‘समयमै आँखा परीक्षण गरेर जलविन्दु पत्ता लागेमा दृष्टि गुम्दैन’
काठमाडौं । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
भरतपुर आँखा अस्पतालका जलविन्दु विशेषज्ञ डा रञ्जितकुमार साहले प्रायः ४० वर्ष काटेकालाई वंशाणुगतरूपमा जलविन्दु देखिने गरेको जानकारी दिए । उनले जलविन्दु आमाको गर्भदेखि नै हुनसक्ने भन्दै प्रायः धेरैजसो ४० वर्ष उमेर काटेकालाई देखिने बताए ।
उनले भने, ‘जलविन्दुको सुरुआती चरणमा लक्षणहरू देखिदैँन । विस्तारै आँखाको दृष्टि खुम्चिँदै गएर सिधा अगाडिको मात्रै देखिने अवस्था आउँछ ।’ जलविन्दु रोगको पहिचान गर्न बर्सेनि आँखा परीक्षण गर्न र आँखाको प्रेसर, देख्ने क्षमता (दृष्टि परिधि), कोर्नियाको मोटाइलगायतको परीक्षणबाट जलविन्दु पत्ता लगाउन सकिने उनको भनाइ छ ।
उनले परिवारमा कसैलाई जलविन्दुु भएमा, मधुमेहका बिरामी, ४० वर्षभन्दा बढी उमेर भएका, लामो समयसम्म ‘स्टेरोयडस’को प्रयोग गरेकालाई र आँखामा भौतिक चोट लागेको मानिसलाई जलविन्दुको बढी जोखिम हुने बताए ।
जलविन्दु पहिचान भएपछि लेजर प्रविधिबाट उपचार हुने जनाउँदै उनले भने, ‘लेजर प्रविधिले भएन भने औषधि र औषधिले पनि काम गरेन भने शल्यक्रिया गर्नुपर्छ ।’ शल्यक्रिया अन्तिम विकल्प रहेको उनले जानकारी दिए । शल्यक्रिया गर्नुपर्ने अवस्थामा जुन आँखामा जलविन्दुको असर कम छ, त्यो आँखाको पहिला शल्यक्रिया गरिने उनले बताए ।
जलविन्दुलाई कतिपयले आँशु आइरहने रोग भनेर भ्रममा पर्दा समयमा उपचार नहुने गरेको जनाइएको छ । डा साहले भने, ‘आँखाको गेडीभित्र आवश्यकताभन्दा बढी पानी भएमा त्यसले दृष्टि नशामा दबाब (प्रेसर) दिएर जलविन्दु हुन्छ ।’
उनले नेपालमा जनचेतनाको अभावका कारण जलविन्दुका कारण कतिपयले दृष्टि गुमाउनुपरेको बताए । नेपालमा जलविन्दु विशेषज्ञको सङ्ख्या केवल ३२ जनामात्रै रहेको जनाउँदै उनले विशेषज्ञको सङ्ख्या बढाउनुपर्नेमा जोड दिए ।
अस्पतालका डा सिर्जना पराजुलीले जलविन्दु भइसकेपछि आँखाको प्रेसर, बिरामी उमेर र अरु रोगको अवस्था हेरेर औषधि दिनुपर्ने बताइन्। उनले जलविन्दुका बिरामीले आँखामा औषधि राख्दा ध्यान दिनुपर्ने विषयमा सुझाव दिँदै भनीन्, ‘उत्तानो परेर सुतेर आँखामा औषधि हाल्नुपर्छ । औषधि हालिसकेपछि पाँच मिनेट आँखा चिम्म गरेर सुत्नुपर्छ ।’
आँखामा औषधि हाल्नुअघि सफासँग साबुनपानीले मिचीमिची हात धुन सल्लाह दिँदै उनले जलविन्दुको औषधि आँखाभन्दा बाहिर पार्न नहुने बताइन् । उनले आँखा बाहिर छालामा परेमा असर गर्ने भन्दै तत्काल सफा कपास (कटन)ले गर्न सुझाइन् ।