अवैध ह्वाइट पप्पी सीडसहित भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा – Nepal Press

अवैध ह्वाइट पप्पी सीडसहित भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

दाङ । बाँकेमा शंकास्पद वस्तुसहित एउटा भारतीय कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान नेपालबाट भारततर्फ जान लागेको कन्टेनरमा अवैध वस्तु भएको गोप्य सूचनाका आधारमा जमुनाह प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार कन्टेनर खाली देखिए पनि अगाडिको भागमा वेल्डिङ गरेर २५० वटा बोरामा सेतो गेडा भएको वस्तु लुकाइएको अवस्थामा फेला परेको छ ।

प्रहरीले उक्त दाना ह्वाइट पप्पी सीड जस्तो देखिएको बताएको छ । जानकारहरूका अनुसार ह्वाइट पप्पी सीड दुईखाले हुन्छ । अफिमको बीउ हो वा केकमा राखिने वस्तु हो भन्नेबारे परीक्षणपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उक्त कन्टेनरमा राखिएका बोरामा ब्राउन सुगर र सुन राखिएको भन्ने सूचना प्रहरीलाई आएको थियो । सोही सस्चनाका आधारमा प्रहरी कन्टेनर नियन्त्रणमा लिएको हो । कन्टेनरका चालक र सहचालक भने फरार छन् ।

बाँके प्रहरीले कन्टेनर र त्यसमा भेटिएको २५० बोरा ह्वाइट पप्पी सीड भन्सार कार्यालय नेपालगञ्जमा पठाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख अर्जुनकुमार न्यौपानेले प्रहरीले बरामद गरेको वस्तु के हो भन्नेबारे परीक्षण गर्न सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन् ।

उनका अनुसार बरामद भएको वस्तु नेपालबाट भारत पैठारी गर्न बन्देज छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर