कांग्रेसको निष्कर्ष- एक्लै चुनाव लडेका ठाउँमा पनि कमजोर देखिएनौँ (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसले एक्लै चुनावमा जाँदा पनि कमजोर नदेखिएको निष्कर्ष निकालेको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन परिचालन समितिद्वारा आज सार्वजनिक गरिएको प्रतिवेदनमा कांग्रेसले उम्मेदवारी दिएकामध्ये ५२ प्रतिशतमा निर्वाचन जितेको उल्लेख छ ।
गठबन्धनका कारण १२१ सिटमा मेयर/अध्यक्ष छाडेर ६३२ तहमा मात्रै उम्मेदवार उठाउँदा १८८ अध्यक्ष र १४१ मेयरसहित ३२९ ठाउँमा जित निकालेको तथ्यांकमा उल्लेख छ ।
यस्तै २१९ ठाउँमा उपमेयर/उपाध्यक्ष छाडेर ५३४ ठाउँमा मात्रै उम्मेदवारी दिँदा १९० उपाध्यक्ष र ११० उपमेयर गरी ३०० पद जितेको छ । जुन उम्मेदवारी दिएको जम्मा ठाउँको ५६ प्रतिशत हो ।
प्रतिवेदनमा गठबन्धनका आधारमा मेयर/अध्यक्ष लडेका २०९ मध्ये १२८ स्थानमा जित निस्किएको जनाइएको छ । जुन ६१ प्रतिशत हो । यस्तै उपमेयर/उपाध्यक्ष पदमा गठबन्धनको सहायतामा लडेको ११५ सिटमध्ये ८५ स्थानमा जितेको कांग्रेसले जनाएको छ । जुन ७४ प्रतिशत हुन आउँछ ।
यस्तै गठबन्धनबिना मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका ४२३ तहमध्ये २०१ मा जितेको प्रतिवेदनमा उल्लेख छ । जुन ४८ प्रतिशत हुन आउँछ । यस्तै उपमेयर/उपाध्यक्ष पदमा उम्मेदवारी दिएका ४१९ तहमध्ये ५२ प्रतिशतमा जित निस्किएको जनाइएको छ । संख्यामा २१५ सिट हो ।
‘यो आँकडाले कांग्रेस गठबन्धनबिना एक्लै निर्वाचनमा जाँदा पनि कमजोर देखिएको छैन,’ प्रतिवेदनमा भनिएको छ,‘तर गठबन्धन गरेर जाँदा अझ बढी सफलता प्राप्त गर्न सम्भव भएको निर्वाचन परिणामले देखाएको छ ।’