यो कस्तो चलन ?
सुर्खेत । एक साताअघि सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भयो । सुर्खेतको पञ्चपुरी नगरपालिकाका एक युवकको विवाहको तस्विर थियो यो ।
बेहुलालाई उनकी बयोवृद्ध आमाले स्तनपान गराइरहेको तस्बिरमा देखिन्छ । धेरै नेपालीहरूका लागि यो दृष्य नौलो थियो । उनीहरूले प्रश्न गरेका छन्- के साँच्चै यस्तो चलन नेपालभित्रै छ ?
यो परम्पराका विषयमा काठमाडौंका घघडान संस्कृतिविद् पनि अञ्जान देखिए । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले आफूलाई यस्तो चलन थाहै नभएको बताए ।
‘जन्ती प्रस्थान गर्नुअघि बेहुलालाई आमाले सगुनको रूपमा दही खुवाउने गरिन्छ । स्तनपान नै गराउने चलनका विषयमा मलाई थाहा छैन । यदि कतै यस्तो चलन छ भने पनि ठीक होइन, विकृति हो,’ उनले भने ।
समाजशास्त्री डा. युवराज लुईंटेलले पनि यो प्रचलन आफूले थाहा नपाएको बताए ।
‘मैले पनि फेसबुकमा पहिलोपटक देखेको हुँ । यस्तो परम्पराको कुनै धार्मिक महत्व भए मलाई थाहा भएन,’ उनले भने ।
देशका अधिकांश भागका लागि नौलो रहे पनि पश्चिमी भेगका विभिन्न जिल्लामा भने यस्तो प्रचलन व्याप्त छ । कर्णालीका सुर्खेत, दैलेख, कालीकोट तथा सुदूरपश्चिमका अछामलगायतका जिल्लामा विवाह वा व्रतबन्धमा आमाले छोरालाई दुध चुसाउँछिन् । क्षेत्री परिवारमा विवाह र व्रतबन्ध एकैचोटि गराउने प्रचलन पनि छ ।
विवाह नहुन्जेलसम्म छोरा बालकै रहने र आमाको काखमा हुने, तर विवाह भइसकेपछि छोरा परिपक्व हुने र बुहारीको जिम्मामा जाने अवधारणाले यस्तो चलन चलाइएको जानकार बताउँछन् । परिपक्व हुनुअघि अन्तिमपटक आमाले दुध चुसाएर पठाउने चलन रहेको उनीहरूको मत छ ।
विगत लामो समयदेखि धार्मिक अनुष्ठान गर्दै आइरहेका आठबीस नगरपालिकाका चर्चित पण्डित नारायणभक्त उपाध्यायले यो परम्परा वैदिक संस्कृतिको कर्म भएको बताए । उनले व्रतवन्धपश्चात जनै लगाउनुपूर्व आमाको अन्तिम पटक दुध चुस्ने प्रचलन रहेको बताए ।
‘आमाको दुध फेरि खान नमिल्ने र उक्त व्यक्ति शुद्ध हुने मानिन्छ । त्यस्तो प्रचलन परापूर्वकालदेखि नै चल्दै आइरहेको छ,’ उनले भने ।
पण्डित उपाध्यायका अनुसार काँधमा जनै हालेपछि आमाको दुध फेरि खान मिल्दैन । कर्म गरिसकेपछि, जनै हालिसकेपछि आमाले भीख दिन्छिन् र अन्तिमपटक दुध खुवाउँछिन् ।
‘मुख्य रूपमा यो संस्कृतिको वेदमा रहेको कर्मकाण्डसँग सम्वन्धित हो,’ उनले विस्तार लगाए, ‘हिन्दू धर्मशास्त्रमा उल्लेख भएका देशान्तर जाँदाखेरि आमाको दुधमा लगाएर जाने, अनि सकियो । व्रतवन्ध वा विवाह नहुन्जेलसम्म छोरा मतवाला नै मानिने र आमाको दुधमा अन्तिम पटक मुख लगाइसकेपछि अबबाट दुध नखाने भन्ने हुन्छ ।’
उपाध्यायले थपे, ‘जब जनै धारण हुन्छ अनि ‘जन्मजन जायते शुद्र कर्मानाम जायतो विजः भन्छ । जन्मँदा सबै शुद्र समान हुन्छन् । कर्म गरेपछि, माछामासु छोडेपछि सबै ज्ञानी, ब्राम्हण पनि हुन पायो ।’ मानिस जातका आधारमा नभई कर्मका आधारमा जात विभाजित हुने धर्मशास्त्रमा उल्लेख गरिएको उनले बताए ।
कीर्तिपुर निवासी वरिष्ठ पुरोहित केदार पौडेलका अनुसार भने हिन्दू धर्मको विवाह विधिमा कतै पनि आमाको स्तनपान गर्नु भनेर लेखिएको छैन ।
‘विधिअनुसार आमाको स्तनपान गर्नु भनेर लेखिएको छैन । हिँड्ने बेलामा पछ्यौरीले ढाकेर सुगुनको रूपमा आमाले दही खुवाउने चलन भने छ । तर, यसो भनिरहँदा विधिमा जन्त जानुपूर्व आफूहरूले मान्दै आएको अरु कुनै चलन छ भने गर्नु भनिएको छ । त्यही कारणले कुनै-कुनै ठाउँमा आमाको स्तनपान गराइएको होला,’ उनले भने ।
सुर्खेततिर आमाले स्तनपान गराउने चलन रहेको आफूले सुनेको पौडेलले बताए ।
‘यसलाई नितान्त हाम्रो परम्परा, चलन पनि भन्न सकिन्न, विकृति पनि भन्न सकिन्न,’ उनले भने ।