।

जसरी २०७७ पुस ५ पछि उनले चलाएको एकता अभियानलाई ‘दक्षिणपन्थी अवसरवादलाई फाइदा पुग्ने’ निष्कर्षसहित सघन सहकर्मीले साथ छाडे, दल खोल्ने ठाउँसम्म पुग्दा उनीसँग राजनीतिक निरन्तरता भएका मानिसको चरम अभाव हुन पुग्यो । उनी स्वयंसहित पत्नी तुलसा, डीबी कार्कीसम्म कम्युनिष्ट आन्दोनलमा स्वीकार्य छन् । त्यसबाहेकका अनुहारसँग ‘एमाले–समाजवादी धार’ को कुनै आकर्षण वा मोह छैन । यति तीनसहित अरु ८–१० जनालाई केपी ओली वा माधव नेपालले जसरी पनि व्यवस्थापन गरिदिन्छन् । तीन जनाको व्यवस्थापनका लागि पार्टी बनाई–बनाई जसरी होहल्ला गरिएको छ, यसको परिणामभन्दा आवाज ठूलो सुनिन्छ ।

त्यसैले उनीसँग मूलधारको पनि कुन धार रोज्ने ? पुनर्विचारको समय बाँकी छ ।


प्रतिक्रिया

2 thoughts on “वामदेव राजनीतिको चरित्र र विचलित चित्र

  1. यस्तै सानू मोमो नाङ्ग्लो पार्टी खोलेर बसे देशको लागि राम्रो। नत्र गृह मन्त्री बनॐछन् र रमेश खरेललै भनेजस्तै यएरपोर्ट र भन्सारलाई सुन डलर तस्करको ठेक्का दिनेछन् । प्रहरसरुवा बढुवाको बढाबढी लिलामी र सिपाही भर्नामा 40% आफ्नो कोटाका भर्ना गराउनेछन् ।
    रत्नपार्कमा नै साथीहरुले विश्व रेकर्ड भ्रष्टाचारी भनेर घोषणै गरेकै हो । यिनी सुध्रिनन् ।

  2. बिश्वमणीजीकाे याे गज्जवकाे बिश्लेषण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *