स्वतन्त्रको स्वतन्त्रता हरण गर्दै ‘स्वतन्त्र अभियान’
काठमाडौं । बालेन्द्र शाह र हर्क साङपाङको विजयबाट उत्साहित भएर प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारको लहर चलेपछि सामाजिक सञ्जालमा केही व्यक्तिले चन्द्र शमशेरका सिपाहीको कहानीलाई उद्धृत गर्दै भद्दा नक्कल गर्दा फन्दामा परिने सुझाएका थिए ।
श्री ३ चन्द्रका एक जना आठपहरियाले दारी पालेको र राजा खुसी हुने गरी प्रस्टीकरण दिएबापत बढुवा पाएपछि सबै सिपाहीले बढुवाको लोभमा दारी पालेर राजाको पटांगिनीमा खडा भएछन् । बढुवाको घोषणा होला भन्दा राजाबाट सबैको दारी खौरिदिने हुकुम भएछ ।
स्वतन्त्र अभियानलाई पनि कतिपयले चन्द्र शमशेरका सैनिकहरूको जस्ता भद्दा नक्कल नहोस् भन्ने आशयले गरेको टिप्पणी समय क्रममा पुष्टि हुन थालेको छ । राजनीतिक दल वा संगठित समूहभन्दा बाहिर रहेर आफ्ना व्यक्तिगत एजेण्डा र लोकप्रियताका आधारमा चुनाव लड्ने स्वतन्त्र उम्मेदवारको अधिकारमाथि नै धावा बोल्ने हर्कत हुन थालेका छन् ।
शनिवार स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय भेलाले केही प्रश्न उठाएको छ ।
स्वतन्त्र पार्टी भर्सेस स्वतन्त्र अभियान
राजनीतिमार्फत देश बदल्ने भन्दै सञ्चारकर्म छाडेका रवि लामिछानेले असार ७ गते नयाँ पार्टीको घोषणा गरे–राष्ट्रिय स्वतन्त्र पार्टी ! स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले देशव्यापी रूपमा ल्याएको लहर आगामी संसदीय निर्वाचनमा ‘क्यास’ गर्न उनले पार्टीको नामै ‘स्वतन्त्र’ राखेको केहीले आलोचना पनि गरे ।
‘स्वतन्त्र’ भन्ने परिचयलाई नै ‘स्वतन्त्र’ रहन नदिएको भन्दै सामाजिक सञ्जालमा धेरैले रविको उछित्तो काढे । त्यसमा स्वतन्त्र अभियन्ताहरू नै थिए जसले ‘स्वतन्त्र उम्मेदवारी अभियान’ चलाइरहेका छन् ।
अभियानको संयोजकत्व गरिरहेका डम्बर साहुले रविले खोलेको दलमा स्वतन्त्र नाम राख्दा देशैभर स्थानीय तहमा उम्मेदवारी दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वास्तविक स्वतन्त्र व्यक्ति÷समूहलाई गम्भीर आघात पुगेको बताएका थिए ।
उनले रविको पार्टीको नाम निर्वाचन आयोगले दिन नमिल्ने भन्दै आयोगमै पुगेर उजुरी दिए । स्वतन्त्र भन्ने बित्तिकै कुनै दल वा संगठित समूह हुन नसक्ने उनको तर्क थियो ।
उनको उजुरीमा भनिएको थियो, ‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रूपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउने गरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ ।’
तर, आयोगले शुक्रवारमात्र रविले प्रस्ताव गरेको नामलाई नै मान्यता दिएर दलको घोषणा गरिदियो । सो अभियानको दुःखेसो अझै पनि रोकिएको छैन ।
शनिवार काठमाडौंमा भएको स्वतन्त्र उम्मेदवारहरूको प्रथम राष्ट्रिय विशेष भेला भेलामा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक साहुद्वारा प्रस्तुत दस्ताबेजमै रविको स्वतन्त्र पार्टीलाई कटाक्षपूर्ण कुराहरू समेटिएका छन् ।
दस्ताबेजमा भनिएको छ, ‘भर्खरै हतार–हतार रवि लामिछानेले नयाँ पार्टी खोल्नुको आशय के हो ? स्थानीय चुनावमा स्वतन्त्रको पक्षमा लहर आएको देखेर समानुपातिक भोटको ढोडिया थापेर त्यसैमा तर मार्ने उद्देश्यले स्वतन्त्रकै नाम बदनाम हुने गरी हतारमा पार्टी खोलिएको त होइन ?’
