राष्ट्रिय क्रिकेट टिमसँगै विनोद दासको विदेश सयर, क्यानभित्रै असन्तुष्टि – Nepal Press

राष्ट्रिय क्रिकेट टिमसँगै विनोद दासको विदेश सयर, क्यानभित्रै असन्तुष्टि

काठमाडौं । स्कटल्यान्डमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअघि नेपाली टोली क्यानाडामा दुईदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

स्कटल्यान्डसँगको मौसमसँग अभ्यस्त हुन क्यानडाको भ्रमण राखिएको हो । सामान्यतया विदेश खेल्न जाने राष्ट्रिय टोलीमा खेलाडी, प्रशिक्षक, फिजियो र टिम म्यानेजर हुन्छन् ।

तर नेपाली क्रिकेट टोलीका पछिल्ला दुई भ्रमणमा भने क्यानकै पदाधिकारी र कर्मचारी पनि मिसिएका छन् । अमेरिकामा भर्खरै आयोजना भएको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा क्यानका अध्यक्ष र कोषाध्यक्ष पनि पुगेका थिए ।

क्यान सदस्य पदम खड्कालाई टिम लिडर भन्ने पद सृजना गरेर पठाइएको थियो । यस्तै कर्मचारी रहेका क्रिकेट म्यानेजर विनोद दास पनि सँगै थिए । दास क्यानडा पनि गएका छन् । टिम म्यानेजर बनेर अमेरिका गएका क्यान सदस्य दुर्गाराज पाठक क्यानडाका लागि पनि दोहोरिएका छन्।

क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले क्यानडामा रहेको नेपाली समाजले नै विनोदलाई पठाइदिनु भनेका कारण उनी पनि टोलीसँग गएको बताए । ‘अमेरिकामा नेपाली टोली बस्दा सम्पूर्ण खर्चको व्यवस्थापन विनोदले नै गरेका हुन् । १० दिन बस्दा त्यहाँ करिब ७० हजार डलरभन्दा बढी खर्च भएको थियो । त्यहाँ रहेको नेपाल अल स्टार्स क्लबले नेपाललाई २१ लाख रुपैयाँ पनि पठाएको छ,’ प्रशान्तले भने ।

क्यानडामा पनि नेपाली टोलीको खर्च व्यवस्थापन विनोदले नै गर्ने उनको भनाइ छ । विनोद बहुउपयोगी भएका कारण उनलाई जसरी पनि क्यानले प्रयोग गर्न सक्ने अवस्था रहेको प्रशान्तले बताए ।

‘उनले आवश्यक पर्दा नेपाली टोलीका लागि सहायक प्रशिक्षक भएर पनि काम गर्न सक्छन्,’ उनले भने । क्यानमाथिको निलम्बन फुकुवा भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसीले क्रिकेट म्यानेजर, फाइनान्स म्यानेजर र जनरल म्यानेजर (महाप्रबन्धक) पद सृजना गरी त्यसमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको थियो ।

खुल्ला प्रतिस्पर्धाबाट क्रिकेट म्यानेजरमा छनोट भएका दासको सम्झौता नविकरण भएको हो । सँगै नियुक्त भएका जनरल म्यानेजरको पदावधि नविकरण नभएपछि क्यानले अर्का व्यक्तीलाई नियुक्त गरिसकेको छ ।

सृजना गरिएका यी तीनवटै पदका आ–आफ्ना जिम्मेवारीहरु छन् । क्रिकेट म्यानेजरको भूमिका ग्रासरुट क्रिकेट विकासमा बढी केन्द्रित छ । ‘क्रिकेटर म्यानेजरको काम राष्ट्रिय टोलीसँग हिँड्ने, होटल खोज्ने, बसाई खर्च व्यवस्थापन गर्ने होइन’, एक प्रशिक्षक भन्छन् ।

टिमको नाममा ठुला देशमा जान कर्मचारी र पदाधिकारीको मरिहत्तेलाई लिएर क्यानभित्रै चर्को विरोध भइरहेको छ । क्यान सदस्य करण महतराले राष्ट्रिय टोलीसँग कर्मचारीलाई पठाउनु आश्चर्यपूर्ण रहेको प्रतिक्रिया दिए ।’ ‘क्यानमा पदाधिकारी र कर्मचारीका आ–आफ्नै काम र क्षेत्राधिकारहरु छन् । कसैले बोलायो वा कसैले कुनै कुराको व्यवस्थापन गर्न सक्छ भनेर जवाफ दिनु लाजमर्दो विषय हो । उसलाई दिइएको जिम्मेवारीमा कस्ताे काम गरिरहेको छ त्यो पो हेर्नुपर्यो,’ क्यान सदस्य महतराले भने ।

अमेरिका जानुअघि दास पनि टोलीमा छन् भन्ने विषय बोर्डलाई नै जानकारी नगराइएको उनले बताए । क्यानडा जान लगेको विषय पनि अन्तिम समयमा अनौपचारिक जानकारी दिइएको पदाधिकारीको गुनासो छ । ‘अमेरिका जाने टोलीमा दासको नाम थिएन । गइसकेपछि चाहीँ व्यक्तिगत खर्चमा गएको भनेर अनौपचारिक जानकारी दिइयो’, महतराले भने ।

क्यानमा खेलाडी छनोटसम्म दासको प्रभाव रहने र महाप्रबन्धकको क्षेत्राधिकारमा समेत प्रवेश गरेर उनको उपस्थिसतलाई कमजोर बनाउन खोजिएको पदाधिकारीहरुको आरोप छ । दास नेपाली राष्ट्रिय क्रिकट टोलीका पूर्व कप्तान हुन् । त्यसपछि क्रिकेट एकेडेमीमा जिम्मेवारी पाएका दास पछि यू–१९ राष्ट्रिय टोलीको प्रशिक्षक पनि बनेका थिए ।

दासले क्यानबाट मासिक एक लाख ३० हजार रुपैयाँभन्दा बढी तलब बुझ्दै आएका छन् । ‘दास राम्रा खेलाडी र राम्रा प्रशिक्षक हुन् । तर उनले आफुलाई दिइएको जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुपर्छ । टिमसँग हिँड्ने रहर भए कर्मचारी भएर क्यानको तलब खान पाइँदैन’, अर्का एक क्यान सदस्यले भने ।

क्यानभित्र अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललगायत केही पदाधिकारीको हालिमुहाली रहेको आरोप लाग्ने गरेको छ । ‘कार्य सम्पादन समितिका नाममा बोर्डलाई पुरै बाइपास गरिएको छ । अध्यक्षलाई जे मन लाग्यो त्यही भइरहेको छ’, ती सदस्यले भने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *