दुई डीआईजीको काज सरुवा : विमानस्थलमा ज्ञवाली, ट्राफिकमा चौधरी
काठमाडौं । प्रहरीले डीआईजी दरबन्दीका युनिटमा एसएसपी खटाउने क्रमलाई सच्याउँदै राजधानी उपत्यकाका दुई महत्वपूर्ण युनिटमा हालै बढुवा भएका दुई डीआईजी खटाएको छ ।
विमानस्थल सुरक्षा गार्ड र उपत्यका ट्राफिक महाशाखाको नेतृत्वमा दुई डीआईजीलाई खटाएको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डको प्रमुखमा डीआईजी श्यामलाल ज्ञवाली र उपत्यका ट्राफिक महाशाखा प्रमुखमा डीआईजी मीरा चौधरी थारुलाई खटाएको हो ।
हालै भएको डीआइजी बढुवापछि प्रकाशित पदस्थापनमा ज्ञवाली साइबर ब्यूरो र चौधरी प्रधान कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापना भएका थिए ।
यसअघि विमानस्थल प्रमुखका रुपमा कार्यरत भीमप्रसाद ढकाल र ट्राफिक प्रमुख उमेशराज जोशी पनि डीआईजीमा बढुवा भएका छन् । तीमध्ये ढकाल प्रधान कार्यालयस्थित अन्वेषण निर्देशनालयमा र जोशी अपराध अनुसन्धान विभागमा पदस्थापित भएका छन् ।
डीआईजीको सरुवाको निर्णय मन्त्रीस्तरले गर्ने हो । आइतबारमात्रै बढुवा भई पदस्थापन भएका डिआईजीलाई भोलिपल्टै अर्को निर्णयमा सरुवा गर्न नमिलेका कारण तत्कालका लागि गृह मन्त्रालयले उनीहरूलाई काजमा खटाएको हो ।
‘उहाँहरू काज आदेशमा खटिनु भएको हो’, प्रहरी प्रवक्ता विष्णु केसीले बताए ।
परिसर र महाशाखामा को ?
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरी र उपत्यका अपराध महाशाखाका वसन्तबहादुर कुँवर पनि डीआईजीमा बढुवा भएपछि महत्वपूर्ण मानिने ती युनिटमा पनि प्रमुख रिक्त छ ।