आयोगले आधिकारिकता दिएको विषयमा पनि दस्ताबेजमा असन्तुष्टि व्यक्त गरिएको छ । रविको दलले स्वतन्त्र मतदाताहरूलाई भ्रममा पार्ने अवस्था उत्पन्न भएको कुरा पनि उल्लेख छ ।
रविले खोलेको दलको नाम र त्यसले सिर्जना गर्ने भ्रमका विषयमा असन्तुष्ट जनाइरहेको स्वतन्त्र उम्मेदवारी अभियान स्वयं स्वतन्त्र शब्दको हुर्मत लिने र स्वतन्त्रको अनर्थ लाग्ने कदमतर्फ अग्रसर भएको छ । अभियानको दस्ताबेजमा रहेका बुँदाहरू हेर्दा झन् उनीहरू स्वतन्त्र नभएर संगठन वा दलको अभ्यासमा गएको प्रस्ट हुन्छ ।
स्वतन्त्रको अर्थ र अभियानका क्रियाकलाप
नेपाली बृहत् शब्दकोषले ‘स्वतन्त्र’ शब्दको अर्थ ‘अरू कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै स्वयं सोची बुझी काम गर्न सक्ने वा पाउने स्वाधीन’ भनेर व्याख्या गरेको छ । जब कोही स्वतन्त्र हुन्छ भने ऊ किन कसैको आचारसंहिता वा नियममा बस्छ ?
जो स्वतन्त्र हुन्छ उसको संगठन हुँदैन र जो संगठित हुन्छ ऊ स्वतन्त्र रहँदैन भन्ने स्पष्ट छ । जसरी रवि लामिछानेले स्वतन्त्र राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गरे त्यसै गरी स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय भेला आयोजना गरेर बाँकी रहेकाहरूले पनि आफूलाई संगठित गरेका छन् ।
काठमाडौंका बालेन शाह र धरानका हर्क साङपाङको विजयबाट उत्साहित भएका ज्ञात अज्ञात स्वतन्त्र उम्मेदवार तथा कथित स्वतन्त्र व्यक्तिहरू आफैँ एउटा संगठन बनाउन अग्रसर भएका छन् । अझ उनीहरूले स्वतन्त्रको परिभाषा समेत आफैँ तय गरेका छन् ।
स्वतन्त्र अभियान सञ्चालकहरूले ‘स्वतन्त्र’ले १३ बुँदे मापदण्डमा रहेर उम्मेदवार बन्दा आफूहरूले समर्थन गर्ने जनाएका छन् । जसमा स्नातक उत्तीर्ण भएकोदेखि लिएर ६८ वर्षभन्दा माथिकोले लड्न नपाइने किसिमका छेकवार समेत खडा गरिएका छन् । कुनै राजनीतिक दलबाट टिकट नपाएर बागी उम्मेदवारी दिएकाहरू स्वतन्त्र नमानिने परिभाषा पनि शनिवार सम्पन्न स्वतन्त्रहरूको राष्ट्रिय भेलाले तय गरेको छ ।
को स्वतन्त्र उम्मेदवार हुने र को नहुने ? कस्ताले उम्मेदवारी दिन पाउने र कस्तोले नपाउने ? कस्ता उम्मेदवारलाई स्वतन्त्र अभियानले सघाउने ? स्वतन्त्र उम्मेदवारको आचारसंहिता के हुने ? स्वतन्त्र अभियानले यी विषयहरूमा प्रवेश गरेर व्यक्तिको स्वतन्त्र उम्मेदवार बन्ने अधिकारमाथि धावा बोलेको छ ।
नेपालको संविधान,राजनीतिक दल सम्बन्धी ऐन र निर्वाचन सम्बन्धी कुनै पनि कानुनले शैक्षिक योग्यतालाई उम्मेदवारको मापदण्ड बनाएको छैन । नेपालको संविधानले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार हुन न्यूनतम २५ वर्ष र राष्ट्रिय सभाको उम्मेदवार हुन ३५ वर्ष तोकेको छ । त्यस्तै स्थानीय तहको उम्मेदवार बन्न २१ वर्ष तोकेको छ ।
संविधान र कानूनले बन्देज गरेकाबाहेक अरू कुनै पनि कारण योग्यता पुगेका हरेक नागरिकले स्वतन्त्रताको हक प्रयोग गरेर जुनसुकै पदमा उम्मेदवार हुन स्वतन्त्र हुन्छन् । नागरिकको यस्तो हकलाई नै कुण्ठित हुने गरी स्वतन्त्र अभियानका नाममा नेपालका कुनै दलले आँट गर्न नसकेको निरंकुश फरमान जारी भएको छ ।
दलजस्तै भेला डाक्ने, सहयोग र समर्थनको आह्वान गर्ने, मापदण्ड तोक्ने अभ्यासले स्वतन्त्र नभई उनीहरू दलीय अभ्यासमा त गएकै छन्,कानूनले बन्देज नलगाएका प्रावधान समेत थपेर व्यक्तिको स्वतन्त्रतामाथि नै धावा बोल्ने काम समेत गर्न खोजिएको छ ।
स्वतन्त्र उम्मेदवारहरूका आइकन मानिएका बालेन्द्र शाहले राजनीतिक गुरु मान्ने ललितपुरका नरसिंह बादे उमेरले ८० कटिसकेका छन् ।उनी ५० वर्षदेखि लगातार स्वतन्त्र उम्मेदवार भएर वडाध्यक्ष जितेका थिए र यस पटक पराजित भए । स्वतन्त्रहरूको भेलाले गरेको ऐलान अनुसार नरसिंहले अब उम्मेदवार बन्न नपाउने भए ।
केही स्वतन्त्र उम्मेदवारको सफलताबाट उत्साहित भएर काठमाडौं लगायत कतिपय जिल्लामा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहरपनि चलेको छ । तर स्वतन्त्र अभियानका नाममा हुने यस्ता उत्ताउला गतिविधिले स्वतन्त्रप्रति पनि जनतामा नकारात्मक प्रतिक्रिया उत्पन्न गराउने निश्चित छ ।
यदि कोही स्वतन्त्र छ भने स्वतन्त्रै रहनु र संगठित अभ्यास नगर्नु नै सबैका लागि हितकर हुनसक्छ । किनकि जनताको एउटा तप्का जो दलहरूबाट दिक्क भएर स्वतन्त्रप्रति आकर्षित भएको छ,उसले स्वतन्त्र नामको अर्को दल वा संगठित अभियान खोजेको होइन,स्वतन्त्र सक्षम र इमानदार व्यक्ति खोजेको हो । किनकि थप एउटा दल वा दलको अभ्यास गर्ने संगठित अभियान अहिलेको आवश्यकता होइन ।
बरु स्वतन्त्र अभियान चलाएकाहरुले आसन्न निर्वाचनलाई लक्षित गरेर रवि लामिछानले जस्तै अर्को कुनै नामका दल दर्ता गरे हुन्छ, जसले गर्दा स्वतन्त्र नामको भ्रम पनि मेटिनेछ र साँच्चिकै स्वतन्त्र उम्मेदवारहरुको सम्मान पनि हुनेछ । किनकी देशभरका कथित स्वतन्त्रहरु एकठाउँमा उभिँदा समानुपातिकमा मत संगठित पनि हुन्छ ।
त्यसपछि जो साँच्चै स्वतन्त्र उम्मेदवार हो र उसलाई कुनै संगठन वा दल सँग भरोसा छैन उसले स्वतन्त्र उम्मेदवारका रुपमा जान पाउँनेछ ।
यी सबै हर्कत गर्न स्वतन्त्रहरू स्वतन्त्र छन् अनि कुन स्वतन्त्रलाइ जिताउने वा हराउने स्वतन्त्र निर्णय गर्न मतदाता झनै स्वतन्त्र छन् । सम्पादकज्यू यस्ता कुरामा यस्ता तर्क गर्न र म कमेन्ट गर्न पनि स्वतन्त्र हुनुहुन्छ भन्ने कथित स्वतन्त्रज्यूहरूको स्वतन्त्र प्रतिक्रिया हुनेछ ।
नेपाली जनताको नयाँ उम्मेदवार स्वतन्त्र व्यक्ति नै हो |